×

वीरगन्ज ९ भदौ । भारतबाट वीरगन्ज नाका हुदै नेपाल आउने ग्याँसको आयात घटेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी मनिष महत्तोका अनुसार साउन महिनामा वीरगन्ज नाका हुदै नेपालमा २२ हजार ७ सय ५ मेट्रिक टन ग्याँस भित्रिएको थियो । तर भदौ महिना सुरु भएपछि ग्याँसको आयात घटेको हो ।

सामान्य अवस्थामा भारतबाट वीरगन्ज नाका हुदै दैनिक औसतमा ७ सय ५६ मेट्रिक टन (४० देखि ४२ बुलेट) ग्याँस नेपाल आयात हुने गरेको छ । भदौ ४ गतेदेखि दैनिक औसतमा १३ र १४ बुलेट मात्र ग्याँस आयात भइरहेको महत्तोले जानकारी दिए । एउटा बुलेटले १८ मेट्रिक टन ग्याँस बोक्ने गर्छ र एउटा बुलेटबाट एक हजार दुई सय ६० सिलिण्डर भरिन्छ ।

बरौनीबाट ग्याँस नआउदा पर्सा र बाराको बजारमा गत बुधबारदेखि नै ग्याँसको अभाव भएको ग्याँस बिक्रेता महासंघ पर्साका अध्यक्ष वीरेन्द्र साहले बताए । वीरगन्जको श्रीपुरमा रहेका मनोज ग्याँसका विक्रेता गणेश श्रेष्ठले भने आयल निगमले भण्डारणको क्षमता नबढाएका कारण वर्षेनी साउन भदौका बेला बजारमा ग्याँसको अभाव हुने गरेको बताए ।

ग्याँस डिपोको प्लान्ट सरसफाइका कारण आयात कम हुँदा बजारमा ग्याँस अभाव सुरु भएको वीरगन्जका धर्मनाथ सर्राफले बताएका छन । भारतको बरौनीमा रहेको इण्डियन आयल कर्पोरेशन (आइओसी) को डिप्पोको प्लान्ट सरसफाइ र मर्मत भइरहेकाले ग्याँस आयात घटेको हो ।

भारतको बरौनी, हल्दिया, मथुरा र परादिपमा रहेको आइओसीको डिपोबाट नेपालमा एलपी ग्याँसको आयात हुने गरेको छ । नेपाल आयल निगमको एलपी ग्याँस विभागका निर्देशक दीपक बरालका अनुसार नेपालमा बरौनी डिप्पोबाट मात्रै ४० प्रतिशत आयात हुन्छ ।

आयात धेरै हुने बरौनी डिप्पोमा एक सातादेखि प्लान्ट सरसफाइ र मर्मतको काम चलिरहेकाले ग्याँसको लोडिङ हुन नसकेको निर्देशक बरालको भनाइ छ । भदौ ४ देखि ७ गतेसम्म वीरगन्ज नाका हुँदै १ हजार १९ मेट्रिक टन (५६ बुलेट) मात्र ग्याँस आयात भएको महत्तोले बताए ।

डिपोमा ग्याँसको लोडिङ बन्द हुँदा त्यसको असर नेपाली बजारमा परेको नेपाल ग्याँस विक्रेता महासंघका केन्द्रीय अध्यक्ष महेश्वर कुमार श्रेष्ठले जानकारी दिए । प्लान्ट सरसफाइ र मर्मतको काम अन्तिम चरणमा पुगिसकेको र चार पाँच दिनमा त्यहाँबाट लोडिङ सुरु हुने श्रेष्ठको भनाइ छ ।

Back to top