You are here: Homeअन्तरवार्ताअन्तरवार्तामधेशको माग मधेशीको मात्र होइन, राष्ट्रको माग हो, खिमलाल देवकोटा, प्रवक्ता, नयाँ शक्ति नेपाल पार्टी मधेश आन्दोलनमा नयाँ शक्ति पार्टीको ऐक्यबद्धता रहेको छ

मधेशको माग मधेशीको मात्र होइन, राष्ट्रको माग हो, खिमलाल देवकोटा, प्रवक्ता, नयाँ शक्ति नेपाल पार्टी मधेश आन्दोलनमा नयाँ शक्ति पार्टीको ऐक्यबद्धता रहेको छ

Written by  Published in अन्तरवार्ता Sunday, 10 July 2016 07:22
Rate this item
(0 votes)

० नयाँ शक्ति पार्टीभित्र जिम्मेवारी बाँडफाँड गरिएको छ, अबका दिनमा पार्टी कसरी अगाडि बढ्छ ? 

— सात प्रदेश र प्रवाससमेत गरी आठ प्रदेशको रूपमा हामीले कार्यविभाजन ग¥यौं र तीन महिने कार्ययोजना पनि तयार गरेका छौं । अहिलेसम्म लगभग १ लाख सदस्य बनाएका थियौं । यत्तिले मात्र पुग्दैन कम्तिमा ५ लाख सदस्य बनाउने हाम्रो योजना छ । सदस्यता वितरण सँगसँगै यो राष्ट्रिय भेलाको सन्देश सम्प्रेषण गर्ने काम गर्छौं । प्रशिक्षण आधारभूत रूपमा संगठनका सिद्धान्त, नीति र विचारहरूका बारेमा रहेर हुने गर्दछ । हामीले नयाँ विधानअनुसार स्थानीय तहको अधिवेशन गर्ने कामको थालनी पनि गर्छौं ।

 

० अधिवेशनका लागि पहिले स्थानीय तहबाट अगाडि बढ्नुहुन्छ कि केन्द्रीय तहबाट ? 

— हामी स्थानीय तहबाट आउँछौं । अहिलेसम्म परम्परागत पार्टीहरूले पार्टी निर्माण प्रक्रियामा माथिदेखि तल्लो स्तरसम्ममा जाने गरेका छन् । हामी वैकल्पिक शक्तिको नाताले तल्लो स्तरबाट अधिवेशन गर्ने प्रक्रियाको आरम्भ गर्छौं ।

 

० तल्लो स्तरमा पार्टी निर्माण, संगठन विस्तार जस्ता सबै काम पुरा भइसके ? 

— अन्तरिम, केन्द्रीय, जिल्ला र प्रादेशिक परिषद् सबैलाई त्यस अन्तर्गतको निकायको अधिवेशन, राष्ट्रिय सम्मेलन आयोजक समितिको रूपमा बदल्यौं । हाम्रो योजनाअनुसार सदस्य बनाइसकेपछि वडास्तरको, गाउँ र नगरस्तरको सम्ेमलन गर्ने विचार छ । नयाँ विधानअनुसार हामीले केन्द्रीय पदाधिकारीहरूका सम्पूर्ण सदस्यले देशभरिबाट प्रत्यक्ष रूपमा निर्वाचन गर्ने विधि अवलम्बन गरेका छौं । एक व्यक्ति एक कार्यकारी पद र अधिकत्तम दुई कार्यकालमा रहने भनेर स्पष्टताका साथ लागू गर्ने सोच बनाएका छौं । उमेरको हद निश्चित गरेका छौं । स्थायी रूपमा हुने पार्टी संरचनाहरू समावेशी रूपमा हुने सुनिश्चितता हामीले गरेका छौं । सबै पार्टी सदस्यहरूबाट केन्द्रीय पदाधिकारीहरू प्रत्यक्ष रूपमा चुनिने भन्ने व्यवस्था छ । त्यस्तै निर्वाचित प्रतिनिधिहरूले सदस्यको इच्छाअनुसार काम गरेनन् भने फिर्ता बोलाउने अधिकार पनि सदस्यमा रहने सदस्यहरू सार्वभौम हुन् भन्ने कुराको व्यावहारिक प्रत्याभूति हुने हाम्रो योजनामा छ ।

 

० काठमाडौंमा आयोजना भएको नयाँ शक्ति नेपालको पार्टी घोषणा कार्यक्रममा मधेशीहरूको व्यापक सहभागिता देखिएको थियो, यसको कारण के होला ? 

