You are here: Homeअन्तरवार्ताअन्तरवार्तापर्साको विकासमा स्थानियको साझेदारी हुन सकेन,विश्वप्रकाश अर्याल स्थानीय विकास अधिकारी, पर्सा

पर्साको विकासमा स्थानियको साझेदारी हुन सकेन,विश्वप्रकाश अर्याल स्थानीय विकास अधिकारी, पर्सा

Written by  Published in अन्तरवार्ता Sunday, 01 May 2016 13:31
Rate this item
(0 votes)

पर्सा आर्थिक र राजनीतिक दुवै दृष्टिले चर्चामा रहेर पनि समग्र विकासमा पछि परेको जिल्ला हो । औद्योगिक तथा व्यापारिक केन्द्र मानिएको वीरगञ्ज यसै जिल्लामा पर्दछ । यही आर्थिक केन्द्र पछिल्लोपटक तराई मधेश आन्दोलनका लागि पनि बढी प्रभावित भयो । जिल्लामा विकास निर्माणका योजनाहरूको समन्वयकारी निकाय जिल्ला विकास समितिले हालैमात्र आर्थिक वर्ष २०७३/७४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । यो अवस्थामा पर्सामा विकास निर्माणको अवस्था, समस्या र समाधानका विषयमा स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्यालस“ग पत्रकार ओमप्रकाश खनालले गरेको कुराकानी 

पर्सामा समग्र विकासको अवस्था कस्तो छ ?  

भौतिक, सामाजिक र आर्थिक विकासलाई सँगसँगै लैजाने उद्देश्य हो । पर्सा सूचकाङ्कमा पछि परेको जिल्ला मानिन्छ । स्वाभाविक रूपमा विकास निर्माणका योजनादेखि तिनको कार्यान्वयनको तहसम्म समस्या छन् । भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, र सामाजिक चेतनाजस्ता अत्यावश्यक  क्षेत्रमा अपेक्षित विकास हुन सकेको छैन । पर्सामा हामीले धेरै काम गर्‍यौं, तर जनताको चेतनाको स्तर माथि उठाउन सकिएन । यो समग्र तराईकै समस्या हो । स्थानीय  समुदायले विकासलाई आत्मसात् गर्ने वातावरण नै बन्न सकेन । योजना तर्जुमादेखि त्यसको कार्यान्वयनसम्ममा समुदायको सक्रियता, योगदान, लागत साझेदारीका कुरामा जागरुकता आउन सकेको छैन ।

विकासमा स्थानीयको सहभागिता अभिवृद्धिका कार्यक्रम चाहिँं कस्ता छन् ?

विकासमा सरोकारवालाको साझेदारीका लागि सामाजिक परिचालनलाई सशक्त ढङ्गबाट अगाडि बढाउनुपर्ने देखिन्छ । आगामी वर्षका लागि विकासलाई आत्मसात् गर्ने र स्वलगानीको वातावरण बनाउन सहयोग पुग्ने खालका कार्यक्रम ल्याइएका छन् । विगतमा पनि यस्ता कार्यक्रम नआएका भने होइनन् । तर, कार्यान्वयन प्रभावकारी थिएन । सबै निकायले आआफ्ना कार्यक्रम लिएर जाँदा एकले अर्कोलाई सहयोग र समन्वयको वातावरण बनेन । ग्रामीणस्तरमा प्रभाव पुग्न सकेन । आगामी वर्ष यस्ता कार्यक्रमलाई प्रभावकारी बनाउने तयारी छ । यसका निम्ति अहिलेदेखि नै गृहकार्य भइरहेको छ ।

पर्सामा विकासका प्राथमिकता के–के हुन् ?

आगामी वर्ष २०७३/७४ को बजेट भौतिक, सामाजिक र आर्थिक विकासमा केन्द्रित गरेका छौं । भौतिक पूर्वाधारमा सडक निर्माणको माग अत्यधिक पाइयो । सीमित स्रोत समस्याका रूपमा देखिएको छ । जिल्लाका यातायातको योजनामा परेका सडकलाई प्राथमिकताका साथ अगाडि बढाएका छौं । सामाजिक विकासतर्फ शिक्षा, स्वास्थ्य र सरसफाइ नै मुख्य हुन् । सरकारले २०१७ भित्र राष्ट्रलाई नै खुला दिशामुक्त बनाउने लक्ष्यअनुसार पर्सामा पनि काम अघि बढाइएको छ । पूर्ण खोप सुनिश्चित गराउने, वातावरणमैत्री, पूर्ण साक्षरताजस्ता अभियान पनि छन् । यसमा समुदायको उच्चतम परिचालन जुटाउने गरी नीति तय भएको छ । आर्थिक विकासमा सम्भावनाहरूको अधिक उपयोगमा ध्यान दिइएको छ । ग्रामीण क्षेत्रमा कृषिको सम्भावना बढी छ । पशुपालन र धान उत्पादनमा उत्पादकत्व वृद्धिलाई जोड दिएका छौं । पशुपालनको पकेट क्षेत्र पहिचान र सहयोगको वातावरण निर्माणलाई प्राथमिकतामा राखिएको छ ।

यस्ता लक्ष्यलाई समेट्ने योजनाहरू के–कस्ता छन् ?

