×

वीरगंज २० भदौ । वीरगंज कारागारका मुख्य नाइके शेख भोलाले वीरगंज कारागारका भित्र छुट्टै मिनी कारागार सञ्चालन गरिरहेको जानकारी प्राप्त भएको छ ।

केही महीनादेखि पुर्पक्षका लागि बाराबाट वीरगंज कारागारमा रहेका कैदीहरूको परिवारले यो घटना सार्वजनिक गरेको हो । आफनो मानिस कारागारभित्र रहेकोले नाम नलेख्ने शर्तमा एकजनाले बताए । मुख्य नाइके वा भाइनाइकेले मेरोबारेमा सुइँको पाएपछि उनीहरूले कारागारमा यातना दिने उनको भनाइ थियो ।

कारागारबाहिर नेपाल सरकारको तथा कारागारभित्र मुख्य नाइके शेख भोलाको नियम चल्छ । २४ घण्टा फोन तथा इन्टरनेट सुविधासहित २२ जना कैदीलाई आफनो सुरक्षामा शेख भोलाले विभिन्न पद दिएर खटाएका छन् । भोला दिनभरि कारागारबाहिर बस्ने, सामान खरीद गर्न दैनिक बजारमा जाने गर्छन् ।

अपराध साबित भएपछि वा पुर्पक्षको लागि कारागार जानेहरूले मुख्य नाइके भोलालाई रङ्गदारी कर बुझाउनुपर्छ । त्यस्तो कर नबुझाउनेलाई कारागारको गोलघरमा थुनेर शेख भोलाले यातना दिन्छ ।

समाचार स्रोतका अनुसार एकजनाले रङ्गदारी कर नबुझाउँदा गोलघरमा राखेर चरम यातना दिइएको थियो । त्यसपछि ३० हजार रुपैयाँ बुझाएर गोलघरबाट बाहिरिनुपरेको थियो । यस्ता घटना जेलभित्र जाने अधिकांशले भोगिरहेका छन् । वीरगंज कारागारमा करीब १४ सय कैदीबन्दी छन् ।

यसअघि आकाश महतो नामका कैदीलाई मरणासन्न हुने गरी कुटेको घट्ना करिब तीन महिना अगाडि पनि बाहिरिएको थियो । विगतमा कैद भुक्तान गरेर रिहा भएका उनीहरुले बेग्लाबेग्लै ब्यक्तिसंगको कुराकानीमा जेलभित्रको बेग्लै संसार सुनाए ।

भित्र भएका कैदीलाई भेट्न आएका कुनै ब्यक्तिसँग एक्लैमा कुरा गर्न बन्देज छ । टेलिफोन चौकीदारका मान्छेहरुबाट संचालित छ । कल गरेपछि भने अनुसार एक रुपैयाँ पर्ने कल ४ रुपैयाँ चुपचाप तिर्नुपर्ने हुन्छ ।

भारतमा कल गरेको ३० रुपैयाँ असुलिन्छ ।‘ कोही पनि चुइँक्क बोल्न सक्ने हिम्मत गर्दैन, कारागारभित्रका चौकीदारका पसलहरुमा सामानको मोल तीनदेखि चार गुणासम्म बढी असुल्दा पनि बोल्न पाइन्न, बोल्यो भने थुनुवामा पुर्याएर रातभरी कुटिन्छ’, तीन बर्ष कैद भुक्तान गरी यसै महिना निस्केका एक कैदीले भने, ‘किराना पसल, मासु पसल, माछा पसल, सिलाई पसल, पान, चियानास्ता पसल, तरकारी पसल र सैलुन सबै भित्रका लठैंतहरुको हो ।’ उनका अनुसार बाहिर ४० रुपैयाँ फुलगोभीको भाउ कारागारभित्र एक सय २० रुपैयाँ पुग्छ ।

अनी १२ रुपैयाँको अण्डा २५ रुपैयाँ र बाहिर १० पर्ने बिस्कुट ३०, चिया २० रुपैयाँ पर्छ । आलु एक सय २० रुपैयाँ, प्याज डेढ सय रुपैयाँ किलो पर्ने गरेको र दाह्री कपाल काटेको २ सय तिर्नुपर्ने उनले जानकारी दिए ।

