महिला हिंसाको प्रमुख कारक ‘दाइजो’-अम्बिका यादव

43

मेरो नाम अम्बिका कुमारी यादव, जन्मघर सर्लाही जिल्लाको मलंगवा नगरपालिका वडा नम्बर ७ टोल मुसैली भई ससुराली घर रौतहटको राजदेवी नगरपालिका वडा नम्बर १ पथरामा पर्छ ।
म महिला भएर पनि संघर्ष गरी उच्च शिक्षा हासिल गरेकी छु । २०४८ साल आषाढ ११ मा जन्म भएको र २२ वर्षपछि सामाजिक परम्परा अनुसार मागि वैवाहिक सम्बन्धमा २०७२ साल बैशाख २७ गते बाँधिएँ । राम पुकार राय यादवको छोरा पंकज कुमार यादव सित विवाह भई वैवाहिक जीवनको शुभारम्भ गरेँ ।
विवाहपछि जीवन सुखमय बित्ने भनी मनमा आशा गरेका थिएँ । तर सोचे जस्तो भएन । एउटै आमाको कोखबाट जन्मिने छोरा र छोरीको भाग्य विधाताले फरक फरक निर्धारण गरेको हुन्छ । छोरा राम्रो विद्यालयमा अध्ययन गर्न जान्छ भने छोरी सामाजिक परम्परालाई अपनाएर घरको काम काजमै सीमित भइन्छ ।
जन्मदेखि विभेद हिंसाको शिकार हुँदै आएकी महिला माइतीबाट ससुराल जाँदा झन् पीडामा पर्छिन् । आफ्नो मानव अधिकार, स्वतन्त्रता, मौलिक हकÞ हुँदाहुँदै पनि पितृसत्तात्मक सोच मानसिकताले पिरोलिनु परेको महिलाको बाध्यता हो । संविधानले दिएको हकÞ अधिकारको प्रयोग गर्दा ससुराली पक्षका व्यक्तिसित चरित्रहीन भएको संज्ञा पाइन्छ ।
३ वर्ष मेरो विवाहको भयो । १ वर्षसम्म नयाँ बेहुलीको भूमिकामा घरमा थुनेर बस्नु पर्यो भने २ वर्षको अवधि कुटाई खाएर घर बाहिर बस्नु पर्यो । पहिलो सन्तानको रूपमा छोरा पाएँ । छोरा २ वर्षको भयो । दोस्रो गर्भ २ महिनाको हुँदा श्रीमानले सम्बन्ध विच्छेदको मुद्दा हालेर घर बाहिर गरिदिए ।
घरमा सँगै बस्दा गर्भ बोकाउने लोग्नेले सम्बन्ध विच्छेद मुद्दा हाल्यो र ससुरा रामपुकार यादव, सासु जयलस देवी, ननद रविता यादवले मरणासन्न हुने गरी कुटपिट गरे । गर्भपतन गराउन दबाब पनि दिए उनीहरूले पाठेघरमा प्रहार पनि गरे । ४ लाख बैंक मार्फत तथा ३ लाख नगद गरी सात लाख दाइजो लिएर छोरो बिक्री गर्ने ससुराले म माथि अमानवीय व्यवहार गरे ।
घरको १८ घण्टा काम गर्ने महिलालाई उपभोगको बस्तु बुझ्ने र दमन, हिंसा, मारपीट, दासत्व सम्झने परम्पराको अन्त कहिले हुने ? लोग्ने मानिसले जे पनि गरे हुने तर स्वास्नी मानिस जोरले बोल्न नहुने सामाजिक कुरीति कहिलेसम्म ? जन्म दिन आमा बुआले पालन पोषण शिक्षा दीक्षा दिए पनि मनचाहा ढंगबाट दाइजो दिने लिने रिवाज कहिलेसम्म कायम रहने ? यी सामाजिक कुसंस्कारको अंत नभएसम्म महिला सुरक्षित, स्वतन्त्र नहुने मेरो निष्कर्ष रहेको छ ।
रक्सी सेवन गरेर आउने लोग्नेले स्वास्नीलाई पशु जस्तो कुटपिट गर्नु जायज हो ? मजदूर जस्तो सबैको सेवा सुसार गर्ने जिम्मा मात्र बुहारीले पालन गर्ने ? यस्ता विषय अहिलेको अवस्थामा गम्भीर र चुनौतीपूर्ण रहेको छ । सासु कसैको बुहारी भएर बसेको होलिन् उ पनि अरूको घरबाट आएकी छिन्, आफ्नो कोखबाट जन्मेकी छोरी पनि कसैको बुहारी श्रीमती भएर जाने छिन् यो सामाजिक नियम हो तर सासुले बुहारीलाई नौकर भएर आएकी बुझ्नु विडम्वना रहेको छ ।
