×

वीरगन्ज १९ साउन । वीरगन्जमा रहेको एम.बी केडिया डेन्टल कलेजका व्यवस्थापक पक्षले सामूहिक राजीनामा दिएका छन् । वीरगन्जको भन्सारस्थित छपकैयामा रहेको डेन्टल कलेजमा विगत दुई सातादेखि त्यहाँका कर्मचारीहरुको आन्दोलनले गर्दा पठनपाठन पूर्ण रुपले ठप्प हुँदा व्यवस्थापन पक्षले कुनै सुनवाई नगरेको आरोप लाग्दै आएको थियो ।

कलेजमा करिब १ सय ३० जना अध्ययनरत छन् । कलेजमा एमबिबिएसका दोश्रो, तेश्रो र चौथौ वर्षको अध्ययनरत विद्यार्थीहरु अहिले अलपत्रमा परेका छन् ।

तर, व्यवस्थापन पक्षको लापरवाहीले अहिले विद्यार्थीहरु अलपत्र परेका छन् । कलेजका प्रबन्ध निर्देशक राजेश केडियाले कलेजमा कार्यरत कर्मचारी, शिक्षक र चिकित्सकहरुलाई समयमै तलब नदिएपछि उनीहरु दुई सातादेखि आन्दोलनमा उत्रिए पनि वार्ताको कुनै पहल भएको छैन । शुक्रबार कर्मचारीहरुको आन्दोलनले पूर्ण रुपमा पठनपाठन ठप्प भएको थियो ।

कालेजका विद्यार्थीहरुले शुक्रबार नेपाल ट्रेड युनियन कांग्रेससँग आबद्ध कालेजका एकाई समितिका अध्यक्ष उपेन्द्र यादवसहित २५ जनाभन्दा बढी कर्मचारीहरुलाई कोठामा थुनेर ताल्चा लगाएका थिए ।

प्रहरीले वार्ताको लागि आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाएपछि शुक्रबारको आन्दोलन बिथोलिएको थियो । तर, दिर्घकालिन समस्या समाधानका निम्ती प्रहरीले समेत आवश्यक पहल गर्न नसकेपछि शनिबार स्थगित गरेको आन्दोलन पुनः आइतबारदेखि विद्यार्थीहरुले शुरु गरेका छन् ।

कालेजका प्रबन्ध निर्देशकको पुत्ला बनाएर प्रर्दशन गरेका विद्यार्थीहरुले प्रशासन राजीनाको माग, एनएमसि मुर्दाबाद, टियु मुर्दाबाद, आईओएम मुर्दाबाद, डेन्टल कलेजको न्यूनत्तम पूर्वाधार पूरा गर, विद्यार्थीहरुको अधिकार सुनिश्चित गत लगाएर अंकित प्लेकार्ड लिएर कलेजमा विरोध समेत गरेका हुन् ।

आइतबार विद्यार्थीहरुले कडा रुपमा विरोधमा उत्रेपछि कलेजका व्यवस्थापक पक्षले सामूहिक राजिनामा दिएका हुन् । कलेजका प्रमुख प्रशासकिय अधिकृत विनोद गुप्ता, सहायक प्रमुख प्रशासकिय अधिकृत देवानन्द चौधरी, प्रशासकिय अधिकृत राजेन्द्र शर्मा र लेखापाल अनिल दासले कलेजबाट सामूहिक राजीनामा पत्रमा हस्ताक्षर गरे प्रबन्ध निर्देशकलाई बुझाएको छ । व्यवस्थापकिय पक्षले राजीनामा दिएको बारे स्थानिय प्रशासनलाई समेत मौखिक जानकारी गराइएको छ ।

यसैगरी कलेजका प्रबन्धकले कलेजमा देखिएको समस्या समाधान गर्न नसकेका कारण अनावश्यक तनाव झेल्न नसक्दा सामूहिक राजीनामा दिएको कलेजका एकजना शिक्षकले नाम नबताउँने सर्तमा बताएका छन् । उनले भने, ‘प्रबन्ध केडियालाई शिक्षक, कर्मचारी र चिकित्सकहरुको समस्या समाधान गर्न आवश्यक पहलका लागि बारम्बार ताकेता गर्दा समेत कुनै सुनवाई नभएपछि सामूहिक राजीनामा दिएका हुन ।’

Back to top