You are here: Homeअर्थअर्थवीरगञ्ज नाकाबाट क्लिङ्कर आयात वृद्धि

वीरगञ्ज नाकाबाट क्लिङ्कर आयात वृद्धि

Written by  Published in अर्थ Friday, 11 November 2016 20:09
Rate this item
(0 votes)

वीरगन्ज २६ कातिक स्वदेशमा पर्याप्त कच्चापदार्थ उत्पादन हुन नसक्दा अधिकांश सिमेण्ट उद्योग आयातित क्लिङ्करको भरमा चलेका छन् । मुलुककै मुख्य औद्योगिक केन्द्र बारा–पर्सा कोरिडरका उद्योग अहिलेसम्म पनि आयातित कच्चापदार्थमा निर्भर छन् । पूर्वाधारको अभाव र खानी ओगट्ने प्रवृत्तिका कारण स्वदेशमा पर्याप्त कच्चापदार्थ उत्पादन हुन नसकेको गुनासो उद्योगीहरूको छ । स्वदेशमा चाहिएजति कच्चापदार्थ उत्पादन नभएपछि अधिकांश उद्योग ‘ग्राण्डिङ युनिट’मा सीमित भएका हुन् ।

 

मुख्य आयात–निर्यात केन्द्र मानिएको वीरगञ्ज नाकाबाट क्लिङ्करको आयात वर्षेनि बढ्दै गएको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत सेवन्तक पोखरेलका अनुसार चालू आर्थिक वर्ष २०७३/७४ को पहिलो ३ महीनामा मात्रै यो नाकाबाट करीब २ लाख २० हजार ५ सय ३८ मेट्रिक टन क्लिङ्कर आयात भएको छ । गत आवको शुरूका ३ महीनामा ४५ हजार १ सय ९१ मेट्रिक टन क्लिङ्कर आयात भएको भन्सारको तथ्याङ्क छ । क्लिङ्कर सिमेण्टको मुख्य कच्चापदार्थ हो । यसको अधिकांश परिमाण भारतबाट आयात हुन्छ ।

 

वीरगञ्ज केन्द्रित तराई÷मधेश आन्दोलनका कारण गत वर्ष असोजमा आयात प्रभावित भए पनि साउन–भदौमा अवरोध थिएन । आन्दोलन र नाकाबन्दीले सिमानामा रोकिएको क्लिङ्कर नाका खुलेलगत्तै उल्लेख्य परिमाणमा भित्रिएको थियो । गत वर्ष २०७२/७३ मा करीब ५ महीना नाका अवरोध भए पनि कुल ४ लाख ८८ हजार ५ सय ७० मेट्रिक टन क्लिङ्कर भित्रिएको थियो । आयात–निर्यातमा अवरोध भए पनि गत आवमा राजस्व योगदानमा क्लिङ्कर आयातित वस्तुको शीर्ष छैटौं नम्बरमा परेको छ । अघिल्लो वर्ष यो परिमाण ५ लाख ७५ हजार २ सय ५० मेट्रिक टन थियो ।

 

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा क्लिङ्कर आयातित वस्तुको सातौं नम्बरमा परेको भन्सारको तथ्याङ्कमा उल्लेख छ । भन्सारले राजस्व योगदानमा आधारमा आयातित वस्तुको सूची सार्वजनिक गरेको हो । सिमेण्ट उत्पादनमै प्रयोग हुने स्ल्याग, फ्लाइआस (कोइलाको खरानी) र जिप्सम पनि भारतबाटै आयात हुने भन्सारले बताएको छ ।

 

बारा–पर्सा क्षेत्रमा करीब १ दर्जन सिमेण्ट उद्योग सञ्चालनमा भए पनि सबै उद्योगहरूको कच्चापदार्थको आपूर्ति आयातको भरमा चलेको श्री सिमेण्ट्स इण्डष्ट्रिज प्रालिका प्रबन्ध निर्देशक अनिलकुमार अग्रवाल बताउँछन् । ‘स्वदेशमा कच्चापदार्थको उत्पादन र उपलब्धता सहज नभएका कारण अधिकांश उद्योग ‘ग्राण्डिङ युनिट’मा सीमित भएका छन्,’ उनले भने ।

 

सरकारले सिमेण्टमा आत्म निर्भरताका लागि उद्योगहरूलाई क्लिङ्कर उत्पादनको मापदण्डमा लैजान खोजे पनि विद्युत्, खानी स्थलसम्म बाटोघाटो, सञ्चारजस्ता पूर्वाधारको अभावले सफल हुन सकेको छैन । न्यून लगानी र पूर्वाधारको अभाव, स्थानीय अवरोध, श्रम समस्या, उत्खनन्को अनुमति लिएर खानी ओगट्ने प्रवृत्तिजस्ता कारणले सरकारी प्रयास सफल हुन नसकेको स्टार सिमेण्ट उद्योग प्रालिका निर्देशक राजेश क्यालको बुझाइ छ । सरकारले यसअघि उद्योग सञ्चालनको अनुमतिमा सिमेण्ट उद्योगले ५ वर्षभित्र आपैm क्लिङ्कर उत्पादन गर्नुपर्ने शर्त राखेको थियो ।

 

स्वदेशी क्लिङ्करले स्थानीय उद्योगको मागको करीब २० प्रतिशतमात्र आपूर्ति गरेको अनुमान उद्यमीहरूको छ । केहीले स्वदेशी क्लिङ्कर खपत गरे पनि परिमाण न्यून छ । नारायणी सिमेण्ट उद्योग प्रालिका प्रेसिडेण्ट वक्र्स उमेशचन्द्र ठाकुरले पर्याप्त पूर्वाधार नहुँदा स्वदेशमा क्लिङ्कर उत्पादनको सम्भावना खेर गइरहेको बताए ।

 

बारा–पर्सामा स्टार सिमेण्ट, नारायणी सिमेण्ट, विश्वकर्मा सिमेण्ट, श्री सिमेण्ट्स इण्डष्ट्रिज, कृष्णा सिमेण्ट, आरएमसी सिमेण्ट, इण्टरनेशनल सिमेण्ट, जगदम्बा, अम्बे सिमेण्ट, नेपाल शालिमार सिमेण्टलगायत उद्योग सञ्चालनमा छन् । यीमध्ये अधिकांश उद्योग पूर्णरूपमा आयातित कच्चापदार्थको भरमा चलेका छन् ।

Read 393 times Last modified on Sunday, 13 November 2016 13:38

Leave a comment

 

 

« May 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        

                                                                                                     yatradaily Pvt.Ltd  -  www.yatradaily.com,

                                                                                              Birgunj, Ranighat - 14 , NEPAL,+977-9855020701

                                                                                                                            Chairperson

                                                                                                                              Ram Sarraf

                                                                                                      This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

        This website has been visited hit counter times from October 19, 2012