वीरगंज महानगरको लापरवाहीको कारण श्रीसिया नदी प्रदूषण, पानी प्रशोधन केन्द्रको नाममा आँखामा छारो

194

वीरगंज, २९ साउन ।  श्रीसिया खोलाको प्रदूषण सम्बन्धमा वीरगंज महानगरपालिका लापरवाह देखिंदै आएको छ । श्रीसिया नदी प्रदूषण न्यूनीकरणका लागि मनपाले पहल गर्नुपर्नेमा उल्टो थप प्रदूषण गर्दै आएको कारण श्रीसिया नदी प्रदूषणमुक्त हुन सकेको छैन ।

मनपाले केही वर्षयता महानगरका सम्पूर्ण फोहर श्रीसिया नदीको किनारमा फाल्दै आएको कारण श्रीसिया नदी झनै प्रदूषणको शिकार भएको हो । नपा, उपमनपाबाट महानगरमा परिणत हुँदासमेत फोहर व्यवस्थापन केन्द्र निर्माण गर्न हुन नसक्दा श्रीसिया नदीलाई नै अघोषित डम्पिङ साइटको रूपमा मनपाले प्रयोग गर्दै आएको हो ।



वीरगंज–१३ पद्मरोडमा रहेको श्रीसिया पुलदेखि मितेरीपुलसम्म श्रीसिया नदीको किनारमा महानगरपालिकाले फोहर फाल्दै आएको छ । अहिले शङ्काराचार्य गेट नजीक फोहरको डुङ्गुर बनाएको मनपाले मितेरी पुलनिर पुनः श्रीसिया नदी छेउमा फोहर फाल्दै आएको छ । एडिबीको सहयोगमा फोहर व्यवस्थापन केन्द्र निर्माण शुरू भएको दुई वर्ष बित्न लाग्दापनि पचास प्रतिशतभन्दा बढी काम हुन सकेको छैन ।

पप्पु कन्स्ट्रक्शनका सञ्चालक सुमित रौनियारले एडिबी र मनपाले दिनुपर्ने रकममा ढिला भएको भन्दै काम ढिलो भएको तर्क दिंदै आएका छन् । उनले थप म्यादका लागि दिएको निवेदन विचाराधीन छ । निर्माण सकिने बेलामा पचास प्रतिशत पनि काम पूरा नभएको कारण म्याद थप्ने अथवा के गर्ने भन्ने विषयमा निर्णय भएको छैन ।

श्रीसिया नदीलाई प्रदूषणमुक्त बनाउन विभिन्न चरणमा आवाज उठ्ने गरेको छ । प्रत्येक वर्ष छठपूजाको बेला स्थानीय प्रशासनले श्रीसिया नदी सफाइ अभियान शुरू गर्छ र उद्योगहरूलाई चेतावनी दिन्छ । त्यसपछि श्रीसिया नदीको विषय गौण हुन्छ । केही वर्ष अगाडि श्रीसिया नदी प्रदूषण सम्बन्धमा गठित समितिका संयोजक पत्रकार रितेश त्रिपाठीले श्रीसिया नदी सम्बन्धमा सरोकारवाला निकाय गम्भीर नभएको बताएका छन् । उनले आपूmले दिएको प्रतिवेदन कार्यान्वयन नभएको बताए ।

त्रिपाठीले श्रीसिया नदी पद्रदूषणमा सबैभन्दा प्रमुख भूमिका रहेको छाला उद्योगहरूमध्ये एउटाले मात्र आधुनिक पानी प्रशोधन केन्द्र बनाएको र अन्य ६ वटाले पुरानै विधिबाट पानी प्रशोधन गर्दै आएको बताए । उनले आधुनिक प्रशोधन केन्द्र स्थापना गरेको नारायणी लेदर मिलमा रहेको पानी प्रशोधन केन्द्र सञ्चालित छैन ।

त्यसैगरी ६ वटा छाला मिलको पानी प्रशोधन प्रविधि पुरानो रहेको कारण ती उद्योगहरूबाट निस्किने पानी प्रशोधन हुनुको साटो झन् बढी फोहर अवस्थामा बगिरहेको बताएका छन् । यसको अलावा श्रीसिया नदी प्रदूषणमा सिमरादेखि वीरगंजसम्म ४६ वटा उद्योग प्रत्यक्ष र सयौं उद्योग अप्रत्यक्ष भागीदार देखिएका छन् । उनीहरूलाई अहिलेसम्म पानी प्रशोधन नगरी खोलामा बगाउन कुनैपनि पक्षले दबाब दिन सकेको छैन, न कारबाई नै गर्न सकेको छ ।

श्रीसिया नदीकै सन्दर्भमा छिमेकी भारत, रक्सौलमा श्रीसिया नदी बचाऊ अभियान चालिएको छ । केही वर्षदेखि सो अभियानलाई निरन्तरता दिंदै आएका डा अनिल सिन्हाले यो मुद्दालाई भारतमा जोडतोडका साथ उठाउँदै आएका छन् ।

 प्रशासनदेखि संसद्सम्म श्रीसिया नदीको मुद्दा उठान गर्दै आएका डा सिन्हाको आवाजलाई अहिलेसम्म कसैले सुनेको छैन । सबैले आश्वासन मात्रै दिइरहेका छन् । श्रीसिया नदी सन्दर्भमा रक्सौलमा बेलाबेलामा ¥याली र विरोधका कार्यक्रमहरू हुँदै आएको छ ।

पानी प्रशोधन केन्द्र -आँखामा छारो

 एडिबीको सहयोगमा वीरगंज मनपाले हालै सञ्चालनमा ल्याएको पानी प्रशोधन केन्द्र आँखामा छारो हाल्ने काम मात्र भएको छ । रु ९० लाखको लागतमा छपकैयामा निर्मित सो पानी प्रशोधन केन्द्र उद्घाटनपछि सञ्चालनमा आउन सकेको छैन ।

सञ्चालनमा आउन नसक्नुको कारण पानी प्रशोधन केन्द्रका लागि आवश्यक पानी नपुग्नु नै हो । एकजना प्राविधिकले पानी प्रशोधन केन्द्र सञ्चालनको लागि १० लाख मिलिलिटर पानी आवश्यक भएको तर अहिलेसम्म ०.१ प्रतिशत पनि पानी प्रवाह नभएको बताए । मनपाको १ हजार घरधुरीबाट निस्किने शौचालयको पानी र नालाको पानी सो प्रशोधन केन्द्रमा जाने र त्यहाँबाट प्रशोधित भएर श्रीसिया नदीमा फाल्ने योजना अनुरूप पानी प्रशोधन केन्द्रको स्थापना गरिएको हो ।

अन्तर्राष्ट्रिय नियम अनुसार भारतमा समेत सो नदी बग्ने हुनाले पानी प्रशोधन गरेर पठाउनुपर्ने बाध्यकारी अवस्थाले गर्दा पानी प्रशोधन केन्द्रको स्थापना गरिएको हो । तर पर्याप्त पानी नपुग्दा उद्घाटन भएको दुई महीनाभन्दा बढी बितिसक्दा पनि प्रशोधन केन्द्र सञ्चालनमा आउन सकेको छैन । असार २४ गते आएको बाढीको समयमा मात्र केन्द्रलाई आवश्यक १० लाख मिलिलिटर पानी पुगेको थियो । त्यसपछिको अवस्थामा पानी पुग्न नसकेको कारण अहिलेसम्म पानी प्रशोधन केन्द्र सञ्चालनमा आउन सकेको छैन । prateekdaily.com/बाट