×

वीरगन्ज २२ असोज । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नको लागि मठमन्दिरको सौन्दर्यीकरणमा जोड दिनुभएको छ ।

श्री रामानन्दीय श्री वैष्णव संघ तुलसी स्मारक, जनकपुरधामले मंगलबार जनकपुरधाममा आयोजना गरेको आशीष तिलक तथा पदस्थापन समारोहमा बोल्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले मठमन्दिरको सौन्दर्यीकरण कार्य अगाडी बढाईसकेको बताउनुभयो ।

प्रदेश सरकारले विकासको सुरुवात जानकी मन्दिरको सौन्दर्र्यीकरणबाट गरेको स्मरण गराउँदै उहाँले जानकी मन्दिरमा प्रत्येक वर्ष बजेट विनियोजन गर्ने योजना रहेको बताउनुभयो ।

जानकी मन्दिर प्रदेशको धरोहर छ, उहाँले भन्नुभयो–यसको सौन्दर्यीकरणको लागि प्रत्येक वर्ष ५÷७ करोड बजेट दिने योजना छ ।

जानकी मन्दिर परिसरभित्र सवारीसाधन प्रवेश निषेध गर्नुपर्ने धारणा राख्दै मुख्यमन्त्री राउतले यसको लागि छुट्टै व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

रामभजन दासको अध्यक्षतामा भएको कार्यक्रममा भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनालले जल, जमिन र जंगल प्रदेश सरकारको मातहतमा हुनुपर्ने धारणा राख्नुभयो ।

सप्तरीको सखरा भगवती, सिरहाको सलहेश फुलवारी, जनकपुरको जानकी मन्दिर, महोत्तरीको जलेश्वरनाथ र बाराको सिम्रौनगढलाई धार्मिक करिडोरको रुपमा विकास गर्नुपर्ने मन्त्री सोनालले थप्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य मिनाक्षी झा, प्रदेश सभा सदस्य परमेश्वर साह, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह लगायतले आ आप्mनो मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा श्री रामानन्दीइ श्री वैष्णव संघ तुलसी स्मारक, जनकपुरका नव निर्वाचित कार्य समितिका पदाधिकारी र सदस्यहरुलाई पद हस्तान्तरण गरिएको थियो ।

जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवको अध्यक्षतामा श्री रामानन्दीय श्री वैष्णव संघ तुलसी स्मारक, जनकपुरधाम कार्य समिति गठन गरिएको छ ।

Back to top