You are here: Homeअन्तरवार्ताअन्तरवार्ता सरकारी नीति ठीक भए प्लाष्टिक उद्योगले निकासी गर्न सक्छ दीपककुमार टिबडेवाल प्रबन्ध निर्देशक, पैकवेल इण्डष्ट्रिज

सरकारी नीति ठीक भए प्लाष्टिक उद्योगले निकासी गर्न सक्छ दीपककुमार टिबडेवाल प्रबन्ध निर्देशक, पैकवेल इण्डष्ट्रिज

Written by  Published in अन्तरवार्ता Tuesday, 31 May 2016 12:39
Rate this item
(0 votes)

वीरगञ्जको पैकवेल इण्डष्ट्रिजका प्रबन्ध निर्देशक दीपककुमार टिबडेवाल विगत लामो समयदेखि घरायसी प्रयोजनका प्लाष्टिकका सामान उत्पादनमा सक्रिय छन् । नेपालमा प्लाष्टिक उद्योगको अधिक सम्भाव्यता भए पनि अदूरदर्शी सरकारी नीतिका कारण सम्भावना उपयोग गर्न नसकिएको प्रबन्ध निर्देशक टिबडेवालको बुझाइ छ । प्रस्तुत छ, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका सचिवसमेत रहेका उनिसँग प्लाष्टिक उद्योगको अवस्था, समस्या र समाधानका उपायबारे आर्थिक  गरेको संवाद :

 

अहिले प्लाष्टिक उद्योगको अवस्था कस्तो छ?

हिजोआज घरायसी प्रयोजनका भाँडाकुँडादेखि फर्निचरसम्म प्लाष्टिकका उत्पादनको प्रयोग हुने गरेको छ । यसले गर्दा स्वाभाविक रूपमा यो उद्योगको बजार सम्भाव्यता राम्रो देखिन्छ । नेपालमा १० ओटा ठूलासमेत गरी ५ दजर्नको हाराहारीमा प्लाष्टिकका सामान बनाउने उद्योग सञ्चालनमा छन् । यी उद्योगले लक्षित उपभोक्तालाई आआफ्नो उत्पादन आपूर्ति गरिरहेका छन् । तर, यो सम्भावनालाई अधिकतम सदुपयोग गर्ने सन्दर्भमा कतिपय सरकारी नीति नियम अवरोधका रूपमा देखिएका छन् ।

 

समस्याका कुरा उठाउनु भयो, कस्ता समस्या सामाना गर्नुभएको छ?

सबैभन्दा पहिला त विद्युत्कै समस्या छ । विद्युत् सबै उद्योगको साझा समस्या हो । प्लाष्टिक उद्योगलाई बढी विद्युत् आवश्यक पर्छ । उद्योगमा दिनको ८ घण्टा पनि नियमित र गुणस्तरीय विद्युत् आपूर्ति हुँदैन ।

 

यसले गर्दा उत्पादनका क्रममा कच्चा पदार्थ खेर जाने, उपकरण बिग्रिनेजस्ता समस्या भोग्नुपरेको छ । ऊर्जा अभावमा क्षमताअनुसार उत्पादन गर्न सकिएको छैन । उत्पादकत्वमा पनि असर परेको छ । विद्युत्को नियमित आपूर्ति हुन नसक्नु मुख्य समस्या बनेको छ ।

 

सरकारी नीतिले पनि समस्या पार्‍यो भन्नुभयो, प्लाष्टिक उद्योगका लागि सरकारको नीति कस्तो पाउनुभयो?

