वीरगञ्जबाट अपहरित गरिएको बालकको हत्या,गोली हानी अपरहणकारीलाई प्रहरीले लियो नियन्त्रणमा

3210

वीरगञ्ज १५ जेठ । गत शुक्रबार वीरगञ्ज वडा नं. ३  छपकैयाबाट बेपत्ता भएका बालकको शव गएराति फेला परेको छ । शुक्रबार बिहान १० बजे घरबाटै स्थानीय शम्भु साहको ८ वर्षीय छोरा करण हराएका थिए ।

करणको शव बाराको कलैया वडा नं. २५ मा गाडिएको अवस्थामा फेला परेको पर्साका प्रहरी प्रमुख एसपी रेवती ढकालले बताए । शव गाडिएको स्थान देखाएर भाग्न खोज्ने दुइजनालाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ । एसपी ढकालका अनुसार भारत घर भएका विकास शर्मा र बारा कलैयाका सिकेन्द्र साह पक्राउ परेका हुन् । उनीहरु दुवै अन्दाजी २५ वर्ष उमेरका छन् ।



एसपी ढकालका अनुसार पक्राउ परेका दुइजना सहितको समूहले बालकको अपरहण गरेको र ३० लाख रुपैयाँ फिरौतीसमेत मागेको खुलेको छ । प्रारम्भिक अनुसन्धानमा ५ लाखमा सहमति भए पनि सो रकम नदिएकाले बालकको हत्या गरिएको एसपी ढकालको भनाइ छ । उनले भने, ‘पक्राउ परेका शर्मा छिमेकमा डेरा लिएर बस्दा रहेछन् । व्यक्तिगत रिसइबीका कारण बालकको अपहरण भएको देखिन्छ । थप अनुसन्धान गरिरहेका छौँ एसपी ढकाले भने ।’