You are here: Home

तराईमा कृषिका समस्या - वीरेन्द्रप्रसाद यादव

Written by  Published in राजनीति Thursday, 02 February 2017 14:55
Rate this item
(0 votes)

कृषिप्रधान मुलुक हुनु, कृषियोग्य भूमि हुनु र सिँचाइका लागि पानीको पर्याप्त स्रोत हुनु हाम्रो सौभाग्य मात्र होइन, हाम्रो समृद्धिको ठूलो आधार हो । तर, जमिन र पानीको वैज्ञानिक व्यवस्थापन र सदुपयोग गर्यो भने समृद्धि टाढा छैन ।

मधेसवादी दलहरूको ऊर्जा नै कृषिमा आधारित रहेकाले उनीहरूले कृषिको सुधारका लागि सरकारलाई दबाब दिन सक्नुपर्छ । नेपाल कृषिप्रधान देश कहलिए पनि नेपालमा कृषिले खासै उपलब्धि गर्न नसक्नुको प्रमुख कारण कृषि पेसा र व्यवसायलाई आधुनिकीकरण नगर्नु हो ।

कृषिका निम्ति आवश्यक पूर्वाधार निर्माणमा राज्य उदासीन रहनु हो । राज्यले बाँध, पैनी, कुलो, बोरिन, नहरको समुचित व्यवस्था गरी कृषिका निम्ति पानीको भण्डार गरी राख्नुपर्छ ।

वर्षाको पानी नभएको समयमा पानी वितरण गरी कृषि गर्नलाई कृषकलाई सहयोग गर्नुपर्छ । कृषि उपार्जन हुने कैयांै जिल्लामा जमिनमुनि प्रशस्त मात्रामा पानीको भण्डार छ ।

पर्सा जिल्लाको उत्तरी क्षेत्रका जग्गा दृष्टान्तका रूपमा छन् । यस क्षेत्रमा ठूला–ठूला बोरिङको व्यवस्था गरेर कृषिका निम्ति पानी निकाल्न सकिन्छ । ठूलो बोरिङको सञ्चालन सरकारबाटै सम्भव हुने देखिन्छ । 

तराई कृषिको प्रमुख क्षेत्र हो । तराई क्षेत्रको कृषिको जगेर्ना चुरे पहाड तथा वनजंगलले गरेको छ । चुरे क्षेत्रको विनाश भयो भने पूरा तराई नै मरुभूमिमा परिणत हुने अवस्था छ ।

तर, अनियन्त्रित र अव्यवस्थित क्रसर उद्योगको स्थापना, चुरे पहाडको तल्लो छेउबाट निकाल्ने गरिएको बालुवा, ढुंगाले र तीव्र गतिले भइरहेको वन फँडानीले चुरे क्षेत्र नै सखाप हुने अवस्थामा छ । चुरे क्षेत्रको विनाशले कृषिको भविष्य नै धरापमा पर्दै गएको छ, तर रोक्ने उपाय खोज्न सरकार तत्पर छैन ।

नियम–कानुनविपरीत विनाश हुँदा पनि कारबाही गर्ने तत्परताको अभाव छ । पञ्चायती शासकले थोरै भए पनि कृषिका निम्ति तराई क्षेत्रमा सिँचाइ योजनाअन्तर्गत नहर, कुलो, पैनी, बोरिङ आदिको व्यवस्था गरेको थियो ।

तर, २०४७ सालपछि नहर कार्यालय भत्काएर खेतमा परिणत भएका छन् । नहरको पानीको पनि वितरण आवश्यक मात्रामा भएको छैन । भारतसित गरिएको सम्झौताअनुसारको पानी नेपाली कृषकलाई भारत सरकारले नदिँदा नेपाली कृषक मर्कामा परेको खबर बेलाबखत नआएको होइन ।

पर्साको ठोरी क्षेत्रमा भारतीय पक्षद्वारा नेपाली कृषकलाई नहरको पानीमा अवरोध सिर्जना गरेको देखिएको थियो भने नेपाली कृषकलाई भारतीय बजारबाट सामान पनि खरिदमा अवरोध गरिएको देखिएको थियो । तर सरकारद्वारा प्रभावकारी पहल भएको देखिएन । 

