×

जनकपुरधाम, जेठ १८ - मुख्यमन्त्री लालबाबु राउतले रेडियो नेपाललाई अनेकतामा एकताको सुत्राधार बन्न सुझाव दिएका छन् ।

महोत्तरी बर्दीवासमा रेडियो नेपालको प्रदेश नं. २ प्रादेशिक प्रशारण सेवाको समुदघाटन समारोहलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले मुलुकलाई एउटै भाषा , एउटै भेषको मानसिकता बाट माथि उठाउन प्रादेशिक प्रशारण मार्फत स्थानीय भाषाहरुलाई प्राथमिकतामा राख्नु स्वागत योग्य रहेको बताए ।

स्थानीय भाषामा प्रशारण गरिने समाचार, सूचना, मनोरञ्जन तथा सामग्रीहरुले सम्पूर्ण नेपालीहरुमा रेडियो नेपाल प्रतिको अपनत्व बढने उल्लेख गर्दै मुख्यमन्त्री राउतले मैथिली, भोजपुरी, बज्जिका, मगहीका, थारु साथै हिन्दि जस्ता क्षेत्रीय भाषाहरुलाई समेत प्राथमिकतामा राख्न समेत आग्रह गरे । प्रादेशिक प्रशारणको शुभारम्भ पछि केन्द्रिय प्रशारणमा रहेको मैथिली, भोजपुरी लगायतका भाषाको प्रशारणलाई समेत निरन्तरता दिन मुख्यमन्त्री राउतले सुझाव दिए ।

कार्यक्रममा प्रमुख अतिथि संचार तथा सूचना प्रविधी मन्त्री गोकुल बास्कोटाले संघीयताका जननी प्रदेश २ लाई संघीयताको सफलताको अगुवाई समेत गर्नु पर्ने उल्लेख गरे । ‘संघीयताको माग यसै भूमि बाट भएको हो, संघीयताको सफलताको लागि प्रदेश नं. २ ले चालिने कदम अन्य प्रदेशका साथै संघका लागि समेत मार्गदर्शक हुने छ' सम्बोधनमा बास्कोटाले भने ।

उनले उक्त अवसरमा सलहेश फुलवारीमा बैशाख १ गते मात्र फुल्ने सलहेश फुल (हारुनको फुल)को हुलाक टिकट प्रकाशन गरिने प्रतिबद्धता समेत जनाए ।

कार्यक्रममा प्रदेश नं. २का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले रेडियो नेपाललाई सही सूचनाको आधार स्तम्भ बननु पर्ने बताए । उनले प्रदेश नं. २ को सरकार पूर्ण संचारमैत्री रहेको उल्लेख गर्दै संचारमा कुनै प्रकारको अवरोध सृजना हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरे ।

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सभाका सदस्यहरु, स्थानीय तहका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।

Back to top