×

वीरगंज, ३० जेठ । नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष रविन्द्र प्रसाद साहको निलम्बन फुकुवा भएको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले मंगलबार पत्र जारी गर्दै बैशाख २१ र २२ गतेको बैठक पछि रौतहट शाखाका अध्यक्ष साह र निवर्तमान सचिव राजेन्द्र क्षेत्रीको निलम्बनलाई निरन्तरता नदिएको जानकारी गराएको छ ।

विना कार्य समितिको निर्णय बमोजिम शाखाका उपाध्यक्ष उत्तम उपाध्यायले लिएको एक लाखको चेक बाउन्स गराएर अध्यक्ष साहमा उजुरी गर्दा २०७५ चैत्र ५ गतेदेखि लागू हुने गरी ४५ दिन निलम्बन गरेको थियो ।

अध्यक्ष साहको करिबी मानिने उपाध्यक्ष उपाध्यायले मङ्सिर १ गते भएको साधारण सभाको खर्चको भुक्तानी दिन विना निर्णयको १ लाखको चेक आफ्नो नाउँमा लिएका थिए ।

बंकुलमा भएको साधारण सभाको खर्च अध्यक्ष साहले भुक्तानी गरिसकेपछि काटिएको चेक फिर्ता माग्दा हराइसकेको भनेको उपाध्यायले पछि नियतवश चेक बाउन्स गराएको अध्यक्ष साहले जिकिर गरेका थिए ।

मधेशवादी विचारधारा भएका अध्यक्ष साहलाई बामपन्थी विचार बोकेका उपाध्यक्ष उपाध्यायले निलम्बन गराउन भूमिका निर्वाह गरेका थिए ।

Back to top