— नयाँ शक्ति नेपालले उत्पीडनका पक्षमा आवाज उठाउँछ । मधेशी समुदाय उत्पीडनको मारमा छ । हालै जारी गरिएको नयाँ संविधानले मधेशी, थारू, आदिवासी जनजाति, महिला र मुस्लिम समुदायलाई सम्बोधन गर्न सकेको छैन । त्यही विषयमा मधेश आन्दोलित छ । त्यो आन्दोलनमा नयाँ शक्ति पार्टीको ऐक्यबद्धता रहेको छ । यसकारण पनि उहाँहरूको अपेक्षा र आशा नयाँ शक्तिप्रति रहेको छ । मधेशी जनता आर्थिक समृद्धिको अपेक्षामा छन् । त्यसैले आर्थिक समृद्धिको एजेन्डा उठाउने विश्वसनीय नेतृत्व, कार्ययोजना सहितको पार्टी नयाँ शक्ति नेपाल भएको कारणले मेधशी जनसमुदायको उपस्थिति पार्टी घोषणा कार्यक्रममा राम्रो रहेको थियो ।

 

० पार्टी गठनसँगै अहिले तपाईहरू पार्टी विस्तारको चरणमा हुनुहुन्छ । यस बीचमा मधेशी समुदाय कुनै न कुनै रूपमा तपाईहरूको पार्टीप्रति आत्मीयता देखाउँदै छ । मधेशी जनताले तपाईहरूमाथि विश्वास गर्नुको आधार के हो त ? 

— संविधान जारी हुँदाखेरी नै मधेशी समुदायको मागलाई सम्बोधन गर्न सकिएन भन्ने कुरा नयाँ शक्तिले प्रष्ट रूपमा राख्यो । मधेशी र थारू समुदायको आन्दोलनलाई समयमा नै सम्बोधन गर्नुपर्छ भनेर नयाँ शक्तिले भन्दै आएको छ भने अहिले जारी रहेको आन्दोलनमा हाम्रो ऐक्यबद्धता रहेको छ । मात्रै हामीले भनेनौं, यो आन्दोलनमा हाम्रो साथ, सहयोग र समर्थन पनि छ । संविधानमा सबैको स्वामित्व र अपनत्व कायम गराउन जरूरी छ भनेर हामीले विचार राख्यौं । यो विचार अगाडि राख्दै गर्दा मधेशी जनसमुदायले नयाँ शक्ति पार्टी बाहेक अरू पार्टीलाई विश्वास गर्न आधार पनि भएन । अहिले नयाँ शक्तिमा पार्टीमा आबद्ध समर्थक शुभचिन्तक मात्र होइन विभिन्न पार्टीमा रहेका सत्तारूढ पार्टीमै रहेका मधेशी समुदाय पनि आफ्नो पार्टीप्रति असन्तुष्ट हुनुहुन्छ । किनकी मधेशी, थारू समुदायका जायज मागहरूलाई पनि ती पार्टीहरूले पुरा गर्न सकिरहेका छैनन् । अहिले औपचारिक रूपमा आफ्नो पार्टी छोडेर नयाँ शक्ति पार्टीमा आबद्ध भइहाल्न केही प्राविधिक कारणले गर्दा सक्नुभएको छैन । एजेण्डाको हिसाबले भन्ने हो भने नयाँ शक्ति पार्टीमा सम्पूर्ण मधेशी, थारू, आदिवासी जनजाति, मधेशी र महिला वर्गको आकर्षण छ । निकट भविष्यमा ती समुदायको आवाज उठाउने भएको कारणले नयाँ शक्ति पार्टीप्रति ती समुदायको आकर्षण बढ्दो छ ।

 

० डा. बाबुराम भट्टराईले संघीय गठबन्धनले जारी राखेको रिले अनसनमा सहभागी भएर ऐक्यबद्धता जनाउनुभयो । तपाईहरूको ऐक्यबद्धता २६ बुँदेमा हो कि अनसनमा मात्र ? 

