You are here: Home

सीमावर्ती बजारमा लागू औषधको खुल्ला कारोबार लागू औषधका कारण ६ सय यूवा वीरगन्ज कारागारमा

Written by  Published in समाज Monday, 27 January 2014 17:37
Rate this item
(0 votes)

 लागू औषधको सहज उपलब्धताका कारण सीमावर्ती भारतीय शहर रक्सौल र छेउछाउको बजार लागू औषध कारोबारी, ग्राहक र प्रयोगकर्ताका लागी सुरक्षित स्थल बन्न पुगेको छ । लागू औषध खान वा खरिद गर्नका लागी काठमाण्डौं उपत्यका, पोखरा, चितवन र मकवानपुरदेखि यूवाहरु दैनिकरुपमा वीरगन्ज हुँदै सीमापारी रक्सौल जाने गरेका छन् । 

भारतको बिहार अन्तर्गत पर्ने सीमावर्ती बजार रक्सौल, बैरगनिया, भेलाही, सिक्टा, इनर्वामा खैरो हेरोइन र सुईका माध्यमबाट प्रयोग हुने नियन्त्रित औषधी चिकित्सकको सिफारिस बिना नै निर्वाध बिक्री हुने गरेको छ । खुल्ला सीमाबाट ठूलो परिमाणमा पर्सा, बारा र रौतहटको नाका हुँदै नेपाल भित्र्याउने क्रममा नेपाल प्रहरीले पटक पटक लागू औषध बरामद गर्दै आएको छ । 

नियन्त्रित औषध डाइजेपाम, लुप्रिजेसिक, नरफिन, फेनारगन, कोरेक्स, नाइट्रोभेट जत्तिसुकै परिमाणमा खरिद गर्न पाइने गरेको वीरगन्ज कारागारमा कैद भुक्तान गरिरहेका एक यूवकले बताए । राजधानी काठमाण्डौंमा लागू औषधको ठूलो माग र रक्सौलमा यसको सहज उपलब्धताका कारण वीरगन्ज शहर समेत लागू औषधको ट्रान्जिटका रुपमा प्रयोग हुँदै आएको छ । 

भारतीय औषधी पसलमा चिकित्सकको सिफारिस बिना जत्तिसुकै परिमाणमा सहजै लागू औषध उपलब्ध हुने भएकाले प्रयोगकर्ता र कारोबारीका लागी आकर्षक गन्तव्य बनेको पर्साका प्रहरी उपरिक्षक धिरजप्रताप सिंहको भनाई छ ।

सीमापारीबाट किनमेल गरेर इनर्वा नाका हुँदै सीमाबाट भित्रिने अन्य शहरका अधिकांश यूवाको साथबाट नियन्त्रित औषधी फेला पर्ने गरेको सीमामा तैनाथ सुरक्षाकर्मी बताउँछन् । भारतीय पक्षले सीमापारीबाट हुने लागू औषध कारोबार नियन्त्रणमा अपेक्षित चासो नदेखाउँदा सीमापारीबाट लागू औषध बोकेर आउने भरियाले नै जिल्ला प्रहरी कार्यालयको हिरासत भरिने गरेको छ । 

प्रयोगकर्तालाई दुईचारदिन हिरासतमा राखेर अभिभावकको जिम्मा लगाउने गरेका छौं, प्रहरी उपरिक्षक धिरजप्रताप सिंहले भने,भरियाविरुद्ध अनुसन्धानपछि लागू औषध मुद्दा दायर गरेर अदालत समक्ष पेश गर्दै आएका छौं ।

लागू औषध बोकेर फर्किंदा पक्राउ पर्ने डरले ३० प्रतिशतभन्दा बढी दुव्र्यसनी सीमापारी लागू औषध किनेर दशगजा क्षेत्रमै उपभोगपछि मात्र वीरगन्ज फर्किने गरेका छन् । लागू औषध सेवनकै लागी सीमापारी जाने यूवालाई इनर्वा सीमामा तैनाथ प्रहरीले रोक लगाएर वीरगन्जतिरै फिर्ता पठाइ दिने समेत गरेका छन् । 

नेपाल र भारत दुबैतर्फको सुरक्षा निकायले ठोस प्रयास नगरे यसले अझै भयावह अवस्था निम्त्याउने छ,सामाजिक कार्यकर्ता जयमोद ठाकुर भन्छन्,  नेपाली यूवामै सीमित रहेको यसको प्रभाव भारतीय यूवामा समेत पर्न सक्छ भन्ने पक्ष भारतीय अधिकारीहरुले पनि बुझ्नु जरुरी छ ।  

