You are here: Homeअन्तरवार्ताअन्तरवार्तावीरगञ्ज घोषणाको परिदृश्यमा प्रचण्ड सरकार-अशोककुमार वैद

वीरगञ्ज घोषणाको परिदृश्यमा प्रचण्ड सरकार-अशोककुमार वैद

Written by  Published in अन्तरवार्ता Thursday, 08 September 2016 18:59
Rate this item
(0 votes)

तीन वर्षअघि औद्योगिक तथा व्यापारिक नगर वीरगञ्जमा मुलुकका पाँच जना पूर्वप्रधानमन्त्रीले हस्ताक्षर गरेको १२ बुँदे वीरगञ्ज घोषणा जारी भएको थियो । आस्था र उद्देश्यका आधारमा राजनीतिक दलहरू चारतिर फर्किए पनि आर्थिक विकासलाई सबैले साझा अभिप्राय भनेका छन् । यसकारण त्यतिबेला आर्थिक विकासको उद्देश्यमा राजनीतिक नेतृत्वलाई एक ठाउँमा उभ्याउनु जति सान्दर्भिक थियो, त्यति नै अपरिहार्य पनि । अहिले पनि यो आवश्यकताको पूर्ति नै अपेक्षित आर्थिक विकासको आधार बन्नेमा कुनै शङ्का छैन । भन्दा जे भनिए पनि आर्थिक विकासको गति अघि बढाउने राजनीतिले नै हो । यसकारण लक्षित विकासका लागि राजनीतिक दलहरूको साझा प्रतिबद्धतालाई ध्यानमा राख्दै निजीक्षेत्रको संस्था वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र आर्थिक अभियान दैनिकको संयुक्त प्रयासमा शीर्ष नेतृत्वलाई एउटै थलोमा भेला गराएर आर्थिक विकासका १२ बुँदामा हस्ताक्षर गराइएको थियो ।

त्यो ‘नेपाल लीडरशीप समिट–आर्थिक क्रान्तिको मार्गचित्र : भिजन २०८०’ यस्तो कालखण्डमा भएको थियो कि मुलुकको राजनीति अत्यन्त तरल अवस्थामा थियो । पहिलो संविधानसभा उद्देश्यमा नपुगी अवसान भएर दोस्रो संविधानसभाका निर्वाचनका लागि गैरदलीय सरकार गठन भएका बेला दलहरूलाई एउटै अवधारणामा सहमत गराउनु त्यतिबेला जति चुनौतीपूर्ण थियो, अहिले त्यसको कार्यान्वयन त्यति नै अन्योलमा परेको छ । सहमति र सहकार्यको अभावमा मुलुक राजनीतिक सङ्क्रमणको उत्कर्षमा रहेकै बेला राजनीतिक शक्तिहरूलाई एक ठाउँमा उभ्याएर कम्तीमा विकासका साझा अवधारणामा एकमत तुल्याउनु त्यसबेला आफैंमा एउटा महत्त्वपूर्ण उपलब्धि थियो । अहिले त्यसको कार्यान्वयन आर्थिक विकासको उद्देश्यमा महत्त्वपूर्ण आयाम बन्नेमा द्विविधा छैन । कार्यान्वयनमा राजनीतिक इमानदारीको अभाव छ ।

संयोग कस्तो भने त्यो १२ बुँदे घोषणाका हस्ताक्षरकर्तामध्येका पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यसयता पहिलो पटक मुलुकको कार्यकारी प्रमुख बन्नुभएको छ । पाँच जना हस्ताक्षरकर्तामध्ये त्यसयता सत्ताको नेतृत्वमा पुग्ने नेता उहाँ नै पहिलो नेता हो । यो उहाँको दोस्रो कार्यकाल भए पनि दोस्रो संविधानसभा चुनाव र आर्थिक विकासका सन्दर्भमा भएको त्यो प्रतिबद्धतापछिको पहिलो पटक भएकाले विकासका साझा उद्देश्यको कार्यान्वयनमा आशावादी भने हुन सकिन्छ ।

तीव्र दरको आर्थिक विकासको कुरा गर्दा यसको आवश्यकताको आधार र अवस्थालाई पनि मिहिन रूपमा केलाउनुपर्ने हुन्छ । करीब एकै समयको सेरोफेरोमा विकासमा अघि बढेका देशहरूले ठूलो फड्को मारिसकेका उदाहरण थुप्रै छन् । हामी ती देशका विकासका कुरा गरेर थाक्दैनौं, तर अनुशरणमा सधैं उदासीन रहन्छौं । यो तीतो लागे पनि सत्य हो । यही कारण हाम्रा विकासका सम्भावना र स्रोतहरू खेर गइरहेका छन् । हामी चौतर्फी अभाव र अविकास पालेर विकासको भजनमात्र गाइरहेका छौं । कोरा आलापमात्र विकासका निम्ति पर्याप्त हुँदैनन् । यसका लागि प्रतिबद्धता, योजना र कार्यान्वयनको दृढ इच्छाशक्ति चाहिन्छ ।

नेपालको समृद्धिका लागि जलविद्युत्, पर्यटन, कृषि, खनिजलगायत क्षेत्र मूल आधार हुन् । यसको उपयोगमा पर्याप्त ध्यान जान सकेको छैन । खोलानालाको पानी बगेर खेर गइरहेको छ । हामी विद्युत् आयातमा पराधीन हुँदै छौं । भएका प्रयास अति राजनीतीकरणले अन्योलमा जेलिएका छन् । जलविद्युत् मात्र पनि आर्थिक वृद्धि, व्यापार सन्तुलन, विदेशी मुद्रा आर्जनको अचुक उपाय हुन सक्दछ । उपयोगमा अवरोधका फेहरिस्त अब यहाँ नयाँ विषय हुने छैन ।