कैदीले भित्रैबाट किनेर हरेक कुरा उपभोग गर्नुपर्ने हुन्छ भने आफन्तले ल्याइदिएको दैनिक उपभोग्य सामान भित्र्याउन निषेध छ । भुक्तभोगीका अनुसार यो कानूनी नियम नभए पनि कडाइका साथ लागु छ ।‘ यो सबै बिगतको कुरा हो, अहिले त्यस्तो केही पनि छैन ।

बढी पैसा लिने कुरा भित्रै गएर बुझ्दा हुन्छ’, मुख्य चौकीदार शेख भोलाले भने, ‘बरु सिडिओ, एसपी साहेबहरु, पत्रकार र नागरिक समाज सबै आएर एकपटक अनुगमन गर्दा हुन्छ ।

अहिले ८ जनाभन्दा बढी कैदीलाई गोलघरभित्र राखिएको छ । उनीहरूलाई जेलभित्रको कानून उल्लङ्घन गरेको कसूरमा नभई रङ्गदारी नतिरेको कारण थुनिएको कैदीबन्दीहरू बताउँछन् ।

नेपाल तथा सशस्त्र प्रहरीको सुरक्षा घेराभित्र रहेको कारागारमा हुने यो अपराधबाट सुरक्ष्ाँकर्मी अनभिज्ञ छैनन् । तर कारागारभित्र सबै काम सेटिङमा हुने हुनाले उनीहरू भित्रको कुरालाई नजरअन्दाज गरेर बसेका छन् ।

सरकारले कैदीबन्दीलाई दिने सेवा सुविधा, उपचार खर्च, पोशाक तथा दैनिक उपभोग्य सामानहरूको व्यवस्था गरेपनि अहिलेसम्म कुनैपनि कैदीलाई पोशाक उपलब्ध गराइएको छैन ।

मुख्य नाइके, दाइनाइके, भाइनाइकेहरू पनि पोशाकविहीन अवस्थामा छन् । कैदीबन्दीको सेवा सुविधा र उपचार खर्चमा पनि कारागारमा व्यापक अनियमितता हुने गरेको स्रोतले जनाएको छ । भित्र र बाहिरको दुवै अनियमितता ढाकछोप गर्नको लागि मुख्य नाइके र जेलरको मिलेमतोमा सबै काम हुने गरेको स्रोतले जनाएको छ । कारागारभित्र हुने अदृश्य अपराधको बारेमा बेलाबेला समाचारहरू बन्ने गरेका छन् तर ती समाचारलाई बेवास्ता गरिंदै आएको छ ।

गोप्य उजूरीपेटी, गुनासो सुन्ने अधिकारीसमेत तोकेको भएपनि कैदीबन्दीबाट कुनै यस्तो समस्या नआएको कारागार व्यवस्थापकको भनाइ छ । तर कैदीहरू भने उजूरी गर्नुको अर्थ थप यातना पाउनुभएकोले कसैले यसबारेमा उजूरी गर्दैन । जेलभित्र बसेको अवस्थामा त्यहाँको क्रियाकलापबारे उजूरी गर्न सक्ने सामथ्र्य कुनैपनि कैदीबन्दीहरूले गर्न सकेका छैनन् । यही कारण हो, कारागारभित्र विरोध हुँदैन र कारागारबाट बाहिरिएपछि कारागारभित्रका कुराहरू छताछुल्ल हुने गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई कारागारमा त्यस्ता कुनै गतिविधि नभएको बताउँछन् । उनले कारागारबारेमा गुनासो आउने गरेको र आपूmले गोप्य तरीकाबाट सोधखोज गर्दा कसैले पनि गुनासोको बारेमा पुष्टि नगरेको बताए । उनले मुख्य नाइकेले गल्ती गरेको पाइए कारबाई गर्ने बताए ।

[caption id="attachment_23290" align="aligncenter" width="977"] smartcapture[/caption]

Back to top