You are here: Homeअन्तरवार्ताअन्तरवार्ता४३ वर्ष काँग्रेसमा लागे तर मधेशी–थारुको भविष्य देखिनःसुरेन्द्र चौधरी

४३ वर्ष काँग्रेसमा लागे तर मधेशी–थारुको भविष्य देखिनःसुरेन्द्र चौधरी

Written by  Published in अन्तरवार्ता Friday, 25 March 2016 22:19
Rate this item
(2 votes)

सुरेन्द्र चौधरी सांसद(नेपाली काँग्रेसबाट राजिनामा दिएका)

० तपाईले अप्रत्याशित रूपमा कांग्रेसबाट किन राजीनामा दिनुभयो ?

— कुनैपनि कुरा अप्रत्याशित हुँदैन । यो संविधान निर्माण प्रक्रिया सुरू भएदेखि नै खासगरी संविधान घोषणाको पृष्ठभूमि जब बन्यो त्यो बेलादेखि नै म नेपाली कांग्रेसमा बस्दिन, छोड्छु भनेर सोचिसकेको थिए । अब नेपाली कांग्रेससँग मेरो प्राविधिक सम्बन्ध मात्र छ । यो पुरानो सोच भएको पार्टी हो । यो पार्टीले मुलुकको आकांक्षा अनुसारको परिणाम दिन सक्दैन । त्यसैले गर्दा यो पार्टीमा बस्नुको औचित्य नै देखिन ।

० तपाई ४३ वर्षसम्म नेपाली कांग्रेसमा रहनुभयो तर पछिल्लो समयमा आएर के असन्तुष्टि रह्यो त्यस्तो ?

— नेपाली कांग्रेस एउटा आफैंमा साम्प्रदायिक पार्टी हो । म ४३ वर्षदेखि नेपाली कांग्रेससँग आबद्ध छु । मेरो बुबा नेपाली कांग्रेसको मुक्ति सेनामा हुनुहुन्थ्यो । उहाँले सारा जीवन नेपाली कांग्रेसमा बिताउनुभयो र उहाँकै प्रेरणाले म नेपाली कांग्रेसमा लागे । करिब साढे सात वर्ष मैले जेल जीवन बिताएँ । एउटा खास जातिका मानिसहरूले नेपाली कांग्रेस पार्टीलाई कब्जा गरेका छन् । अरूको त्यहाँ कुनै स्थान नै छैन । हामी त भोट बैंक मात्र हौं जस्तो गर्ने अनि प्रयोग मात्र गर्ने । कहिलेकाँही आवश्यकता प¥यो भने अलि गुलियो कुरा गर्ने तर कहिले पनि निर्णायक भूमिकामा सामेल गराउन नखोज्ने यस्तो मलाई महसुस भएपछि नेपाली कांग्रेसमा हाम्रो भविष्य पनि छैन । यसमा नेपालको पनि भविष्य छैन भन्ने सोचेर म यो पार्टीबाट निस्किएँ ।

० नेपाली कांग्रेस साम्प्रदायिक पार्टी हो भनेर आरोप लगाइराख्नुभएको छ । कांग्रेसले मधेशबाट सबैभन्दा धेरै भोट पाउँछ तर पनि मधेशको समस्यामा त्यति ध्यान दिएको पाइदैन ? पटक–पटक मधेश आन्दोलन हुनुमा कांग्रेसको पनि दोष छ कि ?

— हामी सबै कुरालाई एउटै भाँडामा नराखौं । बरू नेपाली कांग्रेसका पुराना पार्टीहरूमा त्यस्तो अवस्था थिएन । तर, नयाँ पुस्ताका नेतृत्वमा यति धेरै साम्प्रदायिक भावना कांग्रेसमा हाबी भयो कि एउटा खास तहका मानिसहरू (बाहुन, क्षेत्री)को कब्जामा रह्यो र सुधार गर्न पनि केही सकिएन । कांग्रेसका नेतृत्वमा क्षमताको पनि अभाव रह्यो । आफ्नो प्रतिस्पर्धीलाई ईष्र्याको भावनाले हेर्ने र जसले दास प्रवृति देखाउँछ उनीहरूलाई मन पराउने सोच हाबी भयो । पटक–पटक मधेशमा आन्दोलन हुनुमा कतै न कतै देशको सबैभन्दा ठूलो पार्टी भएर सबैलाई मिलाएर लैजान नसक्नु कांग्रेसको कमजोरी नै हो ।

० अधिवेशनको समयमा जसरी तपाईले पार्टीबाट राजीनामा दिनुभयो । यो राजीनामालाई चुनाव, पदसँग पनि जोडिन थालिएको छ नि ?

