You are here: Homeअन्तरवार्ताअन्तरवार्तास्वदेशी उद्योगलाई प्रोत्साहन हुने गरी कर र राजस्वका प्रावधान परिवर्तन गर्नुपर्छ,रवीन्द्रकुमार बरनवाल

स्वदेशी उद्योगलाई प्रोत्साहन हुने गरी कर र राजस्वका प्रावधान परिवर्तन गर्नुपर्छ,रवीन्द्रकुमार बरनवाल

Written by  Published in अन्तरवार्ता Sunday, 08 May 2016 12:08
Rate this item
(0 votes)

रवीन्द्रकुमार बरनवाल वीरगञ्जको प्रिण्टो प्याक इण्डष्ट्रिजका प्रबन्ध निर्देशक हुन् । नेपालमा प्याकेजिङ उद्योगको सम्भावना अधिक भएर पनि सरकारको नीतिगत कठिनाइका कारण यो उद्योगले अपेक्षित लाभ लिन नसकेको उनको बुझाइ छ । उनीसँग यो उद्योगका बारेमा निकै लामो अनुभव छ । प्रस्तुत छ, नेपालमा प्रिण्टिङ र प्याकेजिङ उद्योगका चुनौती र सम्भाव्यताबारे बरनवालसित  गरेको बजार संवाद :

 

नेपालमा प्रिण्टिङ र प्याकेजिङ उद्योगको अहिलेको अवस्थालाई कसरी लिनुभएको छ ?

प्रिण्टिङ र प्याकेजिङका उद्योग कुनै पनि उद्योगलाई आवश्यक पर्ने सहायक उत्पादनको आपूर्तिमा आधारित छन् । नयाँ उद्योगलाई अनिवार्यरूपमा सहायक उत्पादन चाहिने भएकाले यस्ता उद्योगको सम्भावना पनि छ । सबै खालमा उद्योगका लागि आवश्यक पर्ने प्याकेजिङ मेटेरियलदेखि प्रिण्टिङको काममा आधारित यी उद्योगले उद्योगको आवश्यकतअनुसारका सहायक उत्पादन आपूर्ति गरिरहेका छन् । अहिले नेपालमा यस्ता करीब एक दर्जनजति उद्योग सञ्चालनमा रहेका छन् । सबैभन्दा बढी पूर्वी नेपालमा खुलेका छन् ।

 

उद्योगले कस्ता समस्या सामना गर्नुपरिरहेको छ ?

नेपालमा प्याकेजिङ उद्योगले अपेक्षा गरेअनुसार बजार जमाउन सकेको छैन । स्वदेशी बजार आवश्यकताको केवल ४०/४५ प्रतिशत अंशमात्र हामीले आपूर्ति गरेका छौं । यसबाहेकका सामग्री भारतबाट आयात हुन्छ । औषधि उद्योग यसका मुख्य उपभोक्ता हुन सक्छन् । तर, सरकारी नीतिका कारण अधिकांश औषधि उत्पादक भारतबाट बट्टा आयात गर्छन् । औषधि उत्पादकलाई भारतबाट बट्टा आयातमा कच्चा पदार्थसरह भन्सार महशुलमा सहुलियत छ । १ प्रतिशतमात्र भन्सार तिर्छन् । त्यही वस्तु उत्पादनका लागि हामीले ल्याउने कच्चा पदार्थमा १५ प्रतिशत भन्सार महशुल र १३ प्रतिशत मूल्य अभिवृद्धिकर तिर्नुपर्छ । विक्रीमा मूल्य अभिवृद्धिकर लाग्छ । यसो भएपछि औषधि उद्योगलाई आपूर्तिको सम्भावना खेर गइरहेको छ । नेपालमा हामीले उत्पादन गरेको बट्टा प्रतिकिलो १ सय ६० देखि ३ सय ३० रुपैयाँसम्म पर्छ । तर, आयातित बट्टा १ सय ४४ देखि ३ सय रुपैयाँसम्ममा पाइन्छ । यो मूल्य अन्तरका कारण ठूलो बजार हिस्सा गुमिरहेको छ ।

 

भन्सार मूल्याङ्कनमा पनि समस्या छ भन्छन् नि ?

हो, हामीले सबै कच्चा पदार्थ भारतबाट आयात गर्छौं । भन्सार मूल्याङ्कनमा पनि समस्या छ । यो अत्यन्तै अव्यावहारिक छ । भारतीय बजारमा बट्टा गनेर किन्न पाइन्छ । भन्सारले भने प्रतिकेजी ७२ रुपैयाँ मूल्याङ्कन राखेको छ । यसरी किलोमा मूल्याङ्कन गर्दा उत्पादन लागत बढ्न जान्छ । सरकारको नीति गलत छ । कच्चा पदार्थका रूपमा प्रयोग हुने डुप्लेक्स, मसी र गमको गुणस्तरअनुसार मूल्य पनि फरक छ । यही मूल्यअन्तरका कारण औषधि उत्पादकले भारतबाटै बट्टा आयात गर्दै आएका छन् । नेपालका ४८ ओटा औषधि उद्योगले वर्षेनि कम्तीमा १ अर्ब रुपैयाँको बट्टा आयात गर्छन् । यस्ता उद्योगले स्थानीय बट्टा उपभोग गर्ने वातावरण बन्ने हो भने बजारमात्र विस्तार हुँदैन, प्रिण्टिङ र प्याकेजिङ उद्योगमा लगानी पनि थपिन्छ ।

 

त्यसो भए सरकारसँग यो उद्योगका अपेक्षा के हुन् ?

स्वदेशी उद्योगलाई जोगाउने दायित्व सरकारको हो । सरकार यसमा गम्भीर हुनु जरुरी छ । अव्यावहारिक नीतिका सम्बन्धमा कैयौंपटक ध्यानाकर्षण पनि गरायौं । सरकारले विगतमा केही उद्योगलाई मूल्य अभिवृद्धिकर फिर्ताको आश्वासन पनि दिएको थियो, तर अहिलेसम्म फिर्ता पाएका छैनन् । सरकार अहिले बजेटको तयारीमा लागेको छ । सुझाव सङ्कलनको काम पनि भइरहेको छ । कम्तीमा स्वदेशी उद्योगलाई प्रोत्साहन हुने गरी कर र राजस्वका प्रावधान परिवर्तन गर्नु जरुरी छ ।  

 

प्रिण्टो प्याक इण्डष्ट्रिजको विशेषता के हो ?

गुणस्तरीय प्याकेजिङ मेटेरियलको उत्पादन र छपाइ नै  हाम्रो मूल विशेषता हो । प्रिण्टो प्याकले अगरबत्ती, साबुन, औषधि, मसला, विभिन्न विद्युतीय सामाग्री, विषादीजस्ता उत्पादनका लागि चाहिने कागजका बट्टा उत्पादन गर्दै आएको छ । खाद्यान्न उत्पादन चामल र दालका ब्राण्डअनुसारका बोरा पनि छाप्ने काम हुन्छ । नेपालका विभिन्न स्थानमा खुलेका कापी उद्योगलाई आवश्यक पर्ने गाता पनि मागअनुसार तयार गर्छाैं । देशका मुख्य शहरमा हाम्रा उत्पादनको आपूर्ति भइरहेको छ । अरू उद्योगलाई चाहिने प्याकेजिङ मेटेरियल आपूर्ति गरिने हुनाले त्यस्ता उद्योगको आवश्यकताअनुसार उत्पादन पनि फरक हुन सक्दछ ।

Read 312 times

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012