स्वतन्त्र तिब्बतको कार्यक्रममा सांसद यादव र मियाँ गए पछी चिन रुष्ट, समाजवादी पार्टीलाई टेन्सन

209

वीरगन्ज १ जेठ । प्रतिनिधिसभाका दुई जना सांसद स्वतन्त्र तिब्बत सम्बन्धि एक कार्यक्रममा सहभागी भएपछि नेपाल सरकारलाई तनाव भएको छ । नेपालले अंगिकार गर्दै आएको एक चीन नीतिको विपरित नेपाली सांसद तिब्बत सम्बन्धि कार्यक्रममा सहभागी भएपछि चीनले चासो देखाएको छ।

चिनियाँ चासो पछि सरकारले सांसदहरु सो कार्यक्रममा सहभागी भएको विषयमा आएका समचारप्रति सतर्क रहेको बताएको छ । परराष्ट्र मन्त्रालयले मंगलबार एक प्रेस वक्तव्य जारी गर्दै नेपाली सांसदहरु सो कार्यक्रममा सहभागी भएको विषयमा जानकारी नभएको भन्दै नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको जनाएको छ ।



सरकारले यस प्रकार सरकारको परराष्ट्र नीतिविरुद्ध हुने गतिविधि स्वीकार्य नभएको बताएको छ ।

टिबेटियन जर्नलमा प्रकाशित एक समाचारअनुसार लाभातियाको राजधानी रिगामा गएको हप्ता आयोजित टिबेट एण्ड द इन्टरनेशनल नेटवर्क अफ पारलिमेन्टेरियन्स टिबेटका लागि लाभतियन संसदीय सहयोग समूहले आयोजना गरेको कार्यक्रममा ती सांसदहरु सहभागी भएका हुन् ।

कार्यक्रममा तत्कालीन संघीय समाजवादी फोरम तथा हालको समाजवादी पार्टीका सांसद प्रदिप यादव र राष्ट्रिय जनता पार्टी (राजापा)का सांसद इकवाल मिया सहभागी भएका थिए ।

राजापा सांसद इकवला मियाले सो कार्यक्रममा सहभागी हुनु आफ्नो गल्तती भएको बताएका छन् । राजपा प्रवक्ता केशव झाले भने, ‘उहाँले पार्टीमा यो विषयमा जानकारी दिनु भएको छ, उहाँले गल्ति गरेको बताउनु भएको छ ।

सरकारको नीति बारे थाहा नभएको उहाँको भनाई छ ।’ प्रवक्ता झाले सांसद मियाले बुधबार एक चीन नीतिप्रति प्रतिवद्धा जनाउँदै स्टेटमेन्ट प्रकाशित गर्नेसमेत जानकारी दिए । उनले सांसद मियालाई सो कार्यक्रममा सहभागी गराएर फसाइएको प्रतिक्रिया दिए । यद्यपी उनले कसले फसायो भन्ने विषयमा केही खुलाएनन् ।

उता समाजवादी पार्टीले भने आफ्ना सांसद सो कार्यक्रममा सहभागी भएको विषयमा जानकारी नभएको जनाएको छ । प्रवक्ता रामसाय यादवले भने, ‘उहाँ बाहिर गएको थाहा छ, तर कहाँ जानु भयो थाहा छैन ।’

तिब्बतको विषयलाई लिएर संवेदनशील रहेको उत्तर छिमेकी चीन यसप्रकार नेपाली सांसदहरु सो कार्यक्रममा सहभागी भएपछि रुष्ट भएको बुझिएको छ । नेपाललाई चीनले सँधै तिब्बतलाई केन्द्रमा राखेर हेर्ने गरेको छ । नेपालले चीनलाई आश्वस्त पार्न एक चीन नीतिप्रति प्रतिवद्धता जनाउँदै आएको छ ।

स्मरण रहोस नेपालमा संविधान जारी भएपछि मधेसमा भएको आन्दोलका क्रममा चिनियाँ झण्डा जलाइएको थियो । सो आन्दोलन कर्ताको एक घटक हाल तत्कालीन संघीय समाजवादी फोरमले सो झण्डा जलाएको विषयमा आपत्तिसमेत जनाएको छ । समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव चीन र भारतसँग सन्तुलित रहेको देखाउँदै आएको बेला उनकै दलका एक सांसद सो कार्यक्रममा सहभागी भएका हुन् । उता राजपा भने चीनभन्दा भारतसँग नजिक रहँदै आएको छ ।

तिब्बती धर्म गुरु दलाई लामाको स्वास्थ्यका विषयमा राष्ट्रिय समाचार समितिले समाचार प्रेषण गरेकै आधारमा राससका तीन जना पत्रकारमाथिसमेत सरकारले छानविन गरिरहेको छ ।