You are here: Homeअन्तरवार्ताअन्तरवार्ताखुला–दिसा : समस्या र सामाधान-रितेश त्रिपाठी

खुला–दिसा : समस्या र सामाधान-रितेश त्रिपाठी

Written by  Published in अन्तरवार्ता Thursday, 16 June 2016 13:33
Rate this item
(0 votes)

आधुनिकता र विकासको क्रममा नयाँ प्रविधिहरूको खोजी र आर्थिक उन्नतिको दौडमा संसारका धेरै देशहरू लागिरहेको बेला नेपालजस्तो देश अझ खुला ठाउँमा दिसापिसाब गर्नुहुन्न भन्ने बुझाइ स्थापित गराउनमैंं हैरान छ। समाजको ठूलो हिस्सालाई यस्तो बुझाइ गराउन बाँकी रहेको तथ्याङक छ। नेपालमा खुला दिसामुक्तको नारा भन्न, लेख्न र प्रचार गर्न किन जरुरी भएको हो ?

    घरमा चर्पी छ कि छैन ? गाउँटोल खुला दिसामुक्त क्षेत्र घोषणा भयो कि भएन ? घरघरमा खानेपानीको सुविधा छ कि छैन ? घरधुरीले नेपाल सरकारको गुणस्तर मापदण्ड अनुसार पानी पिउँछन् कि पिउँदैनन् ? दिसा गरेपछि, फोहोर छोएपछि वा खाना खानुअघि साबुन पानीले हात धुने बानी छ कि छैन ? घरपरिवारमा सरसफाइ सम्बन्धी कुरा गर्नुहुन्छ कि हुन्न ? जस्ता प्रश्नहरू ठूलो जनसङ्ख्याको लागि आजको दिनमा अझ पनि सान्दर्भिक छ। यसो भइरह्नु हाम्रो समाजको पछौटेपनको सूचक हो। बाध्यता यो छ कि यस अवस्थाबाट मुक्तिको लागि यी प्रश्नहरू बारम्बार र बढीभन्दा बढी नगरी हुँदैन। घरघरमा चर्पी नभएर नेपालमा अझै पनि हैजा, झाडा, बान्ता, पखाला र अरू सरुवा रोगहरू लागेर मानिसहरू मर्ने गरेका छन्। तराईका जिल्लाहरूमा तुलनात्मकरूपमा निकै बढी यस्तो चेतना र बानी–बेहाराको अभाव छ। गाउँ पस्ने मुहान र निस्कने निकासमैं मानव मल लहरै देख्दा दिक्क लाग्छ। महिलाहरूले खुला ठाउँमा दिसापिसाब गर्नुपर्ने दुरवस्था छ। यो उनीहरूलाई कति अप्ठ्यारो अवस्था हो बुझ्नुपर्ने कुरा हो। स्वस्थ, सभ्य र समुन्नत समाज निर्माणका लागि खुला दिसामुक्त समाज निर्माणमा सरकारी, गैरसरकारी र अन्तर्राष्ट्रिय सङ्घ–संस्थाहरू लागेका छन् ।

खुला दिसामुक्त भनेको के हो ?

    मान्छे वा गाईवस्तुद्वारा उत्सर्जित फोहरको सन्सर्गबाट पिउने पानी र आहार सुरक्षित राख्नुपर्छ भन्ने स्वास्थ्य विज्ञानको मान्यता हो र त्यहींबाट स्वस्थ मात्र होइन, उन्नत समाज तथा देश निर्माणको अग्रसरता शुरु हुन्छ। सरसफाइ गुरु योजना २०११ का अनुसार ‘खुला दिसामुक्त’ भन्नाले खुला ठाउँमा दिसा नगर्ने अवस्थालाई बुझिन्छ। दिसामा झिँगा बस्न नसक्ने गरी व्यवस्थापन गर्ने अवस्थामालाई पनि यसले जनाउँछ। खाल्डोमा ढाकेर अर्थात् चर्पीमा त्यस्तो व्यवस्थापन गर्ने हो। खुला दिसामुक्त अवस्थाले पानी सिर्जित रोगहरू जस्तै: जटिल श्वासप्रश्वास सङ्क्रमण 

