×

वीरगन्ज २५ असार । वीरगन्ज नाका लगायत अन्य नाकाबाट व्यपारीहरु ब्यापक राजस्व चुहावट गर्न थाले पछि सरकारले चुहावट नियन्त्रणका लागि भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम कार्यान्वयन गर्न लागिएको छ ।

सरकारले मालवस्तुको आन्तरिक औसारपसारका क्रममा हुने राजस्व चुहावट नियन्त्रणका लागि भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम कार्यान्वयन गर्न राजपत्रमा सूचना प्रकाशन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव विष्णुप्रसाद लम्सालले वेबमा आधारित यो प्रणाली साउन १ गतेबाट सञ्चालनमा आउने व्यहोरासहितको सूचना राजपत्रमा प्रकाशित गरेका छन्।

आन्तरिक ढुवानीका सवारी साधनको अनलाइन अनुगमनका लागि राजस्व अनुसन्धान विभागले वेबमा आधारित यो प्रणालीको विकास गरेको थियो।

यो प्रणालीअनुसार अब सामान छुटाउँदा सम्पूर्ण विवरण वेब प्रणालीमा इन्ट्री गरी क्यु आर कोड जेनेरेट गर्नुपर्छ। साथै अनलाइनबाट पनि त्यो निगरानी भइरहेको हुन्छ। सामान गन्तव्यमा पुगेपछि प्राप्त गर्नेले पुन जानरकी इन्ट्री गराइ सामान बुझ्न सक्छ।

ट्रकमा सामान भरेपछि हिँड्ने बेलामा सामान पठाउने संस्था तथा व्यक्तिको नाम, स्थायी लेखा नम्बर, प्राप्त गर्नेको नाम, स्थायी लेखा नम्बर, चालकको नाम, ठेगानालगायतका विवरण अनलाइनमा राखिन्छ।

त्यसका अतिरिक्त ट्रकमा लोड गरिएको सामानको विवरण, प्रकृति तथा त्यसको परिमाण पनि अनलाइनमा राखिन्छ। विभागको अनलाइन संयन्त्रबाट त्यो गाडी गन्तव्यमा पुगेरनपुगेको, भनेअनुसार सामान पाए नपाएको विवरण फेरि अनलाइनमा प्रविष्ट गरी सामान बुझ्न पाउँछ।

यो प्रणाली वस्तु उत्पादक, ढुवानीकर्ता, थोक विक्रेता, आयातकर्ताले अवलम्बन गर्नुपर्ने विभागले जनाएको छ।

Back to top