नारायणी अस्पताल : बोर्ड फेरियो तर, राजनितिक संरक्षणका कारण समस्या उस्तै

250

वीरगन्ज १८ जेठ । गत फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले टर्सरी अस्पतालमा रूपान्तरणको प्रक्रिया बढाएपछि २९ फागुनमा नारायणी अस्पतालको बोर्ड फेरिएको थियो ।

स्वास्थ्य मन्त्रालयले उपक्षेत्रीय अस्पतालको रुपमा रहेको नारायणी अस्पताललाई विशेषज्ञ सेवासहित ५०० बेडको प्रदेश २ कै नमूना अस्पतालको रुपमा स्तरोन्नती गरेको दावी पनि गरियो । प्रतिनिधिसभा सदस्य प्रदीप यादवले अस्पतालमा स्थापना गरिएको नयाँ बोर्डको उद्घाटन पनि गरे ।समाजवादी पार्टीका पर्सा जिल्ला अध्यक्षसमेत रहेका सांसद यादवले संघ सरकारको रकमबाटै अस्पतालको भवन निर्माणको काम सुरु गर्न लागिएको पनि भने ।



फागुन २९ का दिन नै भने तीन दिनदेखि इन्जिनियरहरुले नारायणी अस्पतालको भवन निर्माण हुने ठाउँको माटो परीक्षण तथा अन्य काम पनि भईरहेको जनाए तर आज ६ महिना बितिसकेयो ।तर, समाजवादी पार्टीको राजनितिक संरक्षणका कारण अस्पतालको भौतिक संरचना र जनशक्ति व्यवस्थापनमा कुनै परिवर्तन भएको छैन । नारायणी उपक्षेत्रीय अस्पताल रहँदाकै सेवा–सुविधा र चिकित्सक यथावत् नै छन ।

नारायणी अस्पतालले छाती, इन्डोक्राइनोलोजी, ग्यास्ट्रोलोजी, सर्जरी, अर्थोस्पाइन सर्जरी, गाइनो, हाडजोर्नी, छाला, फिजिसियन, इमर्जेन्सी, मानसिक रोग, बालरोगसम्बन्धी रोगको उपचार, प्याथोलोजी, एक्सरे , भिडियो एक्सरे, सिटिस्क्यान, डायलायसिस र फार्मेसी सेवासमेत दिँदै आएको छ । तर, टर्सरी अस्पतालबाट प्रदान हुने खालका विशेषज्ञ सेवा दिने पर्याप्त जनशक्ति, भौतिक संरचना र स्रोत अस्पतालसँग छैन ।अस्पतालमा हाल छातीरोग विशेषज्ञ दुईजना, इन्डोक्राइनोलोजिस्ट एकजना, ग्यास्ट्रियोलोजीमा एक, सर्जरीमा आठ, अर्थोस्पाइन सर्जन एक, गाइनो वार्डमा आठजना, हाडजोर्नी विभागमा ६ जना, छालारोग विशेषज्ञ दुईजना, फेमिली फिजिसियन (एमडिजिपी) दुईजना, बालरोग विशेषज्ञ चारजना चिकित्सक कार्यरत छन ।