×

वीरगञ्ज, १२ असोज । गण्डकी प्रदेशले पर्यटन प्रवद्र्धन अभियानअन्तर्गत वीरगञ्जमा अन्तरक्रिया गरेको छ । आइतबार वीरगञ्जमा भएको एक कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी प्रदेशले पर्यटनलाई मुख्य प्राथमिकतामा राखेको बताए ।

मन्त्री लम्सालले पर्यटनलाई आयको प्रमुख स्रोतको रुपमा राखेर योजना अघि बढाएको बताए । ‘गण्डकीको मुख्य आकर्षण र आम्दानीको स्रोत भनेकै पर्यटन हो । त्यही भएर सरकार नै यो अभियान लिएर हिँडेको छ,’ उनले भने ।

उनले वीरगञ्जका नगर प्रमुख विजयकुमार सरावगीमार्फत वीरगञ्जमा बासिन्दालाई गण्डकी प्रदेश भ्रमणको चुले निम्तो पनि दिए । ‘म वीरगञ्जका नगर प्रमुखमार्फत वीरगञ्जवासीलाई भ्रमणको चुले निम्तो दिन चाहान्छु,’ उनले भने ।

प्रदेश सरकारले पर्यटन, उर्जा, कृषि, उद्योग, पूर्वाधार, दक्ष जनशक्ति र शान्ति सुरक्षालाई योजनाबद्ध रुपमा अघि बढाएको मन्त्री लम्सालको भनाइ थियो ।

वीरगञ्जका नगर प्रमुख विजयकुमार सरावगीले वीरगञ्ज महानगरले पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेको उल्लेख गरे । तर, संघ सरकारका कतिपय प्रावधानका अन्तरविरोधले योजना प्रभावकारी हुन नसकेको उनले गुनसो गरे ।

कार्यक्रममा पोखरा टुरिज्म काउन्सिलका अध्यक्ष चिरन्जीवी पोखरेल, अभियान संयोजक जुद्धबहादुर गुरुङ, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया लगायतले गण्डकी प्रदेश प्राकृतिक र शाहसिक पर्यटनको मुख्य गन्तव्य भएको उल्लेख गरे । अभियन्ताहरुले पर्यटन क्षेत्रमा दक्ष जनशक्ति र पूर्वाधारको कमी रहेको पनि बताए ।

सरकार यसको व्यवस्थामा सक्रिय भएको पनि उनीहरुको भनाइ छ । गण्डकी प्रदेश प्राकृतिक र सांस्कृतिक सम्पदामा सम्पन्न भएकाले पर्यटन नै विकासको आधार भएको बताइएको छ । गण्डकी प्रदेशले बुटवल, वीरगञ्ज, विराटनगर र काठमाडौंमा प्रबद्र्धन अभियान चलाएको छ ।

Back to top