You are here: Homeअन्तरवार्ताअन्तरवार्ताम यो क्याबिनेटमा जान्नँ : प्रभू साह

म यो क्याबिनेटमा जान्नँ : प्रभू साह

Written by  Published in अन्तरवार्ता Tuesday, 16 August 2016 08:01
Rate this item
(0 votes)

माओवादी केन्द्रको हेडक्वार्टरले तयार पारेको मन्त्री सूचीमा नेता प्रभू साहको नाम थियो । तर आइतबारको मन्त्रिपरिषद् विस्तारमा उनी परेनन्, किन ? बसन्त बस्नेतले गरेको संक्षिप्त वार्ता :

मन्त्री बन्ने प्रस्ताव किन अस्वीकार गर्नुभएको ?

म मन्त्री बन्ने चर्चा पार्टीमा कसले सुरु गर्‍यो, थाहा भएन । मसँगै बरु सल्लाह गरेको भए हुन्थ्यो । अध्यक्षले भेटेर ‘तपाईंको अपेक्षा के छ ?’ भनी सोध्दा पनि मैले अरू कुरा राखिनँ । ‘तपाईंले फेरि देशको नेतृत्व गर्ने मौका पाउनुभएको छ, यो अप्ठ्यारो समयमा जोखिम मोल्न लाग्नुभएकाले म निसर्त सहयोग गर्छु’ भनें । मनमा शंका भने थियो– अध्यक्ष प्रचण्डले देशको निकास र संविधानको कार्यान्वयनका लागि जोखिम मोल्नुभएको हो कि प्रधानमन्त्री बन्नका लागि चलाखीमात्रै । आजको मन्त्रिपरिषद् विस्तार हेरेपछि थाहा भयो, यो शुभ लक्षण होइन । त्यसैले म नगएको ।

किन, मन्त्रिपरिषद् कसरी विस्तार भयो र ?

यो देशको चिन्ताभन्दा पनि गुटवाद र झुन्डको व्यवस्थापन गर्ने किसिमबाट गयो । सबैलाई थाहा छ, म प्रचण्डसँग निरन्तर फरक मत अनि असहमति राख्दै भए पनि पार्टी पद्धतिमा विश्वास गर्दै आएको मानिस हुँ । तर यहाँ असहमति राख्नेलाई विश्वास गर्ने परिपाटी बनिसकेको रहेनछ ।

तपाईंले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अपेक्षा गर्नुभएको थियो ?

अनौपचारिक कुराकानीका क्रममा मेरो भूमिका के हुन सक्छ भन्ने बारेमा कुराकानी भएकै थियो । संविधान निर्माणदेखि नै संघीयताको माग सम्बोधन भएन भन्ने मधेसी समुदायको गुनासो छँदै छ । म मधेसी समुदायबाट प्रतिनिधित्व गर्ने पार्टीको नेता भएका कारणले पनि मधेसलाई चित्त बुझाउने गरी प्रभावकारी संवाद गर्ने, स्थानीय चुनाव सफल पार्ने वातावरण बनाउने अवस्था बन्ने थियो । त्यो जिम्मेवारी नपाउने भएपछि अरू पदमा गएर केवल मन्त्रीका लागि मन्त्री बन्नुभन्दा बरु म समितिमै सभापति छँदै छु । यहींबाट पनि योगदान गर्न सक्छु भनेर गइनँ ।

कानुन मन्त्रालय अफर गरिएको थियो । किन नजानुभएको ?

कुन मन्त्रालयमा जानेभन्दा पनि देशको चिन्ता लिएर समस्यालाई कसरी सम्बोधन गर्ने कुरा मुख्य हो नि । सरकार त हिजो पनि थियो, तर मैले हिजोदेखि नै एउटा लाइन लिएको थिएँ । केपी ओली नेतृत्वको सरकारमा हाम्रो पार्टी हुँदा पनि राजनीतिक समस्या समाधान नहुने देखिएकै थियो । तर अहिले सम्भावना होला कि भनी उत्साहित भएको थिएँ । अब त्यो अवस्था बन्ने नदेखिएपछि किन मन्त्रीका लागि मन्त्री बन्ने भनेर नगएको हो । सार्थक र परिणाममुखी भूमिकाका लागि मेरो खोजी थियो ।

मन्त्रिपरिषद् त फेरि पनि विस्तार हुनेवाला छ । फेरि पनि अर्को सुविधाजनक भूमिका पाउने अवस्था भएमा मन्त्री बन्नुहोला नि ?

म यो क्याबिनेटमा जान्नँ । देशभन्दा गुट प्राथमिक बन्ने अवस्थामा मैले गम्भीरतापूर्वक समीक्षा गर्नैपर्छ ।

कान्तिपुरबाट 

Read 578 times Last modified on Tuesday, 16 August 2016 08:05

Leave a comment

 

 

« May 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        

                                                                                                     yatradaily Pvt.Ltd  -  www.yatradaily.com,

                                                                                              Birgunj, Ranighat - 14 , NEPAL,+977-9855020701

                                                                                                                            Chairperson

                                                                                                                              Ram Sarraf

                                                                                                      This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

        This website has been visited hit counter times from October 19, 2012