You are here: Homeअर्थअर्थवीरगन्जकाे नाकामा भारू प्रतिबन्धको असर : घट्यो गैरबैङ्किङ माध्यमबाट हुने आयात

वीरगन्जकाे नाकामा भारू प्रतिबन्धको असर : घट्यो गैरबैङ्किङ माध्यमबाट हुने आयात

Written by  Published in अर्थ Wednesday, 28 December 2016 08:46
Rate this item
(0 votes)

वीरगञ्ज  पुस । भारतमा लगाइएको ५ सय  र १ हजार दरका भारतीय रूपैयाँ (भारू) प्रतिबन्धले आयात व्यापारमा कमी आएको छ । प्रतिबन्धसँगै भारूको अभावमा वीरगञ्ज नाकाबाट गैरबैङ्किङ माध्यमबाट हुँदै आएको आयात घटेको हो । आयातनिर्यात परिमाणका आधारमा मुलुककै मुख्य नाकामा रहेको वीरगञ्ज भन्सार कार्यालयले भारतबाट गैरबैङ्किङ माध्यमबाट हुने कारोबार घटेको बताएको छ ।

भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत सेवन्तक पोखरेलले गत मङ्सिर महीनामा यस्तो व्यापारमा कमी आएको जानकारी दिए । वीरगञ्ज नाकाबाट गत महीना हुने यस्तो आयातमा ८५ करोड २० लाख रुपैयाँले कमी आएको उनले बताए । ‘ननबैङ्किङ ट्रेड कात्तिकको तुलनामा कमी आएको पाइयो । यो भारू अभावको असर नै हो,’ उनले भने ।  

भारतमा लगाइएको नोट प्रतिबन्धले नगद आपूर्ति असहज भएपछि त्यसको असर स्वदेशी व्यापार–व्यवसायमा पनि देखिएको हो । भन्सार कार्यालयका अनुसार बितेको १ महीनामा वीरगञ्ज नाकाबाट आयात हुने ४ सय ५३ वस्तुको आयात घटेको छ । भारतबाट आयात हुने खाद्यान्न, कपडा, हार्डवेयरलगायत वस्तुको आयात घटेको हो ।

नेपालको एक तिहाईभन्दा बढी वैदेशिक व्यापार सो भन्सार भएर हुने गर्छ । भारतबाट हुने यस्तो कारोबारमा अहिले भारू अभावका कारण कमी देखिए पनि भारूको सहजतासँगै पुरानै अवस्थामा फर्किने दाबी सरोकारवालाको छ । ‘यो तत्कालीन अप्ठ्यारोको परिणाममात्रै हो । सहजरूपमा भारू पाउनेबित्तिकै यस्तो आयात बढ्छ,’ एक आयातकर्ताले भने ।  सरकारले नगद कारोबारलाई निरुत्साहित गर्ने नीति लिए पनि भारतबाट गैरबैङ्किङ माध्यमबाट कारोबार कायमै छ । भारतबाट हुने आयातको भुक्तानी बैङ्कमार्फत नै गर्नुपर्ने कानूनी व्यवस्था छैन । पछिल्लो समय केही सुधार आए पनि अपेक्षित उयलब्धि नदेखिएको भन्सार अधिकारीहरू बताउँछन् । न्यून बीजकीकरणमा भित्रिने वस्तु र अनौपचारिक कारोबारको भुक्तानीसमेत नगदमै हुने गरेको जानकारहरूको भनाइ छ ।

बैङ्कबाटै कारोबार गर्नुपर्ने कानूनी बाध्यता नभएकाले अहिले पनि भारतबाट नगद तिरेर आयात भइरहेको भन्सार प्रमुख पोखरेलले बताए । ‘आयातकर्ताले भारतबाट ल्याएको सामानमा भुक्तानी माध्यमको खोजी हुँदैन,’ उनले भने, ‘बैङ्किङ माध्यमबाटै भुक्तानीको अनिवार्य व्यवस्था नभएसम्म यसको खोजीनीति आवश्यक पनि भएन ।’

सरकारले नगद भुक्तानी न्यूनीकरणका लागि बैङ्किङ माध्यमबाट भएको कारोबारमा लाग्ने भन्सार राजस्वमा छूट दिने नीति लिए पनि कार्यान्वयन न्यूनमात्रै छ । ३० प्रतिशतसम्म राजस्व लाग्नेमा ५ प्रतिशत र ३० भन्दा बढीमा ३ प्रतिशतका दरले छूट दिइने पनि भन्सारले बताएको छ ।

भारतले गत नोभेम्बर ८ (कात्तिक २३) देखि भारू ५ सय र १ हजारका नोटको चलनचल्तीमा रोक लगाएपछि त्यसको असर नेपाली बजारमा पनि परेको छ । सीमान्त शहर र मुख्य नाका क्षेत्रमा बढी प्रभाव देखिएको व्यवसायीहरूले बताएका छन् । अहिले भारूको कालोबजारी बढेको छ । सटहीमा बट्टादर ह्वात्तै वृद्धि भएको छ । नेपाल राष्ट्र बैङ्कले १ सय भारूको सहटीदर नेपाली १ सय ६० रुपैयाँ १५ पैसा निर्धारण गरे पनि कालोबजारमा १ सय ७५ रुपैयाँसम्म तिर्नुपरेको व्यवसायीले बताएका छन् । भारूको कालोबजारीका कारण पनि तुलनात्मक रूपमा आयात घटेको आयातकर्ताले बताए ।

Read 809 times Last modified on Thursday, 29 December 2016 17:36

Leave a comment

 

 

« May 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        

                                                                                                     yatradaily Pvt.Ltd  -  www.yatradaily.com,

                                                                                              Birgunj, Ranighat - 14 , NEPAL,+977-9855020701

                                                                                                                            Chairperson

                                                                                                                              Ram Sarraf

                                                                                                      This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

        This website has been visited hit counter times from October 19, 2012