पाँच लाखको योजनामा १ लाख २५ हजार वीरगन्जका मेयर तथा इन्जिनियर ओभरसियरको कमिसन !

1118

वीरगन्ज २० जेठ । वीरगन्ज महानगरपालिका–१६ नगवामा निर्माणाधिन सडकको काम गुणस्तरहीन रहेको पाइएको छ। नगवामा निर्माण भइरहेको करिब ३ सय ४० मिटरको सडक ढलान कार्य गुणस्तरहीन भेटिएको हो।

स्थानीय समाजवादी पार्टीका नेता श्यामसुन्दर चौरसियासहितका चार जनाले कोटेशनमार्फत ठेक्का सकार गरेका सडकमा व्यापक अनियमितता भएको हो। वडा समिति कार्यालयले ३ सय ४० मिटर सडक ढलानको लागि ५ लाख रुपैयाँ छुट्याएको थियो।



समाजवादी पार्टीकै नेता कार्यकर्ताले वडाध्यक्षकै पहलमा कोटेशनमार्फत सडक निर्माण गर्ने ठेक्का पाएका थिए। तत्कालिन संघीय समाजबादी पार्टीको सिटबाट चुनाव जितेका श्यामबाबु चौरसिया वडाध्यक्ष हुन।

३ इन्च ग्राभेल गरेर ४ इन्च ढलान गरी ७ इन्चको मोटो सडक निर्माण गर्नुपर्ने भए पनि ठाउँ–ठाउँमा देखावटी रुपमा मात्र बालुवा गिट्टी छरेर त्यसमाथि २–३ इन्च मात्र ढलान गरिएको स्थानीयले आरोप लगाएका छन्। ठेक्का सकार गरेका ठेकेदार श्यामसुन्दर चौरसियाले ३ सय ४० मिटर सडक ढलानको ठेक्का पाए पनि आफूहरूले ३ सय ८० मिटरसम्म सडक निर्माण गर्ने कार्य गरिरहेको बताए।

‘कुनै ठाउँमा ११ फिट चौडा सडक छ। कुनै ठाउँमा १३ फिट चौडा सडक छ’, उनले भने,‘सबैलाई मिलायो भने ३८० मिटर सडक पुग्छ त्यही रकममा सबै काम पुरा गरिरहेका छौ।’

५ लाखको बजेटमा २५ प्रतिशत महानगरपालिकाका इन्जिनियर र ओभरसियर लगायतका मेयरलाई बुझाउँदा मात्र बिल पास हुने चौरसियाले गुनासो गथरे। ‘महानगरपालिकामा पहिला कमिसनको रकम नै लिने गरेका छन्’, उनले भने, ‘अनि मात्र हाम्रो योजना पास हुन्छ।’

गुणस्तरहीन कामको बारेमा महानगरपालिकाका सब इन्जिनियर मोहनलाल यादवसँग बुझ्दा उनले भने, ‘वीरगन्ज महानगरपालिकामा धेरै योजना चलिरहेका छन्, एक ठाउँमा उभिएर काम गराउन सकिदैन। स्थानीयलाई स्टिमेट अनुसार काम भएन भने आफूलाई जानकारी गराउँन आग्रह गरेको छु।’

यादवकै रेखदेखका यो सडक निर्माण भइरहेको छ। मापदण्ड विपरितका कार्य भइरहँदा स्थानीयले काम नै रोकेर विरोध गरेपछि योजना स्थलमा पुगेका वडाध्यक्ष श्यामबाबु चौरसियाले मापदण्ड अनुसार नै काम गर्न ठेकेदारालाई निर्देशन दिएका थिए। तर, वडाध्यक्ष चौरसियाको आदेशलाई समेत उल्टाउँदै ठेकेदारले लागत अनुसार काम नगरेको फेला परेको छ।

अधिकांश ठाउँमा माटोमाथि नै ढलान गरिरहेको पाइएको छ। एक वर्षातमै सडक बिग्रेर जाने स्थानीयले बताए। ‘हतार हतार सडक ढलान गर्ने काम ठेकेदारले गरिरहेका छन्। कुनै पनि ठाउँमा ग्राभेल हालिएको छैन्’, स्थानीय श्याम साहले भने, ‘आउने बर्षातमै सडक भत्केर जाने छ। महानगरपालिकाको बजेट पुन बालुवामा पानी खन्याए जस्तो हुने छ।’

अहिले महानगरपालिकामा हुने गरेका योजनामा कमिशनको खेल हुँदा ठेक्केदारहरू गुणस्तरहीन काम गरिरहेका छन्। तर, सम्बन्धित निकाय मौन छ। महानगरपालिकाका मेयर बिजयकुमार सरावगीले नगर स्तरीय योजना प्रमुखमा राजेश चौरसियालाई राखेपनि मापदण्ड विपरीत नै अधिकांश योजना सचालन भइरहेको स्थानीयले आरोप लगाएका छन्।