जिविस र सरोकारका अन्य कार्यालयको सहकार्यमा योजना बनाइएका छन् । कृषि विकास कार्यालय, पशुसेवा कार्यालय, खानेपानी तथा सरसफाइ कार्यालय, शिक्षा कार्यालय र गैरसरकारी संस्थाहरूले पनि यसमा काम गरिरहेका छन् । जिल्लाको विकासमा काम गर्ने निकाय र सङ्घसंस्थाहरू एकबद्ध भएर जानुपर्छ । ‘डिष्ट्रिक्ट रोड कोर नेटवर्क’अन्तर्गत गाउँदेखि सदरमुकामसम्म बाह्रै महीना यातायात सुचारु गर्न सकिने गरी सडक स्तरोन्नति गर्ने लक्ष्य छ । यस्ता सडक २३ ओटा छन् । ती सडकमा लगानी गर्न सकियो भने ५ वर्षमा सबैलाई पक्की बनाउन सकिन्छ । राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमबाट केही ठूला सडक स्तरोन्नतिको काम भइरहेको छ । पर्साका जनता सडक, आत्मरामपथ पोखरिया–लङगडी–भिस्वा सडक, रामगढवा–जगरनाथपुर–मिलनचोक सडक, धोरे–सोनवर्षा सडक,  पदम रोड, जानकीटोला–भिस्वा सडकलगायत १० सडकमा काम भइरहेको छ । यी सडकमा ग्राभेल भइसकेकाले तत्कालै पक्की गर्न सकिन्छ ।

गाविसहरूको अधिकांश बजेट शौचालय निर्माणमा सकिएको छ । तर, पर्सामा खुला दिशामुक्त अभियान सन्तोषजक छैन नि, किन ?

अहिलेसम्म पर्साका १० ओटा गाविस खुला दिशामुक्त भइसकेका छन् । हामीले २०७३ चैतभित्र जिल्लालाई खुला दिशामुक्त बनाउने लक्ष्य राखेका छौं । यो सामाजिक अभियान हो । तर, शौचालय पनि सरकारले बनाइदिनुपर्छ भन्ने स्थानीयको अपेक्षाले समस्या भएको छ । गाविसमा जाने सबैजसो रकम शौचालय निर्माणमा प्रयोग भएको पाइयो । अति विपन्नलाई मात्र केही सहयोग गर्नुपर्छ भन्ने हो । तर, सक्षमले पनि दुरुपयोग गरेको पाइयो । यसरी गाविसको स्रोतले धान्दैन । कतिपय ठाउँमा अनुदान लिएर दुरुपयोग गरेको पनि देखियो । शौचालय बनाए पनि अपनत्व नलिएको अवस्था छ । अपनत्व जगाउन पनि अनुदान रोक्नुपर्दछ । शौचालय बासिन्दा आफैले निर्माण गर्नुपर्दछ । यो निर्देशन गाविसमा गइसकेको छ । अब शौचालयमा बजेट छुट्याए निकासा रोकिन्छ । अति विपन्नहरूको लगत सङ्कलन गर्ने र आफै गर्न सक्नेलाई उत्प्रेरित गर्ने खालको कार्यक्रमका लागि सरसफाइमा काम गर्ने सङ्घसंस्थाहरूसित समन्वय भइरहेको छ । अनुदानलाई निरुत्साहित गर्ने नीति परिषद्ले पास गरिसकेको छ । त्यो नभए २०१७ सम्ममा खुला दिशामुक्तको लक्ष्य पूरा हुँदैन । पर्सामा ४६ हजार घरधुरीमा अझै शौचालय निर्माण भएको छैन । अहिलेको लगानीको अवस्थालाई हेर्दा १५ करोड अझै चाहिन्छ । यो पर्साका गाविसको २ वर्षको बजेट हो ।

पर्सा तराई–मधेश आन्दोलनको पनि केन्द्र बन्यो । यसबाट विकास निर्माण कत्तिको प्रभावित भएको छ ?

मधेश आन्दोलनका कारण विकास निर्माणका काम अघि बढाउन सकिएन । पूँजीगत खर्च त भएकै छैन भन्दा पनि हुन्छ । चालू वर्षमा १५÷२० लाख रुपैयाँभन्दा बढी खर्च भएको छैन । अहिलेसम्म विकास निर्माणका कुनै पनि काम अघि बढ्न सकेनन् । करीब ४ प्रतिशतमात्र पूँजीगत खर्च भएको छ । पुसमा हुनुपर्ने जिल्ला परिषद् फागुनको अन्तिममा भयो । निर्वाचन क्षेत्र विकास कार्यक्रमको भर्खरै योजना छनोट भएको छ । विकासका कुनै पनि कार्यक्रम सञ्चालन हुन सकेनन् ।

स्थानीय  निकायमा जनप्रतिनिधि नहुँदाका समस्या कस्ता छन् ?

पक्कै पनि समस्या छ । जनप्रतिनिधि नहुँदा योजना छनोटमै समस्या देखियो । माग सृजना गर्न र आवश्यकता पहिचानमै कठिनाइ भयो । योजना नै राम्रो नबनेपछि त्यहाँबाट समस्या शुरू भयो । यसैमा कार्यान्वयन र सफलताका कुरा जोडिएका हुन्छन् । जनताका प्रतिनिधि भइदिएको भए यस्तो समस्या आउने थिएन ।

Read 311 times Last modified on Sunday, 01 May 2016 13:48

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012