प्रदेशको नाम ‘मधेस प्रदेश’ र राजधानी वीरगंज हुनुपर्छ : सांसद अञ्जु यादव

2288

वीरगंज, भादौं ५ – राष्ट्रिय जनता पार्टी नेपालकी प्रदेशसभा सदस्य डा. अञ्जु कुमारी यादवले प्रदेश नं. २ को नाम ‘मधेस प्रादेश’ र राजधानी वीरगंज हुनुपर्ने माग गरेकी छन् । प्रदेश सांसद डा. यादवले बिहिबार प्रदेशसभा सचिवालयमा प्रदेशको नाम ‘मधेस प्रदेश’ र राजधानी वीरगंज हुनुपर्ने माग राख्दै सुझाव प्रस्ताव समेत दर्ता गराएकी छन् ।

सुझाव प्रस्ताव दर्ता गरेर सञ्चारकर्मीहरु संग कुरा गर्दै डा. यादवले मधेस आन्दोलनको केन्द्रबिन्दु रहेको वीरगंजलाई राजधानी बनाउनु हरेक मधेसी जनताको दाइत्व रहेको बताईन । ‘मधेस आन्दोलनको केन्द्रबिन्दु वीरगंज रहयो, संबिधानको मस्यौदा आएको दिन देखि आन्दोलन चलेसम्म वीरगंजले आफ्नो कर्तव्य निर्वाह गर्यो ,’ डा. यादवले भनिन, ‘वीरगंजले गरेको योगदानलाई कदर गर्दै यसलाई प्रदेशको राजधानी बनाउनु हरेक मधेसी जनताको कर्तव्य हो ।’



डा. यादवले प्रदेशको नाम पनी मधेसको संस्कृती, परम्परा र महानतालाई झल्काउने राख्नु पर्ने आफुले सुझाव दिएको बताईन । ‘मधेसको ईतिहास, संस्कृती, परम्परा र महानतालाई झल्काउने खालको प्रदेशको नाम हुनुपर्छ,’ यादवले भनिन, ‘तसर्थ प्रदेशको नाम बारे धेरै चर्चा नगरे सिधै मधेस प्रदेश राख्नु पर्छ ।’ प्रदेशसभा सांसद यादवले प्रदेशको राजधानी वीरगंजलाई नबनाएर अन्य कतै सारे ठुलो विवाद समेत् हुनसक्ने बताईन ।