×

वीरगन्ज २५ बैशाख । वीरगन्जमा लुटपाटमा संलग्न आफू प्रहरी जवान रहेको भन्दै कबाड खरिद बिक्री गर्ने एकजना भारतीय नागरिकलाई लुटपाट गरिरहेको अवस्थामा स्थानीयले पक्राउ गरी पर्सा प्रहरीको जिम्मा लगाएका हुन् ।

रौतहट गरुडा नगरपालिका–३ घर भई हाल वीरगन्ज–१४ सानो पिपरा बस्दै आएका प्रहरी जवान ज्ञानबहादुर साहले टोल टोलमा कबाडी सामान खरिद गर्दै आएका भारतीय नागरिक २० वर्षीय अरुण कुमार साहलाई परिचय पत्रको फोटोकपी देखाउँदै आफू प्रहरी रहेको बताउँदै रकम लुटपाट गरेको स्थानीयको भनाई छ। प्रहरी जवान साहलाई लुटपाट गरी भाग्दै गरेको अवस्थामा पक्राउ गरेर प्रहरीको जिम्मा लगाएको स्थानीय रमेश मानन्धरले बताए ।

‘भारतीय युवकको खल्तीमा रहेको करिब ७ हजार रुपैया प्रहरी जवान साहले लुटिसकेका थिए । पीडित युवक रुदै चिच्याउन थालेपछि स्थानीयले लखेटेर प्रहरी जवान साहलाई पक्राउ गरिएको हो’, स्थानीयबासी मानन्धरले भने, ‘हामीले पक्राउ गरेपछि आफ्नो परिचयपत्रको फोटोकपी देखाउँदै आफू ट्राफिक प्रहरी कार्यालय पथलैयामा कार्यरत रहेको र आफ्नो दाई पनि प्रहरी अधिकृत रहेको भन्दै उल्टै धाकधम्की देखाउँदै उम्किन खोजेका थिए ।’

स्थानीयले मोटरसाइकलसहित साहलाई पक्राउ गरी प्रहरी कार्यालयमा बुझाएका हुन् । ग ७ प ३४११ नम्बरको मोटसाइकलमा सवार प्रहरी जवान साहले भाग्ने क्रममा स्कुटिमा समेत ठक्कर दिएर क्षति पुर्याइदिएका छन् । पक्राउ परेका साहले यसअघि वीरगन्जको नारायणी रगंशालास्थित २ जनाको युवकको मोबाइल र नगद लुटपाट गरी सकेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका एक प्रहरी जवान अनुसार करिब एक साताअघि रगंशाला नजिकै दुईजना युवक बसिरहेको अवस्थामा साहले आफू प्रहरी रहेको धाकधम्की देखाउँदै अनुसन्धानको नाममा दुईथान मोबाइल र केहि रकम लुटेर फरार भएका थिए । पीडितले उनीविरुद्ध प्रहरीमा खबर समेत गरिसकेका थिए ।

Back to top