— केही तत्वहरू मधेश र पहाडलाई बिचमा जुधाएर शासन लम्ब्याउने खेलमा लागेका छन् । मधेश भर्सेज पहाड, पहाड भर्सेज मधेश बनाउने अत्यन्तै घृणित खेलमा पनि लागेका छन् । यो विषयमा नयाँ शक्ति नेपाल पार्टी अत्यन्तै सचेत छ । मधेश र पहाड बीचको सद्भाव कसरी कायम राख्न सकिन्छ भन्ने बारेमा हामी चिन्तित छौं । त्यसैले मधेशको माग मधेशीको मात्र होइन त्यो राष्ट्रको माग हो । यसका निम्ति जनजाति, खसआर्यको पनि समर्थन जरूरी छ भनेर हामीले यसले सामाजिक सद्भाव कायम गर्नका निम्ति सहयोग पु¥याउने छ । त्यसकारण हाम्रो यो अनसनमा ऐक्यबद्धता छ । यो अनसन त आन्दोलनको एउटा स्वरूप मात्र हो । हिजो उहाँहरू सडक आन्दोलनमा भएको समयमा पनि हाम्रो ऐक्यबद्धता थियो । अहिले आन्दोलनमा उठाइएका एजेण्डा भनेको मात्रै मधेशी जनसमुदायको एजेण्डाका कुरा होइन । यो संविधानमा सबैको अपनत्व र स्वामित्व सुनिश्चित गर्ने एजेण्डा हो । पहिलो संविधानसभाको राज्य पुनर्संरचना समितिले जे प्रतिबद्धता व्यक्त गरेको थियो त्यसको आधारमा संघीय संरचना निर्माण गर्ने र समानुपातिक, समावेशीको ग्यारेन्टी गर्ने, विभेद अन्त्य गर्ने भनेको थियो । त्यो नै मुख्य एजेण्डा हो । नागरिकतामा विभेद छ, संघीय संरचना निर्माण गर्नेमा पहिचान र सामथ्र्यको आधारमा निर्माण गर्ने भनिएको थियो । त्यसलाई उल्लंघन गरिएको छ । सँगसँगै हिजो दलहरूले जे–जे घोषणा पत्र लिएर जनताको मत लिएका थिए, त्यो घोषणा पत्रको पनि विरूद्ध छ । त्यसैले यी एजेण्डामा हाम्रो एक्येबद्धता रहेको छ ।

 

० ‘अबको निकास आर्थिक विकास’ तपाइँहरूको पार्टीको मुख्य एजेण्डा छ यसको परिभाषा के हो ? 

— हामीले नेपालको राजनीतिलाई तीन चरणमा विभाजन र विश्लेषण ग¥यौं । पहिलो चरण भौगोलिक एकीकरणको चरण हो, जुन पृथ्वीनारायण शाहको पालामा समाप्त भयो । दोस्रो चरण अधिकार प्राप्तिका निम्ति गरिने संघर्षको चरण हो । त्यो संर्घषको चरण द्वन्द्वात्मक र शान्तिपूर्ण दुवै प्रकारका रहे । जसलाई संविधासभाबाट संविधान जारी भएपछि अहिले देखिएका असन्तुष्टिहरूलाई सम्बोधन गर्न प्रक्रिया मार्फत त्यो चरण पनि समाप्त हुन्छ । अबको चरण भनेको अािर्थक समृद्धिको चरण हो । जनता समृद्धि चाहन्छन् । त्यसैले हामीले ‘अबको निकास आर्थिक विकास’ भनेर एजेण्डा चयन ग¥यौं । आजसम्मको राजनीतिले व्यवस्था विरूद्ध लड्न सिकायो । अबको राजनीति अवस्थाको विरूद्ध लड्नका निम्ति गरौं । त्यो अवस्था भनेको गरिबी, बेरोजगारी र भ्रष्टाचार हो । ती तीन कुराको विरूद्ध राजनीति गर्न सक्यौं भने समृद्धि सम्भव छ, हाम्रो पालामा ।

 

० मधेशमा अहिले अधिकारका लागि संघर्ष भइरहेको छ तपाइँहरू आर्थिक सम्पन्नता भनिराख्नुभएको छ । मधेशको दृष्टिकोणबाट हेर्दाखेरी मधेशलाई पहिले अधिकार चाहियो कि आर्थिक सम्पन्नता ? 

