You are here: Homeअन्तरवार्ताअन्तरवार्तामधेशमा दुई प्रदेश उपयुक्त, जनताको भावना बुझेर सीमाङ्कन गर्नुपर्छ : सीतादेवी

मधेशमा दुई प्रदेश उपयुक्त, जनताको भावना बुझेर सीमाङ्कन गर्नुपर्छ : सीतादेवी

Written by  Published in अन्तरवार्ता Tuesday, 12 April 2016 15:18
Rate this item
(1 Vote)

- सितादेवी यादव, कोषाध्यक्ष, नेपाली कांग्रेस

० तपाईंले प्रभावशाली नेतृ चित्रलेखा यादवलाई हराएर नेपाली कांग्रेसको कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ । कस्तो महसुस गरिरहनुभएको छ ?

- यो विजयी समग्र कांग्रेसीको हो । मलाई विजयी बनाएकोमा साथीहरूलाई जति धन्यवाद दिए पनि त्यो कमै हुन्छ । म कांग्रेसजनको भरोसा र विश्वासलाई टुट्न दिन्न । यो जितलाई शहीदको सम्मानका रूपमा लिएकी छु । इमान्दारिताको कदर हो । आगामी दिनमा सबैलाई सम्मान गर्दै आफ्नो काम र कर्तव्य पूरा गर्नेछु ।

० तपाईंको सभापति अर्कै प्यालनको हुँदा कार्यसम्पादनमा समस्या हुँदैन ?

- मलाई कुनै प्यानलको भन्दा पनि कांग्रेस महाधिवेशन प्रतिनिधिको भोट आएको हो । र, अर्को कुरा म प्यानलमा विश्वास गर्दिन । चुनावमा प्यानल देखिनु स्वभाविक हो । चुनाव सकिएसँगै प्यानलको अन्त्य भयो । अब कांग्रेस एकढिक्का भएर अघि बढ्छ । र, काम गर्न प्यानलको भूमिका हुँदैन । सबैलाई महत्व दिने प्रयास गर्नेछु । म सबैसँग मिलेर काम गर्नेछु ।

० यस पटक पनि नेपाली कांग्रेसको कार्यसमितिमा न्यून मधेशी चुनिएका छन् । यसको कारण के होला ?

- नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी हो । प्रजातान्त्रिक प्रक्रियाबाट छनौट हुने व्यक्ति निर्वाचित हुन्छ । चुनाव भएपछि यसमा बढी मत पाउने व्यक्ति त निर्वाचित हुन्छ नि । मधेशीहरू कम निर्वाचित हुनु संयोग मात्र हो । मधेशीलाई कम निर्वाचित हुन दिने कांग्रेसको नीति छैन । हामी लोकतन्त्रमा विश्वास गर्ने मानिस हौं ।

० मधेशीहरू सक्षम छैनन् त ?

- होइन–होइन, त्यस्तो होइन । मधेशीहरू सक्षम छन् । तर, प्रतिस्पर्धामा जित र हार हुनु स्वभाविक हो नि । पराजित हुनेहरू असक्षम भनेर भन्न मिल्दैन । तर, चुनावमा मत जसले बढी पाउँछ, उसलै जित्ने हुन् ।

० खुलातर्फ प्रदेश नम्बर दुई जहाँ ९० प्रतिशत मधेशीको वाहुल्य छ, त्यो प्रदेशबाट समेत दुवै जना गैरमधेशी नै जितेका छन् । के भन्नुहुन्छ ?

- प्रदेशतर्फका केन्द्रीय सदस्य भए पनि उहाँहरूले मत देशभरबाट पाएर उनीहरूले जितेका हुन् । कसलाई जिताउने भन्ने कुरा स्थानीयस्तरबाटै चुनिएर आएका प्रतिनिधिको हातमा थियो । प्रजातान्त्रिक अभ्यासमा जो बढी मत पाउँछन् उही जित्छन् । उहाँहरू पनि आफ्नो मिहिनेतले जितेका हुन् । पार्टी र देशमा उहाँहरूको धेरै योगदान छ, त्यही भएर महाधिवेशन प्रतिनिधिले विश्वास गरेको हुनुपर्छ ।

० भनेपछि, प्रदेशतर्फबाट पराजित भएका दुई जना मधेशीले देशभरका जनप्रतिनिधिबाट मत नपाएको मान्नुहुन्छ ?