वीरगन्ज कारागार र जिल्ला प्रहरी कार्यालयको हिरासतमा लागू औषध कारोबारीको संख्या थपिंदै जानुको पछाडी सीमापारी रक्सौल र आसपासको भारतीय बजारमा लागू औषध तथा नियन्त्रित औषधीको सहज उपलब्धता प्रमुख कारक भएको सुरक्षा अधिकारीहरुको भनाई छ । 

लागू औषध मुद्दामा ५७९ यूवा जेलमा

वीरगन्ज कारागारमा कैद सजाय भुक्तान गरिरहेकामध्ये करिब पैतालिस प्रतिशत लागू औषध मुद्दाका कैदी र अभियुक्त छन् । कारागार प्रशासनका अनुसार कूल एक हजार ३ सय १३ जना कैदीबन्दीमध्ये ५ सय ८९ जना लागू औषधसम्बन्धी मुद्दामै जेल परेका कैदी र थुनुवा हुन् । कारागार प्रमुख धिराज मरासिनीका अनुसार कैदमा रहेकामध्ये ७० प्रतिशत २० देखि ४० वर्ष उमेर समूहका यूवा छन् । 

पहाडी जिल्लाका यूवा व्यक्तिगत प्रयोगका लागी र तराईका यूवा राजधानीसम्म पु¥याउनका लागी भरिया हुने गरेका छन् । कारागार प्रमुख मरासिनीले भने, लागू औषध किन्न आवश्यक पर्ने पैसा सकिएपछि सस्तोमा किन्न पाइने आशामा यहाँ आउने पहाडी जिल्लाका यूवाहरु पक्राउ परेपछि जेल पर्नेे गरेका छन् । सीमापारीबाटै लागू औषध कारोबारको सञ्जाल सञ्चालन गर्नेले पर्सा र बाराका यूवालाई आकर्षक पारिश्रमिकको लोभ दिएर भरियाका रुपमा प्रयोग गरिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा दुई महिलासहित ८२ जनालाई भारतबाट लागू औषध तथा नियन्त्रित औषध बोकेर फर्किंदै गर्दा नेपाल भारत सीमाबाट पक्राउ गरिएको छ । यीमध्ये ८४ प्रतिशत अर्थात् ६९ जना १६ देखि २५ वर्ष उमेर समूहका यूवा छन् । गत आर्थिक वर्षमा एक सय ८० जनालाई लागू औषधसहित पक्राउ गरिएको प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । तीमध्ये १ सय ७० जना १६ देखि २५ वर्ष उमेर समूहका यूवा थिए ।

नियन्त्रणको प्रयास !

नेपाल–भारत जिल्ला स्तरिय समन्वय र सीमा सुरक्षा बैठकमा नेपाली पक्षले वर्षाै अघिदेखि भारतबाट हुने लागू औषध तस्करी नियन्त्रणका लागी बारम्बार दबाब दिंदै आएकोमा यसपटक मात्र भारतीय पक्षले नियन्त्रणमा थोरबहुत चासो देखाएको छ ।

२१ कात्तिकमा सकिएको जिल्ला स्तरिय समन्वय बैठकको दुई महिना पछि २४ पुसमा सीमावर्ती रक्सौलको डंकन अस्पताल सामुन्ने अवस्थित खुशी मेडिकल हल र मेनरोडमा अवस्थित महारानी ड्रग हाउसमा भारतीय औषधी विभाग र बिहार प्रहरीको टोलीले संयुक्तरुपमा छापामारी गरेर ठूलो परिमाणमा नियन्त्रित औषधी बरामद गरेको थियो । 

ठूलो परिमाणमा लागू औषध बोकेर भित्रिने भरियाहरुको संख्यामा एक महिनायता केही गिरावट देखिएको छ, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक धिरजप्रताप सिंहले भने,एक पटकको छापामारीले मात्र नियन्त्रण सम्भव नभएकाले भारतीय समकक्षीलाई लागू औषध कारोबारीविरुद्ध निरन्तर छापामारी र कारवाही गर्न अनुरोध गरेका छौं । 

 

Read 333 times

Leave a comment

                                                                                                     yatradaily Pvt.Ltd  -  www.yatradaily.com,

                                                                                              Birgunj, Ranighat - 14 , NEPAL,+977-9855020701

                                                                                                                            Chairperson

                                                                                                                              Ram Sarraf

                                                                                                      This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

        This website has been visited hit counter times from October 19, 2012