राष्ट्रिय गौरवको आयोजना भनिए पनि सरकारको उपेक्षामा निजगढ विमानस्थल निर्माण अलपत्र

75

वीरगंज २१ जेठ ।  सरकारले राष्ट्रिय गौरवको आयोजनाको सूचीमा राखेको बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तरराष्ट्रिय विमानस्थललाई उपेक्षा गरेको छ । तर, उड्डयन क्षेत्रका विज्ञहरू र संसदीय समितिले पनि अनुपयुक्त मानेको काभ्रेमा वैकल्पिक आन्तरिक विमानस्थल निर्माणलाई आर्थिक वर्ष (आव) २०७६/७७ को बजेटले ब्यूँताएको छ ।

आव २०७६/७७ को बजेटमा सरकारले हवाई क्षेत्रका लागि रू. १५ अर्ब ८६ करोड बजेट विनियोजन गरे पनि निजगढ विमानस्थलबारे कुनै ठोस कार्यक्रम समावेश गरेको छैन । बजेटमा भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई रू. ३ अर्ब र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थललाई रू. ८ अर्ब विनियोजन गरिएको छ । निजगढ विमानस्थलको हकमा प्रारम्भिक काम मात्र अगाडि बढाइने भनिएको छ । ‘निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणको पूर्वतयारी कार्य अघि बढाइनेछ,’ बजेटमा उल्लेख छ ।



निर्माण प्रक्रिया अलपत्र
राष्ट्रिय गौरवको आयोजना भनिए पनि निजगढ विमानस्थल निर्माण अलपत्र छ । २२ वर्षभन्दा बढी समयदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्पमा निजगढमा दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माण गर्ने सरकारी योजना छ ।

भैरहवा विमानस्थल सञ्चालनको तयारी भइरहेकाले अब निजगढमा प्रस्तावित उक्त विमानस्थल दोस्रो अन्तरराष्ट्रिय विमानस्थल पनि रहेन ।

उक्त विमानस्थलका लागि चालू आव २०७५/७६ मा छुट्याइएको रू. १ अर्ब ५० करोड पनि खर्च हुन सकेन । उक्त विमानस्थल निर्माणका लागि सरकारले दुईओटा मोडल प्रस्ताव गरेको छ– सार्वजनिक–निजी साझेदारी र इन्जिनियरिङ, खरीद, निर्माण र वित्त व्यवस्थापन (ईपीसीएफ) । गत चैत १५–१६ मा भएको लगानी सम्मेलनमा लगानी बोर्डले सार्वजनिक निजी साझेदारी मोडलमा उक्त विमानस्थल निर्माण गर्न सकिनेगरी प्रस्ताव गरेको थियो । त्यसमा केही विदेशी कम्पनीले रुचि देखाएकाले मोडालिटीबारे खासै समस्या नरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने बताउँछन् । उक्त विमानस्थलमा प्रारम्भिक कामका लागि निरन्तर रकम विनियोजन भइरहेकाले बजेटको समस्या नहुने उनको भनाइ छ ।

स्थानान्तरण हुन सकेन टाँगिया बस्ती
आयोजना प्रभावित बारागढीमाई नगरपालिका–१६ स्थित टाँगिया बस्तीका १ हजार ४०० घरधुरीलाई स्थानान्तरण गर्नुपर्छ । त्यहाँको ११० बिगाहा जग्गा अधिग्रहणका लागि सबै प्रक्रिया पूरा गरेर सम्बद्ध जग्गाधनीलाई मुआब्जा दिने तयारी भएको छ । तर, हालसम्म सरकारले उक्त बस्तीलाई स्थानान्तरण गर्न सकेको छैन ।

टाँगिया बस्तीलाई अन्यत्र सार्न तीनओटा वैकल्पिक स्थान चयन गरिएको छ । सिमरास्थित विमानस्थल आयोजना कार्यालयले बाराकै पिलुवा, हरैया र कोल्हवी नगरपालिकाको उत्तरपट्टि रहेको तामागढी क्षेत्रमध्ये एक ठाउँमा सार्न सकिने बताएको थियो । विमानस्थलको धावनमार्गको बीचमै परेको उक्त बस्ती अन्यत्र सार्न करीब रू. ४ अर्ब लाग्ने अनुमान छ । बस्तीमा हाल १ हजार ४७६ घरधुरीका करीब १० हजार जनसंख्याको बसोवास छ ।