— मैले सयौं अन्तवार्ता दिएको थिएँ, जसमा मैले पटक–पटक भनेको थिए । म नेपाली कांग्रेस छाड्दैछु भनेर । पदको कुनै समस्या होइन । यसपालिको महाधिवेशनमा मेरो विरूद्धमा जाली मतदाताको सूचीको प्रयोग गरियो । किनकी मैले मधेशी, थरूहट, जनजाति, दलित आन्दोलनलाई सहयोग गरे । यसकारण बाहुन, क्षेत्री नेताहरूको आँखामा म तारो बनेँ । यसपालिको महाधिवेशनमा मलाई सजिलो पारिदिए म नआउँ भनेर उनीहरूले जाली मतदाताको सूची बनाए । त्यो जाली मतदाता सूची मैलै बहिष्कार गरे त्यसपछि उनीहरूले एकलौटी अधिवेशन गरेर सुरेन्द्र चौधरी हा¥यो भनेर देशभरि प्रचार गरे । मैले बहिष्कार गरिसकेपछि हारेको भन्नुको कुनै अर्थ नै छैन नि ।

० तपाई पदाधिकारीमा चुनाव लड्ने भनेर त्यस्तो केही सोच बनाउनु भएको थियो पछिल्लो समयमा ?

— त्यस्तो केही सोच बनाएको थिइनँ । मैले त कांग्रेस नै छोड्ने मनस्थिति बनाइसकेपछि पदाधिकारीमा आउँछु भनेर कुनै सोच हुने कुरा नै भएन । जिल्लामा नै मेरो विरूद्धमा षड्यन्त्र हुन थालेपछि त मलाई कांग्रेस छोड्न झन् सजिलो भयो मैले यो पार्टीमा बस्नुको कुनै अर्थ छैन भनेर छोडे ।

० पार्टी छोड्नुभयो अब कता जानुहुन्छ ?

— कांग्रेस पार्टीबाट राजीनामा दिएको छु, तर स्वीकृत भएको छैन । पार्टीबाट राजीनामा स्वीकृत भएपछि सांसद पदबाट पनि राजीनामा दिन्छु । सांसद पद त नेपाली कांग्रेसले दिएको होइन नि । यो त नेपाली जनताले दिएको पद हो । म आफैं सम्पन्न परिवारको मान्छे हुँ । सांसद पद नभए मैले खान नपाउने भन्ने छैन । त्यसैले मलाई यो पदको कुनै लोभ छैन ।

० तपाई अन्य कुनै पार्टीमा आबद्ध हुनुहुन्छ कि नयाँ पार्टी खोल्नु हुन्छ ?

— अन्य नेताहरूले सटर खोलेको जस्तो चरित्रगत हिसाबले सटर खोल्नुको कुनै अर्थ छैन । म छिट्टै देशभरिका साथीहरूलाई काठमाडौंमा जम्मा गर्छु । अहिले मेरो सम्पर्कमा ७५ जिल्लाका ३०÷४० हजार साथीहरू आएका छन् । तिनीहरूले नयाँ पार्टी गठन गर्नुपर्छ भनेर नै मलाई सल्लाह दिइरहेका छन् । हामीहरूले एउटा वैकल्पिक शक्तिको निर्माण गर्नका लागि पहिले त हामी आफैंले एउटा जमात तयार पार्नुपर्छ । अहिले मेरो अन्य कुनै पार्टीमा प्रवेश गर्ने योजना छैन ।

० डा. बाबुराम भट्टराईको नयाँ शक्तिमा जाने कुरा पनि आइरहेको छ नि ?

— त्यो नयाँ शक्तिमा जाने त मेरो कुनै योजना छैन ।

० त्यसो भए तपाई छुट्टै पार्टी खोल्नुहुन्छ ?

— हामी एउटा यस्तो शक्तिको निर्माण गर्छौं जुन शक्तिमा डा. बाबुराम भट्टराई पनि एउटा पाटो बन्न सक्नुहुन्छ । हामीले बनाएको शक्ति यस्तो बनोस् जुन शक्तिले आगामी चुनावमा कमसेकम ७०÷८० सिट सांसदको पद जिताउन सकियोस् ।

० तपाईलाई कांग्रेस भित्रको क्रान्तिकारी र मधेशको अधिकारका लागि लड्ने नेताको रूपमा चिनिन्छ । संविधान निर्माण पछि हस्ताक्षर गर्ने समयमा पनि तपाईले अडान लिनुभएको थियो यो संविधानमा हस्ताक्षर गर्दिन भनेर तर अन्तिम समयमा हस्ताक्षर गर्नुभयो त्यो बाध्यता थियो ?

