You are here: Home

वीरगन्ज भन्सार कार्यालयको बाटो निर्माणयन्त्र आयात व्यापक बढ्यो

Written by  Published in अर्थ Friday, 05 May 2017 14:31
Rate this item
(0 votes)

वीरगंज,  वैशाख । निर्माण कार्यमा प्रयोग हुने ठूला यन्त्र–उपकरणको आयात व्यापक बढेको छ। वीरगन्ज भन्सार कार्यालयको बाटो चालु आर्थिक वर्षको नौ महिनामा पोहोरको १२ महिनाभन्दा झन्डै ६ गुणा बढी यस्ता यन्त्र–उपकरण भित्रिएका छन्। त्योभन्दा अघिल्लो आर्थिक वर्षको तुलनामा पनि तीन गुणा बढी आयात भएको कार्यालयको तथ्यांकले देखाएको छ। भूकम्पछिको पुनर्निर्माण र विकास निर्माण योजनाका माग अनुसार यस्ता उपकरणको आयात बढेको जानकारहरुको विश्लेषण छ।

 

गत वर्ष एक सय ८६ बुलडोजर, तीन ग्रेडर रोलर लेभलर र दुई सय ६८ लोडर एस्काभेटर गरी चार सय ५७ वटा निर्माण यन्त्र वीरगन्ज नाका भएर भित्रिएको थियो। यो वर्ष साउनदेखि चैतसम्ममा त्यसभन्दा झन्डै ६ गुणा बढी दुई हजार ६ सय १८ वटा निर्माणयन्त्र यो बाटो भित्रिएको छ। आर्थिक वर्ष २०७२/०७३ मा ६ महिने मधेस आन्दोलन चलेकाले घटेकोलाई स्वाभाविक भन्न सकिए पनि त्योभन्दा अघिल्लो वर्षको तथ्यांकसँग तुलना गर्दा पनि तेब्बर निर्माण यन्त्र आयात भएको देखिन्छ। आर्थिक वर्ष २०७१/०७२ मा दुई सय ९१ बुलडोजर ४० ग्रेडर रोलर लेभलर र पाँच सय ५५ लोडर एस्काभेटर आयात भएको थियो। यसै अनुपातमा आयात कायम रहे यस्ता यन्त्रहरुको आयात तीन हजार चार सय ९० पुग्नेछ।

 

अहिलेकै अनुपातमा यन्त्र–उपकरण आयात भइरहे यस आर्थिक वर्षमा निर्माण यन्त्रको आयात पोहोरभन्दा साढे सात गुणा र परारभन्दा झन्डै चार गुणा बढी पुग्ने देखिन्छ। 'निर्माण उपकरण बढी भित्रिएपछि त्यसको सञ्चालन गर्न चाहिनले पेट्रोलियम पदार्थको आयात पनि बढ्दो छ,' वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत सेवन्तक पोखरेलले भने, 'यी उपकरणको प्रयोग बढ्नु भनेको विकास निर्माण बढ्नु हो। दुई करोडसम्मका उपकरण हुन्छन्, त्यसलाई सोरुममा सजाउन कसैले ल्याउँदैन, काममै परिचालन गर्ने हो।'

 

यो वर्ष साउनदेखि चैतसम्म पाँच् सय ४७ वटा बुलडोजर, दुई सय ८५ वटा ग्रेडर रोलर लेभलर र एक हजार सात सय ८६ वटा लोडर एस्काभेटर आयात भएको छ। 'भौतिक निर्माणका कार्यहरु नेपालमा बढेको छ भन्ने कुराको सूचक हो निर्माण उपकरणको आयात वृद्धि,' नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार हरिनारायण रौनियारले भने, 'मुख्य रुपमा चार क्षेत्रमा यी उपकरणहरु गइरहेका छन्– पहिलो, जलविद्युत र निजी क्षेत्रका योजना, दोस्रो, सरकारी योजनाका लागि निर्माण व्यवसायीले लगिरहेका छन्, तेस्रो उपभोक्ता समिति, माछापालनका लागि पोखरी खन्ने लगायतलाई भाडामा लगाउने व्यवसायी र चौथो निर्माण सामग्री उत्पादन गर्नेहरुले निर्माणयन्त्र किनिरहेका छन्।'

 

निर्माण उपकरणको आयात बढ्नुले जसरी भौतिक निर्माण बढेको बु‰न सकिन्छ त्यसरी नै देशको प्रगतिको पनि यो सूचक भएको उनले बताए। 'देश प्रगतितिर लम्किसकेको छ,' रौनियारले थपे, 'राजनीतिक झमेला मात्र हटिदिए गजब हुन्थ्यो।'नागरिक दैनिकबाट 

Read 403 times Last modified on Saturday, 06 May 2017 17:34

Leave a comment

                                                                                                     yatradaily Pvt.Ltd  -  www.yatradaily.com,

                                                                                              Birgunj, Ranighat - 14 , NEPAL,+977-9855020701

                                                                                                                            Chairperson

                                                                                                                              Ram Sarraf

                                                                                                      This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

        This website has been visited hit counter times from October 19, 2012