×

काठमाडौं, २० बैशाख । केही दिनयता विभिन्न स्थानमा निर्माणाधीन पुलहरु भासिएका खबर सञ्चारमाध्यममा आइरहेका छन् । करीब २ वर्षअघि बर्दियाको बबई पुल भासिएको प्रकरणमा निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनसहित केही कर्मचारी र प्राविधिकमाथि भ्रष्टाचारको मुद्दा विचाराधीन छ । अख्तियारले उनीहरुलाई विशेष अदालतमा उभ्याएको छ । तर, एकै प्रकृतिको यस्ता घटनामा अन्य पुलका ठेकेदार र निर्माणको नियमन गरिरहेका कर्मचारीलाई कस्तो कारवाही होला ? यो अहिले चर्चा र चासोको विषय बनेको छ ।

यसैहप्ता मदन भण्डारी लोकमार्गमा निर्माणाधीन पक्की पुल भत्किएको समाचार विभिन्न सञ्चारमाध्यममा आएका छन् । लोकमार्गको पश्चिमखण्डअन्तर्गत मरिण गाउँपालिका–२ ठुलो गर्दुवा खोलामा निर्माणाधीन पक्की पुलमा बाढी पसेपछि भत्किएको छ । अनक कन्स्ट्रक्सन प्रालिले निर्माण गर्दै गरेको ६० मिटर लामो पुलको बिच भाग धसिएर भाँचिएको उक्त आयोजनाका साइड इन्चार्ज तथा सुपरभाईजर बसन्त पोखरेलले जाकारी दिएका छन् ।

पोखरेलका अनुसार पुलको सल्याप ढलान गरेर वायर स्ट्रेचिङ गर्न एक दिन मात्र बाँकी हुँदा गर्दुवा खोलामा आएको बाढीले पुल भत्काएको हो । करीव १० करोड रुपैयाँको लागतमा निर्माण थालिएको पुल निर्माणको डिजाइनमा त्रुटी र प्राविधिक पक्षको कमजोरीका कारण भत्किएको प्रारम्भिक तथ्यहरुले देखाएको छ ।

त्यस्तै ३ हप्ताअघि गुल्मीको मुसिकोट नगरपालिका वडा नं ७ र वडा नं ३ को झेंदी भन्ने स्थानमा निर्माणाधिन बडिगाड खोलाको पक्कि पुल पनि भाँचिएको छ । सो घटनामा ५ जना घाइते भएका थिए ।

ढलान सुरु गरि अन्तिम अवस्थामा पुगेको वेला पुल एक्कासी विचवाट भाँचिएको हो । ५५ मिटर लामो सो पक्कि पुल ५ करोड लागतमा निर्माणाधिन रहेको थियो । इन्जिनियरिङ त्रुटिकै कारण दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ । जयवुद्ध कन्स्ट्रक्सन प्रालि काठमाडौंले पुलको निर्माण कार्य गरिरहेको थियो ।

गत वर्षको बर्खामा पूर्व–पश्चिम राजमार्गअन्तर्गत पथलैया–निजगढ सडकको दुधौरा पुल पनि भासिएको थियो । ४ वर्ष अगाडि पनि यो पुल भासिएको थियो । पुल भासिएपछि खोलाबाट डाइभर्सन बनाएर यातायातको आवागमनको व्यवस्था मिलाइएको थियो । एकवर्षअघि पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषा र महोत्तरी जोड्ने रातो पुल पनि भासिएको थियो । यो पुल दोस्रो पटक भाएिको थियो ।

विभिन्न स्थानमा इन्जिनियरिङ डिजाइनमा भएको त्रुटी नै पुल भासिनुको कारणको रुपमा देखिएको छ । पप्पुमाथि भएको कारवाहीजस्तै अख्तियारको कारवहीको सुई यस्ता समान प्रकृतिका घटनातिर सोझिएला कि नसोझिएला ? अख्तियारले उल्लिखित पुल निर्माणमा जोडिएका कर्मचारी र निर्माण कम्पनीलाई पनि अनुसन्धान र कारवाहीको दायरामा ल्याउँछ कि उदासीनता साँधेर बस्छ ? यो अहिले आम जिज्ञासाको विषय बनेको छ ।

Back to top