- हुन सक्छ । उनीहरूले देशभरका प्रतिनिधिसम्म आफ्नो प्रभाव देखाउन सक्नु भएन । त्यो आफ्नो खुबीको कुरा हो नि ।

० कोषाध्यक्ष पदकै कुरा गर्ने हो भने, त्यसमा पनि चार जना उम्मेदवार थिए । जसमा तीन जना मधेशीलाई नै जुधाइएको थियो । यसमा के भन्नुहुन्छ ?

- नेपाली कांग्रेसले कोषाध्यक्ष पद मधेशीलाई पहिलादेखि नै दिँदै आएको छ । नियोजित रूपमा मधेशीहरूलाई यो पदमा भिडाइएको भने होइन । सबैका आ–आफ्नो प्यानल थियो । र, संयोगवस यो पदका लागि प्यानलहरूबाट मधेशीहरू नै बढी उम्मेदवार बने ।

० मधेशीहरू सभापतिका लागि योग्न छैनन् ?

- कोषाध्यक्ष पनि ठूलो पद हो नि । पदाधिकारीका मुख्य तीनमध्ये एक मधेशीले पाएका छन् । मधेशीले आफ्नो सक्षमता बढाउँदै लगेपछि एक दिन सभापति पनि बन्न सक्छन् नि । त्यो त आफ्नो प्रभाव र खुबीको कुरा हो नि ।

० मधेशीहरू सभापति र महामन्त्रीमा किन उम्मेदवारी दिएनन् होला ?

- त्यो त उनीहरूको कुरा हो । उम्मेदवारी दिनका लागि कसैले रोकेको थिएन । जित्ने सम्भावना छ कि छैन भनेर आंकलन गरेर पनि उनीहरूले उम्मेदवारी नदिएको हुन सक्छ ।

० सक्षम मधेशीहरू उच्च पदमा आउन नचाहेका हुन् कि उनीहरूलाई अवरोध पु-याइन्छ ?

- म त पहिला पदाधिकारीबाट बाहिर थिएँ । अब पार्टीको मुख्य जिम्मेवार पदाधिकारीमा चुनिएकी छु । पार्टीभित्रको कुरा के छ भन्ने कुरा अब थाहा पाउँछु । तर, कांग्रेसका सक्षम मधेशी नेताहरू विभिन्न समयमा पार्टीका मुख्य जिम्मेवारी सम्हालिसकेका छन् ।

० नेपाली कांग्रेसको नयाँ नेतृत्वले मधेश आन्दोलनलाई कसरी सम्बोधन गर्छन् त ?

- मधेशी जनताले नयाँ नेतृत्वमाथि एकदमै आश गरेका छन् । संविधान कार्यान्वयन र मधेश आन्दोलनका समस्या पहिलो प्राथमिकतामा रहने कुरा पनि पार्टी सभापति शेरबहादुर देउवाले भनिसक्नुभएको छ । कांग्रेसको आधार क्षेत्र नै मधेश हो, त्यसैले मधेश र मधेशीविरुद्ध कांग्रेस कहिल्यै गएको छैन । मधेश र मधेशीको हकका लागि कांग्रेस लड्दै आएको छ ।

० मधेश आन्दोलनका मागका विषयमा तपाईंको धारण के छ ?

- मधेश आन्दोलनका माग जायज छन्, यी माग सम्बोधनका लागि म प्रयास गर्दै आएको छु । केही माग सम्बोधन भइसकेका छन् । केही माग सम्बोधनको चरणमा छ । त्यसैले जनताका जायज माग प्रति कांग्रेस गम्भीर छ ।

० मधेशमा दुई प्रदेशको विषयमा तपाईंको धारणा के छ ?

