×

वीरगञ्ज २० जेठ । वीरगञ्ज सुक्खा बन्दरगाहमा कन्टेनरको व्यवस्थापनमा समस्या भएको भन्दै हिमालयन टर्मिनलले बन्दरगाहभित्र कन्टेनर पल्टी गर्न रोक लगाएको छ । बन्दरगाह सञ्चालक टर्मिनलले सूचना निकालेर एक साताका लागि यस्तो रोक लगाएको हो ।

यसअघि केही आयातकर्ताले बन्दरगाहभित्रै गाडी लगेर कन्टेनरको मालसामान गाडीमा लोड गरेर लैजाने गरेका थिए । लकडाउनमा बन्दरगाहमा कन्टेनरको संख्या बढेर व्यवस्थापना समस्या भएपछि बन्दरगाहभित्रै अनलोड गरेर मालसामान गाडीमा हाल्न रोकिएको टर्मिनलका वरिष्ठ अधिकृत अनिमेशकुमारले बताए ।

बन्दरगाहभित्रै कन्टेनरको मालसामान अर्को गाडीमा हाल्दा बढी ठाउँ चाहिने भएकाले समस्या भएको बन्दरगाह व्यवस्थापनको भनाइ छ । पछिल्लो समय ढुवानी केही सहज भए पनि सामान्य भइनसकेको बन्दरगाहले बताएको छ ।

२ साताअघिसम्म बन्दरगाहबाट दैनिक १०० को हाराहारीमा कन्टेनर पास हुनेमा अहिले यो संख्या करीब २०० पुगेको छ । बन्दरगाहमा थुप्रिएका कण्टेनरको संख्या ४ हजारबाट २हजार ५०० मा झरेको छ ।

१ हजार ५५० कन्टेनर क्षमताको बन्दरगाहमा सोमवार मालसामान भरिएका कन्टेनर २ हजार ५०० र खाली कन्टेनर १ हजार जति रहेको बताउँदै बन्दगाहमा कन्टेनरको चाप कायमै रहेको अधिकृत अनिमेशकुमारले बताए ।

अहिले ३० हजार मेट्रिकटन फलाम र ७ हजार ५०० मेट्रिकटन बोराबन्द मालसामान रहेको जानकारी पनि उनले दिए । २३ ओटा रेल बाटौमै भएकाले १ हप्ताभित्र २ हजार २०० कन्टेनर थपिने बन्दरगाहले बताएको छ ।

Back to top