×

वीरगन्ज २० भदौं । पर्सामा एकैदिनमा तीन जनाले झुण्डिएर आत्महत्या गरेका छन् । जिल्लाका विभिन्न स्थानमा बिहीबार तीन जना महिलाले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

वीरगन्ज महानगरपालिका वडा नं. २७ कुहडीकी ४५ बर्षीया रीखिया देवी महतो आफ्नै कच्ची घरको बलोमा कपडाको पासो लगाई झुण्डिएकी थिइन् । उनको झुण्डिएर मृत्यु भइसकेको खबर पाएपछि वडा प्रहरी कार्यालय श्रीपुरको प्रहरी टोली घटना स्थल पुगेको थियो । महतोको शव पोष्टमार्टम पछि परिवारको जिम्मा लगाइएको छ ।

बिहीबार नै पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं. १ मुजबनियाकी १६ बर्षीया ललिता देवीले झुण्डिएर आत्महत्या गरेकी छन् । सुत्ने कोठाको काठको बलोमा सलको पासो लगाइ उनले आत्महत्या गरेकी थिइन् । उनको ६ महिना अघि मात्रै विवाह भएको थियो । पारिवारिक कलहको कारण उनले आत्महत्या गरेको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

त्यसैगरी वीरगन्ज वडा नं. १ छप्कैयाकी १९ बर्षीया रुकसार खातुनले पनि बिहिबार झुण्डिएर आत्महत्या गरेकी छन् । आफ्नै घरको सुत्ने कोठाभित्र पंखामा कपडाको पासो लगाइ उनले आत्महत्या गरेकी हुन् । झुण्डिरहेको अवस्थामा आफन्तले देखेपछि पासो फुकाइ उपचारको लागि नारायणी अस्पतालमा लैजाँदै गर्दा उनको मृत्यु भएको थियो । श्रीमानसँग सामान्य विवाद भएपछि उनले आत्महत्या गरेको हुन सक्ने अनुमान आफन्तले गरेका छन् ।

मृत्यु भइसकेपछि खबर पाएको प्रहरी टोलीले घटनास्थल शव जाँच मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धान गरेको छ । दुवै जनाको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्मा जिल्लामा निरन्तर आत्महत्याका घटना भइरहेकोे बताउँछन् ।

Back to top