×

वीरगन्ज, २८ साउन । भारतसंग सीमा जोडिएको पर्साको ठोरी नाकाबाट सोमबार प्रहरीले ३ जना नेपाली युवतीको उद्दार गरेको छ । उद्दार गरिएका तीनै युवती तनहुँको घिरिङ गाउँपालिका वडा नम्बर ४ का रहेका छन् । उद्धार गरिएका मध्ये दुईजना २२ वर्षका र एक जना २५ वर्षकी युवती रहेको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक केदारराज पन्तले जानकारी दिए ।

चितवन भरतपुरको चौबीस कोठीबाट ठोरीका लागि छुटेको ना ५ ख २४५० नम्बरको कोइराला ट्राभल्स बसमा चढेर सोमबार उनीहरु ठोरी नाका पुगेका थिए ।

तीनै युवतीलाई भारतको दिल्लीमा रहेको एक श्रृंगार कम्पनीमा सामान प्याक गर्ने काममा लगाइदिने भन्दै लैजाने एक भारतीय नागरिक सहित ३ जनालाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक पन्तले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा भारतको बेतिया पिपरा घर भएका बृजेश कुमार, तनहुँको देवघाट ५ का ४४ वर्षीय यादवप्रसाद धिताल र घिरिङ गाउँपालिका–४ का १९ वर्षीय किसन विश्वकर्मा रहेका छन् ।

धितालकै योजना बमोजिम तीनै जना युवतीलाई भारतको दिल्लीमा रहेको एक श्रृंगार कम्पनीमा काम लगाइदिने बाहनामा भारत पु¥याउन लागेको तथा बाटोमा कसैले सोधेमा किसान विश्वकर्माको दिदी बहिनी नाता पर्छौ भन्न युवतीहरुलाई सिकाएको प्रहरी निरीक्षक पन्तले बताए ।

ठोरी नाकामा सोमबार बसबाट झरेका युवतीहरुको गतिविधि शंकास्पद लागेपछि सोधपुछ गर्ने क्रममा उनीहरुको उद्दार गरिएको र युवतीका घरपरिवारसँग सम्पर्कको प्रयास भइरहेको तथा युवतीहरुलाई भारत लैजाने ३ जना पूरुषलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक पन्तले जानकारी दिए ।

Back to top