पर्यटनमा नेपाललाई उत्कृष्ट गन्तव्यका रूपमा लिइन्छ । यसको उपयोगका निम्ति पर्याप्त पूर्वाधार निर्माण हुनै सकेको छैन । प्रचारप्रसारको कमी छ । कतै सम्भावनाको अधिक दोहनले मौलिकता धरापमा परेको छ भने कतैको सम्भावना लोप हुने तरखरमा छ । यसको उपयुक्त निदान आवश्यक छ । कुनै बेला राष्ट्रिय आयमा औद्योगिक उत्पादनको योगदान १५ प्रतिशतसम्म थियो । आज ६ प्रतिशतको सेरोफेरोमा समेटिएको छ । ऊर्जा अभाव र श्रम समस्याजस्ता कारणले उद्योगको उत्पादन खुम्चिएको मात्र छैन, उल्टोयात्रा शुरू भइसकेको छ । उत्पादनको स्थान आयातले ओगटेको छ । यो कसैगरी अर्थतन्त्रका लागि सुखद सङ्केत होइन ।

समस्याको सबैभन्दा ठूलो कारण नीतिगत अस्थिरता नै हो । राजनीतिक दलहरूका आ–आफ्नै निर्देशक विचार हुनु स्वाभाविक हो । तर, राजनीतिक आस्थाका अधारमा आर्थिक नीति अस्थिर बनाइनु समस्याको चुरो हो । हामीले भोगिरहेको अविकासको मूल कारण पनि यही हो । यो पृष्ठभूमिमा विकासका लागि वीरगञ्ज घोषणालाई सहकार्यको आधारस्तम्भ बनाएर अघि बढ्नु पर्छ ।

विकासका लागि हामी आफैले अग्रसरता लिन सक्नु पर्छ । वीरगञ्ज घोषणामा अहिलेका प्रधानमन्त्री दाहाल, अहिले आर्थिक समृद्धिलाई मूल उद्देश्य बनाएर राजनीति अघि बढाइरहेका नेता बाबुराम भट्टराई, शेरबहादुर देउवा, माधव नेपाल र झलनाथ खनालले हस्ताक्षर गर्नुभएको थियो । उहाँहरू नै प्रमुख राजनीतिक शक्तिका शीर्षस्थ भएकाले स्वाभाविक रूपमा सत्ता सञ्चालनको बागडोर पनि धुमिफिरी प्रायः उहाँहरूकै हातमा वा प्रभावमा जाने हो । सत्तामा रहँदा र नरहँदा नीति निर्माणमा उहाँहरूको निर्णायक भूमिका रहने नै भयो । यसकारण वीरगञ्ज घोषणाको कार्यान्वयनमा आशावादी हुनु अन्यथा थिएन । तर, अहिले कार्यान्वयनमा निराशाबाहेक अन्य उल्लेख गर्नलायक कुनै उपलब्धि देखिएको छैन ।

प्रतिबद्धताका १२ बुँदामा आर्थिक एजेण्डालाई राष्ट्रिय स्वार्थ रक्षाका लागि सर्वोपरि राखेर लोकतान्त्रिक विधिअनुरूप साझा प्रतिबद्धता निर्माण गर्ने, असहज श्रम सम्बन्धको अन्त्य, नयाँ श्रमनीति तथा औद्योगिक नीतिको निर्माण, ऊर्जाको समस्या समाधान, लगानीको वातावरण निर्माण गरी गरीबी र असमानता हटाउने, निजीक्षेत्रको नेतृत्वमा १० वर्षभित्र देशलाई विकासशील बनाउने प्रतिबद्धता थिए । वीरगञ्ज–पथलैया कोरिडरलाई मापदण्डसहितको औद्योगिक कोरिडर घोषणा गर्ने र वीरगञ्जलाई आर्थिक राजधानीका रूपमा आधिकारिक मान्यता दिनेजस्ता प्रतिबद्धता पनि समेटिएका थिए । तर, ती सबै उदासीनताको घानमा परेका छन् ।

नेपालको राजनीतिक इतिहासमै प्रमुख राजनीतिक दलहरूले संयुक्त रूपमा गरेको आर्थिक विकासको त्यो ऐतिहासिक घोषणाको कार्यान्वयन अझै पनि राजनीतिक इमानदारितामा भर पर्दछ । त्यो शीर्ष प्रतिबद्धता हामीले अपेक्षा र लक्ष्यमा राखेको आर्थिक समृद्धिका लागि सहकार्यको अधारशीला बन्न सक्दछ । सहकार्य नभई विकासको लक्ष्यमा पुग्न सम्भव छैन । अब कम्तीमा विगतका कमजोरीलाई सच्याएर विकासको पथमा अघि बढ्न ढिलाइ गर्नुहुँदैन । १२ बुँदे वीरगञ्ज घोषणाको सापेक्ष कार्यान्वयन आर्थिक विकासको मेरुदण्ड मानिनुपर्छ । ‘छोटो समयमै धेरै गर्नुपर्ने चुनौती’ स्वीकार गरेर प्रधानमन्त्रीको कुर्सीमा पुग्नुभएका दाहालका निम्ति वीरगञ्ज घोषणाको कार्यान्वयन चुनौतीमात्र नभएर आर्थिक विकासका प्रतिबद्धतामा आफूलाई सक्षम सावित गर्ने अवसर पनि हो ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष वैदसँग गरिएको कुराकानीमा आधारित । वैदको कार्यकालमा १२ बुँदे वीरगञ्ज घोषणा जारी भएको थियो ।

Read 803 times

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012