कुनै पनि उद्योगको उन्नतिका लागि सरकारी नीति उद्योगमैत्री हुनुपर्दछ । तर, प्लाष्टिक उद्योगका सन्दर्भमा सरकारको नीति ठीक छैन । छिमेकी देशमा प्लाष्टिक उद्योगको कच्चा पदार्थमा शून्य भन्सारको सुविधा छ । चीन र बङ्गलादेशमा शून्य भन्सार छ । भारतमा भ्याट र भन्सार महशुल अत्यन्तै न्यून छ । त्यहाँ भ्याट ८ प्रतिशतमात्रै छ ।

तर, हामीकहा“ कच्चा पदार्थको आयातमा साढे ७ प्रतिशत भन्सार र १३ प्रतिशत मूल्यअभिवृद्धि कर राखिएको छ । त्यसमाथि सरकारले गतवर्षदेखि उत्पादनमा ५ प्रतिशत अन्तःशुल्क लगाएको छ । यसले बजार प्रतिस्पर्धामा अत्यन्त कठिनाइ थपिएको छ ।

 

आयातित उत्पादनसितको प्रतिस्पर्धा कस्तो छ?

भारत, चीन र बङ्गलादेशबाट भित्रिएका मालसामानसित चर्को प्रतिस्पर्धा रहेको छ । ती देशमा कच्चा पदार्थको आयातमा भन्सार सहुलित र अन्य प्रोत्साहनका कारण उत्पादन लागत कम पर्छ । पछिल्लो समय बङ्गलादेशबाट प्लाष्टिकका उत्पादन आयात हुने क्रम तीव्ररूपमा बढेको छ । त्यहाँका उद्योगले विशेष आर्थिक क्षेत्रको सहुलियत उपयोग गरी कम लगातमै उत्पादन गरेका कारण हाम्रो बजारमा आइपुग्दासमेत मूल्य कम पर्न जान्छ । यी कारणले गर्दा स्वदेशी उद्योगलाई आयातित उत्पादनसित प्रतिस्पर्धा गर्न सहज छैन ।

 

कस्तो खालको नीतिगत व्यवस्थाको अपेक्षा गर्नुभएको हो?

अन्य छिमेकी देशहरूले जस्तै हामीकहाँ पनि कच्चा पदार्थको आयातमा शून्य भन्सार सुविधा दिनुपर्दछ । सरकारले प्लाष्टिक झोलाको प्रयोग निरुत्साहित गर्न भनेर त्यस्ता उद्योगमा ३ वर्षदेखि अन्तःशुल्क लगाएको छ । तर, चालू वर्षदेखि प्लाष्टिकका अन्य उत्पादनमा पनि यो कर लगाएको छ । जुन व्यावहारिक छैन । अहिले प्लाष्टिकका सामान जनजीवनको अभिन्न अङ्गजस्तै भइसकेको छ । प्लाष्टिकका झोलाको त विकल्प हुन सक्छ । तर, अन्य सामानको सहज र सुपथ विकल्प के छ ? यसकारण यो नीति नै गलत छ । प्लाष्टिकका उत्पादनमा लागू गरिएको अन्तःशुल्क खारेज हुनुपर्छ । कच्चा पदार्थ उद्योगले मात्र आयात गर्ने व्यवस्था हुनुपर्दछ । व्यापारिक संस्थाले कच्चा पदार्थ आयात गर्दा उद्योगलाई समस्या परेको छ ।

 

निकासीको सम्भावना कत्तिको देख्नुभएको छ?

अहिले स्वदेशी बजारको करीब ६५ प्रतिशत आपूर्ति यहाँका उद्योगहरूबाट भइरहेको छ । बाँकी बजार अंश आयातित उत्पादनले लिएको छ । छिमेकी देशमा प्लाष्टिक उद्योगलाई जसरी सहुलियत दिइएको छ, त्यो प्रोत्साहन हामीले पाउने हो भने स्वदेशी बजारको बाँकी अंश पनि ओगट्न सकिन्छ । ऊर्जाको नियमित प्रबन्ध र नीतिगत प्रोत्साहन पाए स्वदेशी उद्योगले पनि छिमेकी देशमा निकासी गर्न नसक्ने भन्ने हुँदैन । यसका लागि स्वदेशी उद्योगलाई अघि बढाउने विषयमा सरकार गम्भीर हुनु अनिवार्य छ । अभियानबाट

Read 624 times Last modified on Tuesday, 31 May 2016 15:07

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012