You are here: Home

भन्सार मूल्याङ्कनको व्यवस्था खारेज गर्नुपर्छ -गणेशप्रसाद लाठ प्रबन्ध सञ्चालक, गणेश ट्रेडिङ सेण्टर

Written by  Published in समाज Tuesday, 20 December 2016 18:01
Rate this item
(0 votes)

गणेश ट्रेडिङ सेण्टरका प्रबन्ध सञ्चालक गणेशप्रसाद लाठसँग उद्योग–व्यापार क्षेत्रको लामो अनुभव छ। उनको अगुवाइमा अहिले उद्योग र व्यापारका क्षेत्रमा आधा दर्जनभन्दा बढी व्यापारिक र औद्योगिक प्रतिष्ठान सञ्चालित छन्। उद्योगी व्यापारीको संस्था वीरगञ्ज उद्योग वाणिज्य सङ्घलाई नेतृत्व प्रदान गरिसकेका उनी सरकारको औद्योगिक प्रवद्र्धन बोर्डको सदस्यसमेत थिए। व्यावसायिक आरोहअवरोह र वर्तमान उद्योग–व्यापारको अवस्थाबारे लाठसँग आर्थिक अभियानले गरेको कुराकानी :

लामो समयदेखि उद्योग व्यापारमा सक्रिय हुनुहुन्छ, गणेश ट्रेडिङ सेण्टरका उतारचढाव कस्ता रहे ?

कुनै बेला हेटौंडा कपडा उद्योगका उत्पादनको विक्रीवितरणबाट हाम्रो कारोबार शुरू भएको थियो । त्यो कारखाना बन्द भएपछि मेशिनरी सामानको आयातमा लाग्यौं । अहिले खाद्यान्न, मेशिनरी, इलेक्ट्रिक मोटर, पानी तान्ने पम्प, हार्डवेयरका सामान, निर्माण कार्यमा प्रयोग हुने उपकरण, पावर टुल्स र कृषि प्रयोजनका उपकरणको कारोबारमा केन्द्रित छौं । मार्बल, ग्रेनाइट र टायल्सको पनि आयात शुरू गरेका छौं । चामल उत्पादनका लागि सम्पूर्ण तहका मेशिनहरूको आयात गछौं । प्याकेजमै चामल मिल स्थापना पनि गर्न सक्छौं । अहिले कृषि उपकरणमा रुचि बढेको छ । कृषि पम्प, पाइप, हाते जेनेरेटर, फुच्चे राइस पोलिसर, मकै छोडाउने र बदामको बोक्रा छुट्याउने मेशिनजस्ता सामानको विक्रीवितरणमा पनि हात हालेका छौं । उत्पादन क्षेत्रमा चामल, सोयाबडी मस्यौरा, चकलेट र कपडा उत्पादन गरिरहेका छौं ।

उद्योग–व्यापारको वर्तमान अवस्था कस्तो छ ?

अहिले दुईओटा बजार छन् । एउटा वस्तु बजार, अर्को सेवा बजार । वस्तु बजारमा उद्योगभन्दा व्यापारको बोलवाला छ । सेवा बजारमा उद्योगको प्रभाव बलियो छ । तर, पनि व्यापारघाटा दिनानुदिन बढेकै छ । त्यो चिन्ताको विषय हो । स्थानीय उद्योगबाट उत्पादित सामानको स्थान आयातित वस्तुले लिँदै छन् । हामी आयातकर्ताले जति धेरै आयात गर्न पायो, त्यति कारोबार बढ्यो भनेर खुशी मनाउन सक्छौं । तर, स्थानीय उत्पादनलाई मासेर आयात गरिएको सामानले दीर्घकालीन फाइदा दिँदैन ।

हाल आयातकर्ताले कस्ता समस्या भोग्नु परिरहेको छ ?

