×

 

वीरगन्ज ७ असोज । देशका उच्च पदस्था पदाधिकारीहरूलाई प्रभावमा पारेर वीरगंजलगायत देशका विभिन्न नाकाबाट सुन ओसार पसार गर्दै आएका वीरगंज निवासी राजु दारुकाले अवैध सुन तस्करी र कारोवारबाटै अकूत सम्पत्ति आर्जन गरेको उजुरी परेपछि सम्पत्ति शुद्धिकरण विभागले छानबिन गर्ने भएको समाचारहरू सार्वजनिक भएका छन् ।

सम्पत्ति शुद्धिकरण विभागले छानबिन गर्ने भएता पिन अवैध सुन कारोबारमा एकछत्र राज गरेका वीरगंजका कुख्यात सुन तस्कर राजु दारुका अहिले वीरगन्जका केहि सोनारहरुसंग मिलेर पुनः सुन तस्करी गरिरहेको श्रोतले जनाएको छ ।

सुन तस्करी गर्दै आएको बेला बेलामा स्थानीयदेखि राष्ट्रियस्तरसम्मका संचारमाध्यममा आएको खबर वीरगंजलगायत प्रहरी प्रशासनमा नौलो होइन ।

नयाँ पत्रिकाले प्रकाशन गरेको समाचार अनुसार सम्पत्ति शुद्धिकरण विभागले ३८ सय केजी सुन तस्करीका अभियुक्तमाथिको अनुसन्धानलाई पनि विभागले प्राथमिकतामा राखेको छ । गिरोहका नाइके चूडामणि उप्रेती ‘गोरे’, भारतीय नागरिक मोहन अग्रवाल, विमल पोद्दार, आरबी डायमन्डका मालिक राजेन्द्र शाक्य, भुजुङ गुरुङ, राजु दारुका, ठाकुर ढुंगानालगायतमाथि अनुसन्धान गरिरहेको छ ।

प्रहरीले सो प्रकरणमा मुद्दा दायर भएका सबैको सम्पत्ति छानबिनका लागि विभागलाई लेखेर पठाएको छ । जसमध्ये धेरैले सम्पत्ति लुकाइसकेको विभागका अधिकारी बताउँछन् भनेर नयाँ पत्रिकाले समाचार छापेको छ । त्यस्तै सुन तस्करीमा संलग्न वीरगन्जमा रहेका केहि गिरोहमाथि पनि छानबिन गरिरहेको छ ।

Back to top