— मधेशको दृष्टिकोणबाट हेर्दा नयाँ शक्ति पार्टीको पाँचवटा ‘स’ आवश्यक छ । पहिलो ‘स’ ले आर्थिक समृद्धिको कुरा गर्छ । अन्य ‘स’ ले स्वाधिनता, समानुपातिक, समावेशी र सहभागितामूलक लोकतन्त्रको कुरा गर्छ । यी दुईवटा कुरा एकअर्काका पूरक मात्र होइन, यी दुईवटा कुरा सँगसँगै अगाडि बढ्छन् । पहिचान र अधिकारको मुद्दाका निम्ति मधेशी समुदाय अगाडि बढिरहेको छ । हामीले पनि त्यसैलाई अर्को भाषामा समानुपातिक, समावेशी र सहभागितामूलक लोकतन्त्रका निम्ति भएका आन्दोलनको रूपमा हामीले यसलाई हेरेका छौं । त्यसकारण नयाँ शक्ति पार्टीको पाँचवटा ‘स’ र मधेशी, आदिवासी, थारू, महिला, दलित र मुस्लिम समुदायले उठाएको जायज माग यी दुईवटा कुराको मिलनविन्दू हामीले आर्थिक समृद्धि र समानुपातिक, समावेशी र सहभागितामूलक आर्थिक समृद्धि भित्र भेट्न सक्छौं ।

 

० पार्टीमा प्रायः पुरानै अनुहार देखिए पनि पार्टीको नाम नयाँ शक्ति राख्नुभएको छ, यसको आधार के हो ? 

— समय अनुकूल पार्टीहरू परिवर्तित हुनुपर्छ । परिवर्तित हुन सकेनन् भने ती पार्टीहरू आफैं पुराना हुन्छन् भन्ने हाम्रो मान्यता रह्यो । २००७ साल वरपर कांग्रेस नयाँ शक्ति थियो । त्यसपछि एमाले नयाँ शक्तिको रूपमा आयो । त्यसपछि माओवादी नयाँ शक्तिको रूपमा आयो । तर, युग बदलियो । ती नयाँ शक्तिहरूले राजतन्त्र अन्त्य गर्ने मूलभूत रूपमा एकात्मक शासन अन्त्य गरी संघीयता निर्माण गर्ने काममा योगदान पु¥यायो । अबको चरण भनेको आर्थिक समृद्धिको चरण हो । यसका निम्ति पुराना पार्टीहरूबाट सम्भव थिएन । त्यसैले, नयाँ चिन्तन, सोच, दृष्टिकोण र समाजको विकासको आवश्यकता अनुकूलको पार्टी वैकल्पिक राजनीतिक पार्टी भएका कारणले हाम्रो पार्टीको नाम नयाँ शक्ति नेपाल राखेका हौं । यो पार्टीमा आबद्ध व्यक्तिको अनुहार पुरानो भएपनि चिन्तन, कार्यक्रम, दृष्टिकोण र काम गर्ने शैली नयाँ छ ।

 

० नेपाल र भारत बीचको सम्बन्धलाई कसरी हेर्नुभएको छ ? 

— आजसम्मको नेपालको राजनीतिले भारतका विरूद्ध चीनलाई उभ्याउने र चीनका विरूद्ध भारतलाई उभ्याउने गरेको छ । एउटाको विरोध गर्ने अर्काको दलाली गर्ने नेपालको राजनीतिको पहिचान बन्न पुगेको थियो । त्यहीं नकारात्मक पहिचानका कारणले गर्दा मुलुक पछाडि प¥यो । नयाँ शक्ति पार्टी अब एकअर्काको विरूद्ध आरोप÷प्रत्यारोप गर्ने खालको कुटनीति काम लाग्दैन । दुई छिमेकीहरूको बीचको गतिशील पुल बन्नुपर्छ । हामीले दुईवटा ठूला देशको बीचमा बसेर लाभ लिनसक्नुपर्छ ।

(मधेशवाणीका लागि अजय साह शिवालीले गरेको कुराकानीको सम्पादित अंश ।) प्रकाशित मिति : २०७३ साल असार २४ गते शुक्रबार ।

Read 429 times

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012