(एआरआई), झाडापखाला, हैजा, टाइफाइड, हेपाटाइटिस र परजीवीको सङ्क्रमण लाग्नेजस्ता थुप्रै समस्याबाट छुटकारा पाइन्छ। यी समस्या हाम्रा गाउँघरमा सबैले भोगेका छन्। खुलादिसा समस्या साधारण रहेन छ। एउटा चर्पी नहुँदा, हरेक वर्ष नेपालमा पाँच वर्षभन्दा मुनिका १० हजार ५ सय बालबालिकाको औसतमा हरेक दिन २९ जना बालबालिकाको मृत्यु भइरहेको तथ्याङक छ।

    हालसम्म नेपालमा खुला दिसामुक्त (ओडिएफ) घोषणा भएका कास्की, चितवन, तनहुँ, म्याग्दी, प्युठान, पर्वत, अछाम, कालिकोट र मकवानपुरजस्ता जिल्लाहरू छन्। पहिलो खुला दिसामुक्त क्षेत्र घोषणा २०६८ साल असार १० गते कास्की जिल्ला भएको थियो। अरू जिल्लाहरूमा पनि प्रयास जारी छ। मध्य तराईका पर्सा, बारा र रौतहट प्रत्येक जिल्लामा दर्जन जति गाविसहरू खुला दिसामुक्त भएको अवस्था छ।

    सन् २०१७ सम्म नेपाललाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य अझै पनि चुनौतीपूर्ण देखिएको सरोकारवाला निकायहरूको भनाइ छ। ती चुनौतीलाई कम गर्न आम जनसमुदायले खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियानमा अपनत्व भावले साथ, समर्थन र सहयोग दिनुपर्ने हुन्छ। यसमा संलग्न हुनेहरूमा स्थानीय सबै निकाय, सरकारी निकाय, गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू प्रत्यक्षरूपमा सहयोग गर्ने तथा विभिन्न सामाजिक सङ्घ–संस्था, राजनैतिक दल, विद्यालय तथा स्थानीय जनताको भूमिका महत्त्वपूर्ण रहेको छ।

खुला दिशामुक्त क्षेत्र घोषणा कसरी गरिन्छ ?

    शहर वा गाविसमा रहेका सबै घरमा अनिवार्यरूपमा शौचालयको सुविधा भएको हुनुपर्छ। सरसफाइ गुरुयोजना २०११ मा समेत यो उल्लेख गरिएको छ । राष्ट्रिय सरसफाइ गुरुयोजना २०११ अनुसार केन्द्रदेखि जिल्ला हुँदै गाविस स्तरसम्म विभिन्न तहमा सरसफाइ समन्वय समिति गठन भएका हुन्छन्। गाउँस्तरमा गाविस अध्यक्ष (हाललाई सचिव) को अध्यक्षतामा गाविसस्तरीय खानेपानी तथा सरसंफाइ समन्वय समिति गठन भएको हुन्छ। यस समितिले आफ्नो गाविसभित्र सञ्चालन हुने खानेपानी तथा सरसंफाइको लागि समन्वय गरेर कार्यक्रम सञ्चालन गर्दछ। हरेक घरमा मापदण्ड अनुसार चर्पी निर्माण गरिसकेपछि सम्बन्धित टोल, वार्ड र गाविसलाई ‘खुला दिसामुक्त’ घोषणा गरिन्छ। यसको लागि जिल्लास्तरमा समन्वय गर्न समिति सक्रिय छ। सबै स्थानीय निकायहरू यस कार्यको लागि जिम्मेवार हुन्छन्। जिल्ला विकास समिति उनीहरूको नियमन र नेतृत्व गर्ने निकाय हो। त्यसतै खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्रमुख सरकारी एजेन्सी हो। यस महत्त्वपूर्ण र जनहितकारी कार्यमा सघाउन युएन हेबिटाट, युनिसेफ, ग्लोबल सेनिटेशन फन्ड, रेडक्रस सोसाइटीजस्ता अन्तर्राष्ट्रिय संस्थाहरू लागिपरेका छन्। यद्यपि पर्सा जिल्लामा यस अभियानमा लागेका संस्थाहरूप्रति आलोचनात्मक टिप्पणीहरू निकै आउने गरेको छ। तर यो काम हाम्रो आफ्नो लागि हो। यसबाट लाभ हामीलाई छ भन्ने मानसिकताले सबै मिलेर यसलाई सफल बनाऊँ। हाम्रो गाउँ, शहर, मधेस तराई वा देशमा अब फोहोरको कारण मानिसहरूले ज्यान गुमाउने अवस्थाबाट माथि उठ्न जरुरी छ।

Read 439 times

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012