×

बीरगंज २९ जेठ । स्रोत नखुलेको करिब ५८ लाख नेपाली रुपैया सहित आज बाराबाट एक भारतिय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत बिहार मोतीहारी जिल्लाका वृजकिशोर कुमार रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख, प्रहरी उपरिक्षक सानुराम भट्टराईले जानकारी दिनुभयो । उनलाई शंकास्पद रुपमा ५७ लाख ७९ हजार ४९० रुपैयाँ सहित बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ७ स्थित दशजगा क्षेत्रबाट पक्राउ गरिएको भट्टराईले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी वडकी फुलवरिया बाराबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा बी.आर. ए.सी. ४४८६ नम्बरको भारतिय मोटरसाइकलमा सवार वृजकिशोरले दुबै खुट्टाको घुँडा मुनी पिडौलाको भाग, कम्मर र जिन्स पाइन्टको खल्ती तथा लगाएको हेल्मेट र मोटरसाइकलको डिक्कीमा समेत लुकाएको अवस्थामा पैसा बरामद गरिएको प्रहरी उपरिक्षक भट्टराईले बताउनुभयो ।

ठुलो परिमाणमा शंकास्पद रकम सहित पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि आजै सम्पती शुद्धिकरण अनुसन्धान विभाग पुल्चोक ललितपुर पठाइएको भट्टराईले जानकारी दिनुभयो ।

Back to top