युरोप घुमौं न भनेर गएको तिब्बतीहरूको कार्यक्रम रैछ, झुक्कियौं : सांसद प्रदीप यादव

539
Share

वीरगन्ज २ जेठ । स्वतन्त्र तिब्बत पक्षधरको कार्यक्रममा सहभागी हुन युरोपेली मुलुक लाटभिया पुगेका सांसदहरूले आफूहरू झुक्किएर त्यहाँ पुगेको दाबी गरेका छन्।

वैशाख २४ देखि २७ गतेसम्म लाटभियाको राजधानी रिगामा स्वतन्त्र तिब्बत पक्षधर सांसदहरूको भेलामा नेपालको प्रतिनिधि सभाका दुई सांसदहरू सहभागी भएका थिए। समाजवादी पार्टी नेपालका प्रदीप यादव र राष्ट्रिय जनता पार्टी नेपालका अकवाल मियाँ उक्त कार्यक्रममा सहभागी भएर फर्किएका छन्।

‘मियाँजीको साथीले इन्टरनेसनल पार्लियमेन्टेरियन प्रोग्रामसँग सम्बन्धित कार्यक्रम छ भन्नुभएछ। मलाई मियाँले युरोप जाने प्रस्ताव गर्नुभयो,’ सांसद यादवले भने, ‘युरोप घुमौं न त भनेर गएको तर त्यहाँ पुगेपछिमात्र कार्यक्रमबारे थाहा भयो।’

उनले कार्यक्रमको सुरूआती सत्रमा सहभागी भए पनि आफूहरूले कुनै धारणा नराखेको र स्टेटेमेन्टमा हस्ताक्षर नगरेको बताए।

‘कार्यक्रममा पुगेपछि मात्रै जान नहुने ठाउँमा पुगियो भन्ने थाहा भयो। त्यसपछि त्यहाँबाट हामी निस्कियौं। मैले बिरामी भएको बहाना बनाएँ। उनीहरूले औषधी किन्न मान्छेसँगै पठाउन खोजेका थिए। अकबालजीले मेरो कोठामा छ औषधी भन्नुभयो,’ यादवले भने, ‘नेपालको नीतिविपरित छ भन्ने लागेपछि बहाना बनाएर कार्यक्रमबाट निस्कियौं।’

उनले कार्यक्रममा पुगेपछि ‘गलत ठाउँमा’ पुगेको आभास भएको बताए।

‘चार दिनको कार्यक्रम भए पनि दोस्रो दिन हामी बिहानै ट्याक्सी लिएर त्यो ठाउँबाट स्विट्जरल्याण्ड लाग्यौं,’ यादवले भने, ‘हामीले कसैकोविरूद्ध बोलेका छैनौं। झुक्किएर गएको हो। युरोपमा इन्टरपार्लियमेन्ट प्रोग्राम भनेर झुक्क्याए।’

उनले नेपालको परराष्ट्र नीति र कानुनविपरितका कुनै गतिविधिमा सहभागी नभएको बताए।

उनले कार्यक्रममा स्टेमेन्टमा हस्ताक्षर गराउने र मञ्चमा लैजाने प्रयास भए पनि त्यसलाई इन्कार गरेको दाबी गरे।

‘न हामीले केही हस्ताक्षर गर्‍यौं, न स्टेन्मेन्ट दियौं’, यादवले भने, ‘कार्यक्रमबाट भागेको भनेको चीनको सम्मान हो। देशको परराष्ट्र नीतिको पक्षमा हो।’

उनले जाँदा आयोजकको टिकटमा गए पनि फर्कदाँ आफ्नै टिकटमा आएको बताए।

‘देशका लागि खराब गरेको छैन, परराष्ट्र नीति खिलाफ गएको छैन,’ यादवले भने, ‘नयाँ नयाँ सांसद छौं। झुक्किन्छ नि मान्छे। गल्ती यही हो कि हामी सम्झिएर बुझेर गएका होइनौं।’

लाटभिया गएको विषयमा सभामुख कृष्णबहादुर महराले मंगलबार राजपाका सांसद अकबाल मियाँलाई बोलाएर सोधखोज गरेका थिए। महराले सहभागिताबारे सांसदद्वयलाई प्रष्ट पार्न सुझाएका थिए।

‘उहाँहरूले जानुअघि दलमा जानकारी दिनुभएको थिएन,’ राजपाका प्रमुख सचेतक लक्ष्मणलाल कर्णले भने, ‘सभामुखले प्रश्न उठाउनुभयो, हामीले बोलाएर कुरा गर्‍यौं।’

कर्णले सांसद मियाँले पनि विषयबारे जानकारी नभएरै कार्यक्रमम पुगेको लिखित रूपमा जानकारी दिएको बताए।

‘यो विषय हामीलाई थाहा थिएन भन्ने लिखित स्पष्टिकरण पार्टीलाई दिनुभएको छ,’ कर्णले भने, ‘उहाँले एक चीन नीतिप्रति प्रतिबद्धता छ भनेर लेख्नुभएको छ।’

उनले सांसदहरूले सामान्यतया: दलमा जानकारी गराएरमात्र बाहिर जाने चलन रहेको बताए।

‘कुन एनजिओले लगेको रहेछ,’ कर्णले भने, ‘आधिकारिक कार्यक्रममा जाँदा जानकारी गराउनुपर्ने हो।’

संघीय संसद सचिवालयले भने दुबै सांसदले लाटभिया जान भिसा सिफारिस लिएको जनाएको छ।

‘विदेश जान चाहेपछि माननीयले भिजा प्रोसेसिङका लागि सिफारिस माग्नुहुन्छ, हामी सिफारिस दिन्छौँ,’ सचिवालयको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय शाखाकी उपसचिव रेखा उपाध्यायले भनिन्, ‘विषयवस्तुबारे हामीलाई जानकारी हुन्न। उहाँहरूले दललाई जानकारी गराउनुहुन्छ।’

setopati.com बाट


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here