×

वीरगंज २५ भदौ । राष्ट्रिय जनता पार्टी नेपालका सहमहामन्त्री एवं प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरणराज्यमन्त्रीले सुरेश मण्डलले संविधान दिवसलाई कालो दिवसकै रुपमा मनाउने बताएका छन् ।

प्रदेश २ मा राजपा र समाजवादी पार्टीको संयुक्त सरकार रहेको छ । यता, प्रदेश २ को मन्त्रिपरिषद्ले संविधान दिवसलाई उत्सवको रुपमा मनाउने निर्णय गरिसकेको छ । तर, सो निर्णयप्रति राजपाको असन्तुष्टि देखिएको छ ।

मन्त्रिपरिषद्को निर्णयविरुद्ध राजपाका मन्त्रीहरुले कालो दिवस मनाउने बताउँदै आएका छन् ।

राजपाको अध्यक्षमण्डलले संंविधान दिवसलाई विरोध दिवस मनाउने निर्णय गरेको छ । राज्यमन्त्री मण्डलले संविधानमा रहेका त्रुटिहरु नसच्याएसम्म राजपाले संविधान दिवसलाई उत्सवको रुपमा मनाउन नसकिने बताए ।

संविधानले दिएअनुसारका सबै सुखसुविधा पनि लिने, मन्त्री बन्ने, भत्ता लिने तर संविधानलाई विरोध गर्ने भन्ने प्रश्नमा राज्यमन्त्रीले भने, ‘यो संविधान मधेशी जनताको रगतबाट लेखिएको हो । मधेशमा राज्यले मधेशीको हत्या गर्दै यो संविधान जारी गरेको हो ।’

उनी भन्छन्, ‘हामीले पूरै संविधान खराब छ भनेका छैनौं । हामी संविधान पुनर्लेखन होइन, संशोधन भनेका छौं । यो संविधानमा मधेश आन्दोलनकै बलमा संघीयता, समानुपातिक समावेशिता लगायतका मुद्दाहरु छन् । तसर्थ, मधेशी लगायत उत्पीडित समुदायहरुको धेरै अधिकारहरु अझ पनि कटौती गरिएको हो, त्यसकै लागि हाम्रो विरोध छ ।’

‘मधेशी जनताको भावना, शहीदको सम्मानका लागि पनि हामीले यो संविधानलाई उत्सवको रुपमा मनाउन सक्दैनौं,’ उनले संविधान दिवसलाई देशभरिकै जनताले मनाउने गरी सर्वस्वीकार्यताका लागि विरोध गर्दै आएको बताएका छन् ।

संविधानमा राम्रा कुराहरुको संरक्षण र थप अधिकार प्राप्तिका लागि विरोध गरिरहेको राज्यमन्त्री मण्डलको तर्क छ ।

Back to top