मूल्याङ्कन र ब्राण्डमा मुख्य समस्या छ । नेपालमा आउने सबै वस्तुको समान गुणस्तर छैन । तर, ती सामानको भन्सार प्रयोजनको मूल्याङ्कनमा वैज्ञानिक विधि अपनाइएको छैन । मूल्याङ्कनको व्यवस्था नै खारेज गर्नुपर्छ । आयातकर्ताले घोषणा गरेको मूल्यलाई मान्यता दिइनुपर्दछ । न्यून बिजकीकरणको आशङ्का भए त्यस्ता सामान भन्सारले नियमानुसार खरीद गर्न सक्ने प्रावधानको प्रभावकारी कार्यान्वयन हुन सक्यो भने यो समस्या स्वतः समाधान हुन सक्छ । ट्रेडमार्कको समस्या छ । बजारमा नक्कली सामान फालाफाल छन् । अस्वस्थ प्रतिस्पर्धाले प्रश्रय पाएको छ । यसरी न उपभोक्ताले न्याय पाउँछन्, न त राम्रो गुणस्तरका सामानले मूल्य पाउँछन् । सरकारले नेपाली उत्पादनको ब्राण्डको व्यवस्था गरेको छ । तर, आयातित सामानको गुणस्तर र आयातकर्ता पहिचान हुने गरी कुनै कानूनको व्यवस्था गरेको छैन । यस सम्बन्धमा सरकारले दह्रो वाणिज्य नीति ल्याउन आवश्यक छ । यथार्थमा उद्योगमा पनि स्थायी नीति नै छैन । तत्कालीन समस्यालाई टार्ने उद्देश्यले नीति अख्तियार गरिन्छ । यस्ता अल्पकालीन नीति छोटै समयमा फेरिन्छन् ।

उद्योग क्षेत्रका औसत समस्या कस्ता छन् ?

आयातित सामानसित प्रतिस्पर्धा गर्नुपरेको छ । लागत मूल्य र गुणस्तर दुवैमा प्रतिस्पर्धा छ । उदाहरणका लागि चामल उद्योगलाई नै लिन सकिन्छ । भारतमा उत्पादित चामल स्वदेशी चामलभन्दा सस्तो छ । त्यहाँ उद्योगका लागि विशेष प्रोत्साहनको व्यवस्था छ । धान सस्तोमा पाइन्छ । बैङ्कको कर्जा पनि सस्तो ब्याजदरमा उपलब्ध छ । यहाँको अवस्था कसैसित लुकेको छैन । खाद्यान्न उद्योगको अवस्था कहालीलाग्दो छ । कुनै जमानामा हामी निर्यातकर्ता थियौं । आज आयातकर्ता भएका छांै । खेतीयोग्य जग्गा बाँझै छन् । जग्गाको उचित वर्र्गीकरण हुन नसक्दा अनुत्पादक क्षेत्रमा प्रयोग भइरहेको छ ।

उद्योगी र आयातकर्ताका स्वार्थ नै परस्पर विरोधी छन् । यस्तो अवस्थामा कसरी सबैलाई चित्त बुझ्ने नीति कार्यान्वयनमा ल्याउन सम्भव हुन्छ ?

यथार्थमा उद्योग र व्यापार भनेका एकअर्काका पूरक हुन् । उद्योगले उत्पादन गर्ने हो । व्यापारले उत्पादनलाई बजारसम्म लैजाने हो । स्वदेशी उत्पादनको हकमा खासै विवाद छैन । तर, विदेशी उत्पादनको मामिलामा समस्या छ । स्वदेशी उद्योगीहरू आयातित उत्पादनलाई निरुत्साहित गर्ने अभियानमा लागेका हुन्छन् । तर, त्यही वस्तुका आयातकर्ता भने व्यापारको संरक्षणका पक्षमा हुन्छन् ।

दुवै पक्ष आ–आफना स्थानमा ठीक छन् । एक पटक स्वदेशी आँटा मैदा मिलको यस्तै समस्या आएको थियो । आँटा मैदाका स्वदेशी उत्पादक र आयातकर्ताहरू फरकफरक समय पारेर भन्सारमा डेलिगेशन गएका थिए । कम मूल्याङ्कनमा आयातित भारतीय आँटा र मैदाका कारण स्वदेशी उद्योगलाई प्रतिस्पर्धामा कठिनाइ भएको उद्योगीको तर्क थियो । आयातकर्ताले भन्सारले मूल्याङ्कन बढाउनु न्यायपूर्ण नहुने भन्दै दबाब दिएका थिए । यस्तो अवस्थामा राज्यको भूमिका महŒवपूर्ण हुन्छ । अर्थतन्त्रको भलो स्वदेशी अथवा विदेशी, कस्ता उत्पादनबाट हुने हो, त्यसको हेक्का राखेर नीतिनियम बनाउनु आवश्यक छ ।
 
बजारमा उच्च प्रतिस्पर्धा छ, यस्तो अवस्थामा तपाईंले के कुरालाई प्रतिस्पर्धाको मुख्य आधार बनाउनुभएको छ ?

