You are here: Homeअर्थअर्थवीरगञ्जको मुख्य सडक विस्तारको सूचनाले मेनरोडबासी चिन्तित

वीरगञ्जको मुख्य सडक विस्तारको सूचनाले मेनरोडबासी चिन्तित

Written by  Published in अर्थ Thursday, 05 January 2017 10:14
Rate this item
(2 votes)

राम सर्राफ वीरगञ्ज,  पुस सडक विभागले बितेका ४ वर्षमा त्रिभुवन राजपथ अतिक्रमण हटाउन ५ पटक सूचना निकालिसक्यो । तर, यो राजपथको शुरू बिन्दुका रूपमा रहेको वीरगञ्जका लागि प्रत्येक पटकको सूचना अहिलेसम्म अन्योलको कारणबाहेक अन्य साबित हुन सकेको छैन ।

वीरगञ्ज भन्सारबाट मुख्य बजार हुँदै निस्किएको त्रिभुवन राजपथअन्तर्गत सडकको २५/२५ मीटर दायाँबायाँका संरचना हटाउने सूचनाले सरोकारका स्थानीयलाई तनाव दिए पनि अहिलेसम्म समस्याको निकास भने दिएको छैन । सूचनासँगै स्थानीय अगुवाहरू सम्भावित कारबाही रोक्न भनसुनका लागि राजनीतिक नेता र मन्त्रीका दैलोमा पुग्छन् । र, आश्वासन लिएर फर्किन्छन् । फेरि अर्को सूचना आएपछि पुरानै दैनिकी दोहोरिन्छ ।   

विभागले पछिल्लोपटक वीरगञ्ज भन्सारदेखि मकवानपुरको दामेचौरसम्मको सडक क्षेत्रमा अनधिकृतरूपमा निर्माण गरिएका संरचना १५ दिनभित्र हटाउन भनेको छ । ‘यो सूचनाले वीरगञ्जको मुख्य सडक क्षेत्रका बासिन्दा सडक विभागले कतिबेला डोजर चलाउने हो भन्ने अन्योलपूर्ण त्रासमा छन्,’ वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष ओमप्रकाश शर्मा भन्छन् । डोजर चल्ने सम्भावनाबाट चिन्तितहरू यतिबेला आफूनिकट राजनीतिक अगुवा गुहार्न थलेका छन् । सडक विभागले राजपथको मापदण्डअनुसार कारबाही अघि बढाएमा वीरगञ्जको मुख्य सडक क्षेत्रमा कतिपयको उठिबास हुने दाबी उनीहरूको छ ।

वीरगञ्जको घण्टाघरदेखि भन्सारसम्म हजारौं घर, व्यावसायिक स्थल, वित्तीय संस्थान र सरकारी स्वामित्वका संरचनाहरू छन् । सडकको निर्धारित सीमाभित्र पर्ने ती संरचना भत्काउँदा वीरगञ्जको मौलिकता नै समाप्त हुने एकथरी छन् भने अर्काथरी मापदण्डअनुसार सडक फराकिलो पार्नुपर्ने पक्षमा देखिन्छन् ।

सडक विभागले राजमार्गको सीमामा भएका संरचना हटाउन सूचना गरेको डिभिजन सडक कार्यालय हेटौंडाका प्रवक्ता जयराम अधिकारीले बताए । उनले सूचनाको समयसीमा सकिनेबित्तिकै वीरगञ्जमा डोजर चलाउने तयारी भने नभएको बताए । ‘अतिक्रमण हटाउन सूचित गरिएको हो । स्थानीयले नहटाएमा विभागले क्रमशः कारबाही अघि बढाउँछ,’ उनले भने ।

विभागले अहिले त्रिभुवनराजपथअन्तर्गत हेटौंडामा सडक सीमाभित्र निर्माण भएका अनधिृकत संरचना भत्काउने अभियान चलाएको छ । क्षेत्रीय प्रशासक विनोद केसीले अहिले हेटौंडामा हात हालिएकाले त्यहाँ पूरा भएपछि अन्य क्षेत्रमा पनि अतिक्रमण हटाउँदै जाने बताए । ‘सीमित जनशक्ति र स्रोतसाधनको कमीका कारण एकैपटक सबैतिर काम अघि बढाउन नसकिएको हो । नियमानुसार सडकको मापदण्ड कायम गरिन्छ,’ प्रशासक केसीको भनाइ छ ।

वीरगन्ज मेनरोड दायाँ–बायाँ २५ मिटर भत्काउन सुचना

डिभिजन कार्यालयले हेटौंडाले सडक क्षेत्रका संरचना भत्काउन थालेपछि स्थानीयले आफूले निर्माण गरेका संरचना हटाउन थप केही समय मागेकाले त्यहाँको काम सक्नै अझै केही समय लाग्ने प्रवक्ता अधिकारीले बताए । ‘हामी चरणबद्ध अभियानमा छौं । अझै केही समय लाग्न सक्छ,’ उनले भने ।

विगतमा विभागले सडक क्षेत्रका संरचना हटाउन सूचना गरेपछि वीरगञ्जको मुख्य सडक क्षेत्रका बासिन्दाले ‘वीरगञ्ज बचाउ सङ्घर्ष समिति’ बनाएर मापदण्ड कार्यान्वयन नगर्न दबाब दिएका थिए । वीरगञ्जको पूर्व र पश्चिम दुवैतर्फ वैकल्पिक सडक निर्माण भइसकेकाले मूल शहरको संरचना भत्काउनु नपर्ने भन्दै सो समिति विभागीय मन्त्रालयसमेत धाएको थियो । तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले वीरगञ्ज नभत्किने आश्वासन दिएपछि आफूहरू आशावादी भएकोमा अहिलेको सूचनाले चिन्तित तुल्याएको समितिका संयोजक जवाहरप्रसाद गुप्ताले बताए । निधिनिकट मानिने शर्माले पनि निधिले वीरगञ्जको हकमा १५/१५ मीटरको मापदण्ड निर्धारण गरेर निकास निकाल्ने आश्वासन दिएको दाबी गरे । अहिले मुख्य शहरको बाटो १२ देखि १६ मीटरसम्म छ ।  

अहिलेको वीरगञ्ज भन्सार निकट भविष्यमा मुख्य शहरबाट ४ किलोमिटर पश्चिम अलौंमा निर्माण भइरहेको नेपाल–भारत एकीकृत जाँचचौकी (आईसीपी)मा सार्ने तयारी भइरहेको छ । आईसीपीबाट परवानीपुर हुँदै पथलैयासम्म ६ लेनको व्यापारिक सडक विस्तार भइरहेकाले सोही सडकलाई राजमार्गको विकल्पको रूपमा प्रयोग गर्न सकिने शर्माको तर्क छ ।

क्षेत्रीय प्रशासक केसीले दबाब र भनसुन काम नलाग्ने बताए । उनले ऐन कानूनअनुसार सडक विस्तार गरिने स्पष्ट पारे । सार्वजनिक सडक ऐन २०३१ ले राजमार्गको क्षेत्र ५० मीटर निर्धारण गरेको छ । ५० मीटर सडकबाहेक दयाँबायाँ ६/६ मीटर क्षेत्रमा पनि संरचना निर्माण गर्न नपाइने प्रवक्ता अधिकारीले बताए ।

Read 5004 times Last modified on Friday, 06 January 2017 09:49

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012