- मधेशमा दुई प्रदेश हुुनुपर्छ भनेर म पहिलादेखि नै भन्दै आएकी छु । झापादेखि पर्सासम्म र नवलपरासीदेखि कञ्चनपुरसम्म गरी दुई प्रदेश हुुनुपर्छ भन्ने मेरो पनि धारणा हो । मधेशमा दुई प्रदेश बनाउँदा कांग्रेसले आपत्ति जनाउनुपर्ने कुनै कारण छैन । मधेशी जनताको भावना बुझेर सीमाङ्कन गर्नुपर्छ । जनताको भावनाअनुसार संघीय प्रदेश बनाउनुपर्छ । कांग्रेसले नयाँ नेतृत्व पाएको छ । र, अब कांग्रेसले मधेशका एजेण्डाको विषयमा स्पष्ट धारणा सार्वजनिक गर्छ । तर, संविधानसभामा मधेशीको न्यून उपस्थितिका कारण त्यो माग कार्यान्वयन हुन सकेन । पार्टीमा पनि हामी त्यो हैसियतमा छैनौं, मधेशीको उपस्थिति कम छ, त्यसैले गर्दा पनि मधेशका माग सम्बोधनमा केही समस्या देखिएको हो ।

० त्यही त मधेशकेन्द्रित दलका साथै तपाईंहरूले पनि मधेशमा दुई प्रदेश हुनुपर्छ भनेर भनिरहनुभएको छ । तर, तपाईंका नेतृत्व किन यो माग पूरा गर्न नचाहेका होलान् ?

- हामीले जनमतको पनि कदर गर्नुपर्ने हुन्छ । संविधानसभा चुनावबाट चुनिएर आएकाहरूकै चाहनाबमोजिम नै संविधान बनेको हो । मधेशीको संख्या न्यून भएकै कारण उनीहरूका माग पूर्ण रूपमा सम्बोधन हुन नसकेको कुरा हामीले स्वीकार गर्नुपर्छ । मधेशको माग सम्बोधन गर्ने भन्दैगर्दा मधेशी मोर्चाले उठाएका सबै माग सम्बोधन गर्नुपर्छ भन्ने होइन । उनीहरूले जति कुरा भने त्यो सबै हुन सक्दैन । तर, मधेश कांग्रेसको हो, मधेशी मोर्चाको मात्रै होइन । त्यसैले कांग्रेसले मधेशलाई मिलाएर लैजान्छ । हुनत मधेशका माग सम्बोधन गर्न धेरै प्रयास भएका छन् । संविधानको पहिलो संशोधन भएको छ । सीमाङ्कनका विषयलाई सम्बोधन गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र गठन भएको छ । नयाँ संविधानले मधेशीलाई केही पनि नदिएको भन्न मिल्दैन । अरू छुटेका कुरा संविधान संशोधनमार्फत सम्बोधन गर्ने कुरामा हामी तत्पर छौं ।

० अब फेरि पनि मधेश आन्दोलन नहुन दिनका लागि कांग्रेस कसरी अगाडि बढ्नुपर्छ ?

- मधेश र कांग्रेसको नङ–मासुको सम्बन्ध छ । अधिकारका लागि अब कसैले पनि आन्दोलन गर्नु नपर्ने गरी कांग्रेसले सबैको भावना समेटेर अघि बढ्नुपर्छ । मलाई विश्वास छ, मधेशी जनताले अब आन्दोलन गर्नुपर्ने अवस्था कांग्रेसले आउन दिँदैन । पछिल्लो ६ महिनामा केही त्रुटि भएको हो । यो त्रुटिलाई आत्मसात गर्दै अब हामी एकढिक्का भई समृद्ध नेपालका लागि अघि बढ्नुपर्छ । मधेशी जनताका असन्तुष्टि सम्बोधन गर्दै अब मुलुकलाई विकासको बाटोमा लैजानुपर्छ । नेपाली जनताले पटक–पटक आन्दोलन गरे, तर स्थायित्व आउन सकेन । अब फेरि पनि मुलुकलाई संक्रमणकालमा धकेल्नु हुँदैन ।

(मधेशवाणीका लागि अजय साह शिवालीले गरेको कुराकानीको सम्पादित अंश)

Read 885 times

Leave a comment

 

 

« May 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        

                                                                                                     yatradaily Pvt.Ltd  -  www.yatradaily.com,

                                                                                              Birgunj, Ranighat - 14 , NEPAL,+977-9855020701

                                                                                                                            Chairperson

                                                                                                                              Ram Sarraf

                                                                                                      This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

        This website has been visited hit counter times from October 19, 2012