मधेशी दलका नेताले दिए वीरगन्ज बासीलाई ठुलो धोखा, प्रदेश २ को राजधानी जनकपुरमा समर्थन

2284

वीरगन्ज ६ भदौ । प्रदेश २ को नामकरणबारे एउटै दलका सांसदमा पनि विभाजन देखिएको छ । प्रदेशसभा सचिवालयमा बिहीबार दर्ता भएको प्रस्तावका आधारमा नेपाली कांग्रेस र सत्तारुढ दलका सांसद विभाजित भएको देखिएको हो । नेपाली कांग्रेसकै सांसदले ‘नाम र राजधानी’ दुवै विषयमा फरक–फरक प्रस्ताव दर्ता गराएका छन् ।

भने सत्तारुढ दल समाजवादी पार्टी र राजपाका सांसद पनि राजधानीको सवालमा दुई खेमामा बाँडिएका छन् । प्रदेशसभामा प्रमुख चार दलले प्रतिनिधित्व गरिरहेका छन् । तीमध्ये सत्तारुढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संयुक्त रूपमा एउटै प्रस्ताव दर्ता गराए पनि नामकरणमा चार र राजधानीमा पाँच वटा प्रस्ताव आयो ।



दलगत रूपमा नामका लागि आएको प्रस्तावमा नेकपाले ‘जानकी प्रदेश’, नेपाली कांग्रेसले ‘मिथिला–भोजपुरा प्रदेश’ र समाजवादी पार्टी तथा राजपाले संयुक्त रुपमा ‘मधेस प्रदेश’ प्रस्ताव गरेको छ । नेपाली कांग्रेसकै अर्को पक्षले भने प्रदेशको नाम ‘मध्य–मधेस प्रदेश’ हुनुपर्ने प्रस्ताव दर्ता गराएको छ ।

प्रदेशको स्थायी राजधानी र नामकरणका लागि बिहीबार पाँच बजेसम्म प्रस्ताव दर्ता गराउन समय तोकिएको थियो । नामकरणका लागि देशको नाम नेकपा सांसद रामकुमार यादवले प्रस्ताव गरेका हुन् । उनको यो प्रस्तावमा नेकपाकै सांसद ज्वालाकुमारी साह, शारदा थापा र नागेन्द्र राय यादवले समर्थन गरेका छन् ।

मिथिला–भोजपुरा प्रदेशको नाम नेपाली कांग्रेसका सांसद नरेशकुमार यादवले प्रस्ताव गरेका छन् । कांग्रेसका सरस्वती चौधरी, मञ्जु कुमारी र उपेन्द्रप्रसाद कुशवाहाले समर्थन गरेका छन् । मध्य–मधेस प्रदेशको नाम कांग्रेसकै राजेश्वरप्रसाद साहले प्रस्ताव गरेका छन् । उक्त प्रस्तावमा कांग्रेसकै ओमप्रकाश शर्मा, शंकरप्रसाद चौधरी र अशियादेवी थरूनीले समर्थन गरेका हुन् ।

मधेस प्रदेशको नाम सत्तारुढ दलमध्ये समाजवादी पार्टीका प्रमुख सचेतक शैलेन्द्रकुमार यादवले प्रस्ताव गरेका छन् । उनको यो प्रस्तावमा राजपाका सांसद सुरिता साह र बबिताकुमारी चौधरीले समर्थन गरेका छन् ।

राजधानीको लागि तीन वटा दलगत रुपमा र दुईवटा असन्तुष्ट सांसदहरुले प्रस्ताव दर्ता गराएका छन् । ती मध्ये जनकपुरको पक्षमा तीनवटै प्रस्ताव अर्थात् चारवटै दलको समर्थन देखिएको छ भने पर्सा र बारा जिल्लाका सांसदहरुले वीरगन्जको नाउँमा प्रस्ताव दर्ता गराएका छन् ।

नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले प्रस्ताव गरेको जनकपुरको नाउँमा नेकपाकै प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा, सांसदहरु रविन्द्र बैठा र बेची लुंगेलीले समर्थन गरेका छन् । जनकपुरकै प्रस्तावक नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवलाई कांग्रेसकै प्रमुख सचेतक उपेन्द्रप्रसाद कुशवाहा, नरेशकुमार यादव र सरस्वती चौधरीले समर्थन गरेका छन् । सोही नाम प्रस्ताव गर्ने राजपाका प्रमुख सचेतक परमेश्वर साहलाई समाजवादी पार्टीका सांसद सञ्चमाया मोक्तान र चमेलीदेवी दासले समर्थन गरेका छन् ।

चारवटै दलले जनकपुर राजधानी हुनुपर्ने प्रस्ताव गरे पनि राजधानीबारे फरक–फरक प्रस्ताव गरेका छ ् । नेकाको तर्फबाट आएको प्रस्तावमा जनकपुर परिक्रमा मार्गसहित पुरै धनुषा जिल्ला तोकिएको छ । कांग्रेसले जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र भनेको छ । समाजवादी पार्टी र राजपाले जनकपुरधामको मिथिला मध्यमा परिक्रमा सडकभित्र पर्ने क्षेत्रकासाथै धनुषाको पूर्व–पश्चिम राजमार्गदेखि दक्षिण, कमला नदीदेखि पूर्व र भारतीय सीमादेखी उत्तरको भूभागलाई तोकेको छ ।

नेपाली कांग्रेसकै शंकरप्रसाद चौधरी, ओमप्रकाश शर्मा र आशियादेवी थरुनीको समर्थनमा राजेश्वरप्रसाद साहले दर्ता गराएको प्रस्तावमा विरगंज महानगरपालिका क्षेत्रलाई राजधानी तोक्नुपर्ने भनिएको छ ।

राजधानीको लागि समाजवादी पार्टी र राजपाका सांसदहरु सिंगासन साह कलवार, प्रह्लाद गिरी गोश्वामी, करिमा बेगम, जनत अन्सारी, अन्जु यादव, भीमा यादव र रागिनीदेवी वनरावलले मिलेर अर्को छुट्टै प्रस्ताव दर्ता गराएका छन्। उक्त प्रस्ताव अनुसार विरगंज राजधानी हुनुपर्ने र यसको चौहदी विन्दावासीनी, पोखरीया, सखुअवा, पर्सागढी, जितपुर, निजगढहुँदै सिम्रौनगढसम्म तोकिनुपर्ने हुन्छ ।

बिहीबार दर्ता भएका नाम र राजधानी सम्बन्धी प्रस्तावहरु उपर प्रक्रिया अघि बढाउन शनिबार प्रदेशसभा बैठक बोलाइएको सभामुख सरोजकुमार यादवले जानकारी दिए । प्रदेशसभा बैठकमा सबै प्रस्ताव प्रस्तुत भइसकेपछि नियमानुसार छलफल प्रक्रियामा अघि बढ्ने बताउँदै सभामुख यादवले भने, ‘नियमावलीले निर्देशन गरे बमोजिम प्रक्रियामा लगेर केही दिनभित्रै प्रदेशको नामकरण र राजधानीको विषय टुंग्याइनेछ ।’