प्रतिस्पर्धा नहुने कुरै छैन । चर्को प्रतिस्पर्धा छ । हामीहरूले आफूलाई गुणस्तर र ब्राण्डिङमा केन्द्रित गरेका छौं । हामीले आयात गरेका प्रत्येक सामानमा हाम्रो कम्पनीको नाम र ट्रेडमार्क हुन्छ । जागरुक उपभोक्ताले हाम्रो ट्रेडमार्क हेरेर मात्र खरीद गर्छन् । गुणस्तरको मामिलामा हामी धेरै संवेदनशील छौं । प्रतिस्पर्धाको नाममा कमसल समान भित्र्याउने नीति छैन । विश्वसनीय र असल उत्पादकका सामान आयात गर्छौं । चामल उद्योगका लागि आवश्यक पर्ने उपकरणको आन्तरिक बजारमा हामीले ५० प्रतिशतभन्दा बढी बजार अंश ओगटेका छौं ।

अहिले कस्ता वस्तुको बजारीकरणमा बढी व्यस्त हुनुहुन्छ ?

केही महीनाअघि हामीले खेतीका लागि कीटनाशक औषधि छर्ने ‘स्प्रेयर’ भित्र्याएका थियौं । त्यसैको बजारीकरणमा लागेका छौं । पृथ्वी र अग्नि ब्राण्डमा आयातित ती स्प्रेयर हात, ब्याट्री र  इञ्जिन सबैबाट चलाउन सकिन्छ । यी फरकफरक आकार र क्षमतामा उपलब्ध छन् ।

नयाँ सम्भावनाका क्षेत्रहरू कस्ता छन् ?

देशको औद्योगिक वातावरण राम्रो भयो भने यसका लागि आवश्यक आयातित उपकरणको पनि विक्री बढ्ने हो । अहिले सेवाप्रदायक उद्योगको अवस्था सन्तोषजनक देखिन्छ । वस्तु उत्पादनको अवस्था सामान्य छ । यसर्थ औद्यौगिक उपकरणको विक्री मिश्रित छ । उधारो व्यवस्थापन र गुणस्तरप्रति सचेत हुने हो भने उपभोग्य सामग्रीको विक्रीमा खासै समस्या छैन । आउँदा दिनमा जलविद्युत्, पर्यटन, हस्पिटालिटी, परामर्श, शिक्षाजस्ता सेवाप्रदायक उद्यमको सम्भाव्यता देखिएकाले त्यस्ता उद्यममा सामग्रीको विक्रीको सम्भावना पनि राम्रै देखेका छौं । कृषिक्षेत्रमा समेत कुखुरा र माछापालनजस्ता मूल्य अभिवृद्धिका आयामहरूमा राम्रो आकर्षण देखिन्छ । यी क्षेत्रमा स्वदेशी कच्चा पदार्थ, जनशक्ति र सीपको लगानी अधिक मात्रामा हुने भएकाले साम्भाव्यता बढी देखिएको हो । भौतिक संरचनाको निर्माणमा उपयोगी हुने खालका उपकरण र सामग्रीको व्यापार विस्तार गर्ने योजनासमेत बनाएका छौं ।

Read 1196 times Last modified on Tuesday, 20 December 2016 18:04

Leave a comment

                                                                                                     yatradaily Pvt.Ltd  -  www.yatradaily.com,

                                                                                              Birgunj, Ranighat - 14 , NEPAL,+977-9855020701

                                                                                                                            Chairperson

                                                                                                                              Ram Sarraf

                                                                                                      This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

        This website has been visited hit counter times from October 19, 2012