×

वीरगन्ज २९ साउन । गाडी आयातकर्ताले बैंकको ब्याज बचाउन भन्सार परिसरमा नियमविपरीत कब्जा जमाएका छन् । व्यवसायीको यस्तो मनपरीमा भन्सार प्रशासन उदासीन देखिएको छ । भन्सारमा आइपुगेको गाडी ६० दिनभित्र जाँचपास गराउनुपर्ने नियम छ । तर, व्यवसायीले यो प्रावधानलाई लत्याएका छन् ।

तोकिएको समयभित्र जाँचपास नभएका गाडी भन्सारले जफत गर्न सक्ने नियम छ । नियम मिच्ने आयातकर्तालाई भन्सारले चाँडो जाँचपास गराएर लैजान मौखिक आग्रहबाहेक अरू केही गरेको छैन । यसबाट व्यवसायीको अनधिकृत रवैयालाई मलजल मिलेको छ ।

वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी) भन्सारमा गाडीको पार्किङ ३ सय दिनभन्दा बढी पुगेको नेपाल इन्टरमोडल यातायात विकास समिति (एनआईटीडीबी) का वीरगञ्ज कार्यालयका प्रमुख हेमेन्द्रमोहन शाहीले बताए । नेपालतर्फको जाँच चौकी सञ्चालनको जिम्मा एनआईटीडीबीले लिएको छ ।

आईसीपी र वीरगञ्जको इनार्वा भन्सारमा ४ सय १३ ओटा जीप÷कार थन्किएका छन् । आईसीपीमा यसरी राखिएका गाडीको संख्या सोमवारसम्ममा २८८ पुगिसकेको जानकारी शाहीले दिए । वीरगञ्जस्थित इनार्वामा १२५ ओटा यस्ता सवारीसाधन जाँचपास हुन बाँकी रहेको वीरगञ्ज भन्सारका सूचना अधिकारी मनीष महतोले बताए । ‘जफतको प्रक्रिया अघि बढाउँदा ठूलै विवाद हुन सक्छ । व्यावहारिक कठिनाइलाई ध्यानमा राखेर यो प्रक्रिया अपनाइएको छैन,’ महतोले भने ।

गाडी आयातको उच्च राजस्व र गोदाम भाडामा लाग्ने ब्याजबाट जोगिन आयातकर्ताले भन्सार परिसरलाई गोदामको रूपमा दुरुपयोग गरेका हुन् । गाडी आयातमा ३५० प्रतिशतसम्म राजस्व तिर्नु पर्दछ । भन्सारमा आइपुगेका गाडी तत्कालै जाँचपास गराउँदा तिर्नुपर्ने ब्याजको तुलनामा पार्किङको जरीवाना अत्यन्तै न्यून पर्ने आयातकर्ता बताउँछन् ।

प्रायः महँगा गाडी आयातमा यस्तो दुरुपयोग भेटिएको छ । ग्राहकले गाडी बुक गरेपछिमात्रै व्यवसायीले भन्सार प्रक्रिया अघि बढाउँछन् । व्यवसायीले आईसीपीमै लामो समयसम्म गाडी पार्किङ गर्दा व्यवस्थापनमा कठिनाइ भइरहेको एनआईटीडीबीका प्रमुख शाहीको गुनासो छ ।

एनआईटीडीबीले शुरूको एक दिन निःशुल्क पार्किङको सुविधा दिन्छ । ‘पहिलो ७ दिनसम्म प्रतिगाडी ३२१ रुपैयाँका दरले जरीवाना लाग्छ । ७ दिनपछि यो दर ४२८ रुपैयाँ पुग्छ,’ शाहीले बताए । यो रकम एक महीनामा १२ हजार १०० रुपैयाँ हुने बताइएको छ ।

वीरगञ्जको इनर्वा र आईसीपीबाट बराबरजसो गाडी भित्रिन्छन् । आईसीपीमा रोकिएका आधाभन्दा बढी गाडीको पार्किङ अवधि सय दिनभन्दा बढी पुगेको छ । आधा दर्जनभन्दा बढी गाडी ३ सय दिन कटेका छन् । यस्ता गाडीबाट गत आर्थिक वर्ष २०७५/७६ मा पार्किङ शुल्क र जरीवानामात्रै १ करोड ८५ लाख रुपैयाँ उठेको एनआइटीडीबीले जानकारी दिएको छ । ‘भन्सार जाँचपास गराउनुभन्दा पार्किङको जरीवाना कम पर्ने भएपछि व्यवसायीले पार्किङ क्षेत्रलाई ओगटेर राखेका छन्,’ शाहीले भने ।

केही आयातकर्ताले भारतीय सीमावर्ती क्षेत्रमा जग्गा भाडामा लिएर गाडी गोदाम बनाएका छन् । भारतीय शहर रक्सौल आसपासका क्षेत्रमा करीब १ हजार गाडी यसरी राखिएका छन् ।

Back to top