आफूमाथि भएको अन्याय, अत्याचारका लागि न्यायालय, प्रहरी समक्ष जाँदा पनि कोही सहयोग नगरी पीडकको पक्षमा लागेको देखेर दुःख लाग्यो, महिला भएर किन जन्मिए । पुरूषले सधैं महिलालाई अत्याचार, हिंसा गरे पुग्दो रहेको छ भने हकÞ अधिकारको आवाज उठाउँदा चरित्रहिन, परपुरूषसित अवैध सम्बन्ध राखेको गंभीर आरोप सहन गर्नु पर्छ ।
कानूनले प्रत्येक व्यक्ति जीवन बिताउने स्वतन्त्र अधिकार हुने भनेको छ भने परेको बखत आवाज उठाउँदा कोही नसुन्ने । केहि नभए गरे पनि विभिन्न किसिमका आरोप लगाएर हत्या गरिने महिला नै हुन्छ । रौतहट जिल्ला अदालतबाट किटान गरी चाहिने आधारभूत सामान, स्वास्थ्य उपचार गरिनु पर्छ, बास बस्ने व्यवस्था गर्नुपर्ने आदेश दिँदा पनि कार्यान्वयन गर्न प्रहरी कार्यालय जाँदा प्रहरीले कुनै वास्ता गरेन । खाना पकाउनलाई ससुराबाट ग्यास सिलिन्डर, चुल्हा, भाडा वर्तन माग्दा प्रहरी समक्ष दिन इन्कार गरेका छन् ।
उजुरी शाखामा रहेका प्रहरी नायव निरीक्षक परमानन्द यादवले बिल पेश छैन, अदालतले किटान गरी समान उल्लेख नगरेकोले हामी दिलाउन सक्दैन भनी जवाफ दिए ।
हत्या, बलात्कार, महिला हिंसा, मानसिक, शारीरिक, आर्थिक रूपमा यातना महिलालाई नै दिइन्छ । पीडक राजनीतिक संरक्षणमा खुल्लेयाम घमिरहेका हुन्छन् ।
पीडित, प्रहरी, सामाजिक अगुवा, महिला अधिकारकर्मीको अघि पछि चक्कर लगाइरहेको हुन्छ तर न्याय पाउन सकिदैन । तराईमा दाइजो प्रथाको कारन तथा पीड़क माथि कार्यवाही नहुँदा महिला माथि हुने दमन, हिंसा बढ्दै गएको छ ।
पढेलेखेको महिला भएर पनि न्यायका लागि भौतारिरहेको छु भने निरक्षर महिलाको जीवन कस्तो कस्टकर होला भनी कल्पना गर्न सकिन्छ । नेपाल सरकारले बनाएको कानूनलाई कार्यान्वयन गर्ने निकायले प्रभावकारी ढंगबाट लागू नगरेको कारण दिनहुँ महिलाहरू आक्रमणको शिकार भैरहेका छन् । नेताहरूले दाइजो लिनु हुँदैन भन्दा पनि दाइजो लिने उच्च स्थानमा रहेका छन् ।
छोरालाई बस्तुको जस्तो मोलतोल गरी बिक्री गर्ने केटा पक्षले बुहारीलाई कुटपिट गरी अमानवीय व्यवहार गर्दा कार्यवाही गर्ने कोही हुँदैन । मधेशमा दिनप्रति दिन महिला हिंसाको घटना वृद्धि हुनुमा दाइजो प्रथा कारक हुन् । ममाथि दाइजोको निहुमा गरेको हिंसा दुःखद र निन्दनीय रहेको छ ।
जिल्ला प्रहरी कार्यालयले पीडकलाई कार्यवाही गर्नुको साटो मिलापत्र गर्न दबाब दिनु कानून विपरीत तथा अपराध गर्नेको मनोबल बढाउने कार्य रहेकोले यस्तो कार्यको न्यूनीकरण गरी कार्यवाही तर्फ अग्रसर हुनु पर्दछ । महिला हिंसा दमन सहने होइन पुरूषसरह स्वतन्त्र जीवन बिताउने वातावरण हुनु पर्छ । महिलालाइ आफ्नो मर्यादामा बस्नु पर्छ भन्ने पुरूषलाई पनि नारीको सम्मान दिनुको साथै अधिकारको संरक्षण गर्नु कर्तव्य हो ।
नारी शक्ति हुन, नारी आमा, दीदी, बहिनी, हजूर आमा, श्रीमती पनि हुन् । नारीको जहाँ मान सम्मान हुँदैन भने त्यहाँ ईश्वरको बास र विकास सम्भव छैन । राजदेवी नपा १, रौतहट (मधेश दर्पण फिचर सेवा)