— कुनै बाध्यता होइन । म आफ्नो निर्णय, बुद्धि र विवेकले हिंड्ने पढेलेखेको मान्छे हुँ । यो मुलुकको हित गर्ने संविधान त होइन तर नेपालको इतिहासमा पहिलो पटक नेपाली जनताका छोराले संविधान दिँदैछ । यसलाई एउटा ऐतिहासिक काम सम्झेर यसलाई रोक्नु हुँदैन भनेर अन्तिम समयमा हस्ताक्षर गरेको हुँ ।

० जसरी कांग्रेसको पहलमा समानुपातिक, समावेशी प्रतिनिधित्व हुने र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गरिने भनेर संविधान संशोधन भएको छ यो संशोधनले मधेशको माग सम्बोधन भएकै हो त ?

— यो त सबै नौटंकी हो । मधेश आन्दोलनलाई तुहाउनका निम्ति गरिएको एउटा षड्यन्त्र मात्र हो, यो संशोधन । भएकै भाषालाई तलमाथि गरेर आन्दोलन रोक्नु थियो त्यसका लागि एउटा नाटक मञ्चन भएको हो । त्यो भन्दा अरू केही होइन ।

० वास्तवमा मधेशीहरूको माग मध्ये अहिलेसम्म के पाए र अब बाँकी केके छ ?

— संघीयतामा मुलुकलाई लैजाने संघीयताको आधार पहिचान हो भनेर संस्कृति, भाषा, इतिहासको कुरा गर्ने तर दिने बेलामा तराईमा दुईवटा प्रदेश दिन किन डराउने । कमसेकम मधेशमा दुईवटा प्रदेश त दिनैपर्छ ।

० मधेशमा दुई वटा प्रदेश हुनुपर्छ भनेर मधेश केन्द्रित दलहरूले भनिरहँदा उनीहरूलाई विखण्डनकारी भनेर भन्ने गरिन्छ तपाईलाई पनि त्यस्तै लाग्छ ?

— हामी नेपालमा १० हजार वर्षदेखि बसिरहेका छौं तैपनि हामीलाई इन्डियन नै भन्छन् नि । हामीले कहाँ पाएका छौं नेपालीको दर्जा अहिलेसम्म ।

० मधेशमा दुई प्रदेश बनाउँदा राष्ट्रिय एकतामा खलबल पुग्छ र ?

— यो सबै फट्याइँ मात्र हो नि ।

० पछिल्लो समयमा नेपाल र भारतको सम्बन्ध केही चिसिएको छ त्यो सम्बन्ध सुधारकै एजेन्डा लिएर प्रधानमन्त्रीको भारत भ्रमण पनि भयो । तपाईलाई के लाग्छ उहाँको एजेन्डा पुरा भयो त ?

— नेपालका अयोग्य प्रधानमन्त्रीहरूमध्ये केपी ओली पनि एक हुन् । नेपालले इतिहासमा यति अयोग्य प्रधानमन्त्री पहिलो चोटि पाएको छ । उखान टुक्का सुनाएर पनि नेपालमा प्रधानमन्त्री बन्न सकिन्छ भन्ने उदाहरण केपी ओलीले दिएका छन् । पछिल्लो समयमा नेपाल र भारतको बीचमा उत्पन्न भएको समस्याको समाधान केपी ओलीको भ्रमणबाट भएको छैन । यो प्रधानमन्त्रीले नेपालको उन्नति पनि गर्न सक्दैनन् । नेपालको भविष्य र नेपाली जनताको कल्याण पनि छैन । उखान टुक्रा सुनाएर नेपाली जनतालाई हँसाउने काम भन्दा अरू केही काम केपी ओलीले गर्लान् भनेर आशा नगरे हुन्छ । भारतसँग सहयोग पनि लिने गालि पनि गर्ने यस्तो सम्बन्ध त धेरै समय चल्दैन नि । नेपालका केहीमा भारतले राम्रो नराम्रो जे गर्दा पनि गाली गर्ने मानसिकता नै छ त्यसमा परिवर्तन आउन जरूरी छ । यो अन्तरवार्ता मधेशवाणीमा प्रकाशित छ ।

Read 1719 times

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012