You are here: Homeमनोरन्जनमनोरन्जन भारतीय युवकहरूको हत्याका योजनाकार आईएसआई एजेन्ट दुबईबाट पक्राउ

भारतीय युवकहरूको हत्याका योजनाकार आईएसआई एजेन्ट दुबईबाट पक्राउ

Written by  Published in मनोरन्जन Tuesday, 07 February 2017 13:02
Rate this item
(0 votes)

बारा २५ माघ  हत्या एवं आतंकवादी गतिविधिमा संलग्न आरोपमा नेपाल र भारतका प्रहरी खोजीमा रहेको होदा गिरोह नाइकेसहित प्रहरी फन्दामा परेको छ। नेपाल प्रहरीले उक्त गिरोहका नाइके समसुल होदासहित चार जनालाई नियन्त्रणमा लिएको हो।

बारा, कलैया–८ का होदाले साउदी अरेबियाको दुबईमा बसेर नेपाली र भारतीयको गिरोह चलाउँदै आएका थिए। होदा गिरोहमाथि नेपालमा हत्या र भारतमा आतंकवादी गतिविधि सञ्चालन गरेको आरोप छ।

दुबई प्रहरीको सहयोगमा मध्यक्षेत्रीय प्रहरी कार्यालय, हेटौंडाको विशेष टोलीले होदालाई दुबईबाट झिकाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेका अन्यमा गढीमाई नगरपालिका–८ का 'बाबा' भनिने बृजकिशोर गिरी, कलैया नगरपालिका–४ का आशिष सिंह र उमेशकुमार कुर्मी छन्।

'होदा र उनका सहयोगी पक्राउ परेर प्रहरी नियन्त्रणमा आइसकेका छन्, थप जानकारी जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गर्नेछ', मध्यक्षेत्र डिआइजी पशुपति उपाध्यायले  भने। होदा र उनका तीन सहयोगीलाई सार्वजनिक गर्न मंगलबार बिहान पत्रकार सम्मेलन राखिएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ।

 प्रहरीस्रोतका अनुसार होदालाई फन्दामा पार्न नेपाल प्रहरीको उक्त टोली दुबई नै पुगेको थियो।

गत मंसिर ५ मा भारतीय रेलवेको पटना–इन्दौर एक्सप्रेसमा भारतको उत्तरप्रदेश प्रान्तको कानपुर क्षेत्रको पुखराया रेल स्टेसननजिक रेल दुर्घटना हुँदा १ सय ५० जना यात्रुको ज्यान गएको थियो।

भारतीय सुरक्षा एजेन्सीले उक्त घटनामा पाकिस्तानी गुप्तचर संस्था आइएसआईको हात रहेको दाबी गरेका थिए। चलिरहेको एक्सप्रेस रेल लिकबाट उछिट्टिएर दुर्घटना भएजस्तो ठानिएकोमा घटना योजनाबद्ध गराइएको खुलेपछि भारतीय प्रहरीले यसमा संलग्नको खोजी थालेको थियो। यसैबीच, बारामा भएको एउटा हत्या घटनाको अनुसन्धानको फेरो कानपुर रेलकाण्डसँग जोडिन गएपछि प्रहरीले यसमा विशेष अनुसन्धान अघि बढाएको थियो।

यस्तो थियो बारा घटना

गएको पुस १३ मा बाराको करैया जंगलमा सहजनाथ महादेव मन्दिरनजिक दुई पुरुषको शव फेला पर्‍यो। जंगलमा फेला परेको शव भारत, पूर्वीचम्पारण आदापुरनजिकको पोखरिया गाउँ घर भएका दीपक राम र अरुण रामको रहेको अनुसन्धानमा खुल्यो। प्रहरीले अनुसन्धान क्रममा मुजाहिर अन्सारी नामका व्यक्तिलाई नियन्त्रणमा लिएपछि खुल्दै गएको घटना विवरणले प्रहरी छक्कै पर्‍यो।

उक्त जंगलमा मारिएका ती दुई व्यक्तिले नै 'बाबा' भनिने बृजकिशोर गिरीमार्फत भारतीय रुपैयाँ ३ लाखका दरले ६ लाख पेस्की लिएर रक्सोल दरभंगा रेललाइनमा विस्फोट गराउने जिम्मा लिएको अनुसन्धानमा खुल्यो। योजना सफल हुन नसकेपछि सर्तअनुसार दीपक र अरुणले पैसा फर्काएनन्। त्यो पैसा दुबईबाट मुख्य योजनाकार समसुलले पठाइदिएको पनि खुल्यो। पछि, उक्त योजना र त्यससँग जोडिएका व्यक्तिको जानकारी दीपक र अरुणबाट फुत्किन सक्ने देखेर उनीहरुको हत्या गरिएको रहस्य प्रहरीले खोतलेरै छाड्यो।

हत्या अनुसन्धानका दौरान पक्राउ परेकाबाट यस्तो सूचना मिलेपछि प्रहरीले गिरीको खोजतलास सुरु गरेको थियो। गिरी पर्सामा बसेको थाहा पाएपछि बारा प्रहरी यहाँ आउनुभन्दा मध्यक्षेत्रीय प्रहरी कार्यालयको एउटा विशेष टोली उनको खोजीमा परिचालन गरियो।

सीमावर्ती गाउँ पर्साको बिजबनियाबाट पुस २५ मा दोहोरो मुठभेडपछि गिरीलाई खुट्टामा गोली हानेर प्रहरीले नियन्त्रणमा लिएको थियो। गिरी समातिएपछि समग्र सञ्जालबारे प्रहरीलाई थप जानकारी आएको थियो। कानपुर घटनामा पनि यसै गिरोहको हात देखिएपछि मामिला थप गम्भीर देखिएको थियो। यसैबीच, भारतीय सञ्चार माध्यमले यसलाई प्राथमिकतासाथ खबर बनाए।

त्यसपछि नेपाल प्रहरीको परिचालित टोलीले मुख्य योजनाकार होदालाई दुबईबाट झिकाएको हो। पक्राउ परेका मध्ये आशिष इन्जिनियरिङका विद्यार्थी हुन् भने उमेश सामान्य नागरिक। उनीहरुले सहजै मोटो पैसा कमाउने लालचमा होदाका लागि परिचालित भएको बुझिएको एक प्रहरी अधिकृतले बताए। उनीहरुमाथि केके आरोप रहेको भन्ने मंगलबार पत्रकार सम्मेलनमा खोलिने उनले जनाए।

दुबईमा रहनुभन्दा नेपालमा कानुनअनुसार कारबाही भोग्नु सुरक्षित देखेर आत्मसमर्पण गरेको प्रारम्भिक बयानमा होदाले बताएको प्रहरीस्रोतले जनाएको छ।

वैदेशिक रोजगारीमा करिब १० वर्ष मलेसिया बसेर फर्केपछि होदा केही दिन राजनीतिमा बारामै सक्रिय भए। पछि एक जना पकिस्तानी एजेन्टमार्फत उनले पछिल्ला गतिविधि सञ्चालन गरेको खुलेको छ।

Read 1141 times Last modified on Wednesday, 08 February 2017 14:30

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012