×

वीरगन्ज २७ जेठ । बारा २७ जेठ । विद्युत प्राधिकरणको कमजोरीका कारण हाइभोल्टेज आएर घरका सबै सामानमा क्षति पुगेको विषय उठाउने स्थानीय जनता र प्राधिकरणका कर्मचारीबीच बारामा ठूलो झडप भएको छ । झडपमा परी केही स्थानीयको टाउको समेत फुटेको छ । झडपका क्रममा प्राधिकरणका कर्मचारीले बाँसको भाटाले प्रहार गर्दा तीन जना स्थानीयको टाउको फुटेको हो ।

बाराको कलैयास्थित विद्युत प्राधिकरण कार्यालयमा प्राधिकरणका कर्मचारी र उपभोक्ताबीच भएको झडपका क्रममा घाइते भएका तीनै जनाको जिल्ला अस्पताल कलैयामा उपचार भइरहेको छ ।

टाउको फुटेर घाइते हुनेहरुमा कलैया उपमहानगरपालिका वडा नम्बर ९ रामपुरका राम बिहारी राउत अहिर, वीरेन्द्र यादव र राजेश नाम गरेका एक व्यक्ति रहेका छन् ।

सोमबार बिहान ३ बजे हाइ भोल्टेज करेन्ट प्रबाह हुँदा टिभी, फ्रिज, पंखा, पानी तान्ने मोटर लगायत घरायसी विद्युतीय सामग्री जलेर नष्ट भएपछि क्षतिपूर्तिको माग गर्दै रामपुर गाउँका उपभोक्ता कलैया बजारस्थित विद्युत प्राधिकरणको कार्यालय घेराउ गर्न पुगेका थिए ।

विद्युत प्राधिकरणको लापरवाहीका कारण ठूलो क्षति भएको दावी गर्दै स्थानीयवासी कार्यालयको मूल गेटमै धर्ना र प्रदर्शनमा रहेका थिए । धर्नामा बसेर प्रदर्शन गरिरहेका उपभोक्तामाथि एकाएक प्राधिकरणका कर्मचारीले बाँसको भाटाले प्रहार गरेको स्थानीयको भनाई छ । सोही क्रममा झडप बढेको हो ।

करिब ४०÷५० को संख्यामा पुगेका स्थानीयवासीले प्राधिकरणका कलैया प्रमुख गजेन्द्र चौधरीलाई कार्यालय परिसरमा बोलाउन माग गरेका थिए । यसरी प्रदर्शन गर्न थालेपछि विद्युत प्राधिकरणका कर्मचारीले उनीहरूमाथि आक्रमण गरेको उनीहरुको दावी छ ।

प्रदर्शन गरिरहेका स्थानीयवासी बिहान ११ बजेदेखि नै प्राधिकरणको मूल गेट नै बन्द गरी धर्नामा बसेका थिए । केही घन्टापछि त्यहाँ प्रहरी आइपुगेको र प्रहरी पुगेपछि प्रदर्शनकारीमाथि प्राधिकरणका कर्मचारीले आक्रमण गरेका थिए ।

उता विद्युत प्राधिकरण कर्मचारी फोरम्यान परबेज आलमले भने भिडले कर्मचारीहरू माथि हातपात गर्न थालेपछि झडप बढेको बताए । प्रदर्शनकारीले आफूहरुमाथि आक्रमण गर्न थालेपछि आत्मरक्षाका लागि प्रतिकार गर्दा यस्तो घटना भएको उनले बताए ।

प्रहरीले तीन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ। उपभोक्ता र कर्मचारीबीच झडप भएपछि कलैयास्थित विद्युत प्राधिकरण कार्यालय सोमबार बन्द भएको छ।

Back to top