×

काठमाडौं, १७ असार । राष्ट्रिय गौरवको योजनाको नाम दिइएको सिक्टा सिंचाईका अधिकारीहरूको मिलेमतोमा भइरहेका भ्रष्टाचारजन्य क्रियाकलपका कारण यो योजना राष्ट्रिय लज्जाको विषय बनेको छ । आयोजनाका अधिकारीहरू र ठेकेदारको मिलेमतोमा हुन लागेको ठूलो आर्थिक चलखेलको रहस्य बाहिर आएको छ । आयोजनाले सार्वजनिक खरीद ऐनको प्रावधानविपरीत ठेकेदार नै तोकेर प्रतिस्पर्धा गराएर करोडौं कुम्ल्याउने योजना तत्काललाई तुहिएको छ । सिक्टाको डुँडुवा नहरको यसअघि कोस्टल पप्पु जेभीसँग एकतर्फी ठेक्का तोडेर पप्पु पछाडिको चाइना हार्बर÷कुमार जेभीलाई ठेक्का पार्ने प्रपञ्च सफल पार्न ७ ओटामात्र कम्पनीलाई प्रतिस्पर्धामा सहभागी हुन पाउने गरी सूचना निकालेको थियो । जबकि, यसअघिको ठेक्का सम्झौताको विवाद मध्यस्थकर्तामा विचाराधीन छ । मध्यस्थकर्ताको निर्णय छल्न गत जेठ २८ गते १५ दिनको अवधि राखेर हतारमा ठेक्का आह्वान गरिएकोमा अन्तिम समयमा आएर प्रक्रिया नै रद्द गरिएको छ । खरीद ऐनविपरीत आह्वान गरिएको ठेक्का प्रक्रियामा अख्तियार लाग्ने डरले रद्ध गरिएको स्रोतले बताएको छ । अहिले ठेक्का रद्ध गर्नुमा एक तिर दुई निशाना भएको स्रोतको दाबी छ । अहिले रद्ध गरेर अख्तियारको कारवाहीबाट बच्ने र आउँदो नयाँ आर्थिक वर्षका नयाँ दर प्रकाशित गरी बढी रेटमा ठेक्का लगाएर ठेकेदारलाई मालामाल बनाउने भित्री खेल रहेको बुझिएको छ । यसरी ठेकेदार पोसेवापत सिक्टाका मुख्य अधिकारी र चल्तापूर्जाहरूले अनधिकृत आर्थिक उपार्जन गर्ने योजना बनेको बताइएको छ ।

Back to top