अब पनि सरकारमा बसिरहनु पार्टीको हितमा हुँदैन : सांसद यादव

330

वीरगन्ज २० साउन । प्रतिनिधिसभा सदस्य तथा समाजवादी पार्टीका प्रभावशाली युवा नेता प्रदीप यादवले सरकारबाट बाहिरिनुपर्ने कुरामा कार्यकर्ताहरुको दबाबभन्दा पनि हाम्रा नेतृत्वपंक्ति नै बढी गम्भीर रहेको बताएका छन् ।

सरकारबाट बाहिरिने वा बस्ने विषयमा नेताहरुबीच छलफल चलिरहेको सांसद यादवले बताएका छन् । मधेशवाणी रेडियो कार्यक्रमअन्तर्गत एक अन्तर्वार्तामा उनले सो कुरा बताएका हुन् ।



उनी भन्छन्, ‘यस विषयमा नेतृत्वपंक्तिले चाँडै नै औपचारिक निर्णय गर्नुहुन्छ । एउटा निष्कर्षमा पुग्ने विषयमा निर्णय गर्न ढिलाई गर्नु पार्टी, देश र जनताको हितमा हुँदैन । त्यसैले, यो विषयमा हाम्रा नेताहरु गम्भीर छन् ।’

जुन उद्देश्यका लागि पार्टी सरकारमा गयो, त्यो उद्देश्य पूरा हुँदैन भने सरकारमा बसिरहनुको औचित्य छैन भन्ने मनोस्थितिमा नेताहरु पुगिसकेको सांसद बताउँछन् । उनले भने, ‘सरकारका प्रमुखलाई भेटेर हाम्रा नेताहरुले चाँडै नै एउटा अल्टिमेटम दिनुहुन्छ ।’

संविधान संशोधन गर्छ भनेर यो सरकारले वाचा पनि गरेको थियो । त्यो वाचा पूरा गर्ने वा नगर्ने विषयमा सरकारलाई अन्तिम पटक समाजवादी पार्टीले सोध्ने र त्यसपछि समाजवादीले आफ्नो औपचारिक निर्णय गर्ने नेता यादवले बताए ।

‘पहिला त प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन ‘स’ पनि सुन्न चाहनुहुन्थेन । तर, संशोधन गर्छु भनेर हामीसँग लिखितरुपमै सहमति गर्नुभएको छ ।’ उनले भने, ‘उहाँले बारम्बार भन्नुहुन्छ कि यो संविधान कुनै धार्मिक ग्रन्थ होइन, संशोधन हुन्छ । तर, प्रधानमन्त्रीको कथनी र करणीमा फरक छ । त्यसैले हामी सशंकित छौं कि उहाँले संशोधन गर्नुहुन्न ।’