कृषियोग्य भूमिमा धान, गहुँ, मकैजस्ता सीमित मौसमी बाली मात्र लगाउने गरिएको छ । बेमौसमी बालीप्रतिको ज्ञान  र साधनस्रोतको अभावले वर्षमा ६ महिना मात्र नेपाली खेत प्रयोग हुन्छ । धान, गहुँ, मकै काटेपछि अधिकांश जमिन खाली रहन्छ, तर बेमौसमी खेतीतर्फ तराईमा खासै ध्यान गएको छैन ।

भारतले बेमौसमी खेती गरेर बाटो देखाए पनि हामी सो बाटो हिँड्न जागरूक छैनौं । कृषिक्षेत्रबाट भरपुर फाइदा लिनका निम्ति वर्षभरि जमिन प्रयोग हुने अवस्था सिर्जना गर्नुपर्छ । यसका लागि बेमौसमी बालीको नयाँ–नयाँ बीउको निर्माणको खाँचो छ भने वर्षभरि हरेक ठाउँमा पानी पाउने व्यवस्था गर्नुपर्छ ।

कृषिप्रधान देशमा बीउबिजन तथा मलखाद भारतबाट महँगो भाउमा तस्करी भएर आउँछ । बढी लगानीले कृषकलाई लागत र आय बराबर हुन्छ, लाभ हुने अवस्था शून्य छ ।

कृषिका निम्ति नभइनहुने मलखाद महँगो दरमा किन्न कृषक किन बाध्य छन् ? सरकार सोच्दैन । सोच्नुपर्ने कुरा के छ भने किसानले खरिद नगरे कुनै तस्कर मलखादको तस्करी गर्दैनन् । तस्करबाट किसानले खरिद गर्दा सामान्य दरभन्दा पक्कै महँगो दरमा लिनुपर्छ ।

महँगो दरमा किसानले मल किन्नुको समान्य अर्थ हो— सस्तो दरमा सामान्य र सहज तरिकाले बजारमा मलखाद किसानले नपाउनु । सरकारले तस्करीमा प्रक्राउ पर्ने गुणस्तर मलखादजस्तो मल आफंै निर्माण वा आयात गरी किसानलाई सहज, सुलभ र सस्तो दरमा प्रदान गर्ने हो भने किसानले तस्करीको माल महँगोमा किन्दैनन् ।

त्यसैले सरकारले तराईका क्षेत्रमा सहज मूल्यमा मलखाद उपलब्ध गराउनुपर्छ । यसो गर्न सके कृषकले बढी लगानी गर्न पर्दैन र लाभ पनि बढी प्राप्त गर्छन् । 

आर्थिक स्रोतको प्रमुख आधार कृषि हो । तराईलाई नेपालको अन्न भण्डारका रूपमा चिनिन्छ ।

तर, सरकारी उदासीनताले गर्दा तराई क्षेत्रमै कृषि पेसा धराशायी हँुदै गएको छ । कृषिबाट राम्रो आम्दानी गर्न नसक्दा कृषकहरू अन्य पेसातर्फ धकेलिएका छन् र कृषि मजदुर पाउन पनि गाह्रो हुन थालिसकेको छ ।

यस्ता कमजोरीलाई सुधार गरी कृषिक्षेत्रलाई प्रोत्साहन गर्नु सरकारको प्रमुख कर्तव्य बन्नुपर्छ । सरकारले कृषि र कृषकको समस्यालाई मात्र प्राथमिकतामा राख्ने हो भने समृद्धितर्फको एउटा पाइला अगाडि बढ्छ ।

कृषि यस कारण आवश्यक छ कि कृषि नै हाम्रो जग हो । हामीसँग तेल छैन, सुन छैन, कोइला छैन तर भरपुर मात्रामा कृषियोग्य जमिन र जल प्रशस्त छ । त्यसैले यिनको सदुपयोगबाटै समृद्धि आउन सक्छ ।

(लेखक अधिवक्ता हुन् ।

Read 471 times

Leave a comment

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012