×

प्रदेश नं २ सरकारले ‘प्रादेशिक महत्वका योजना’ सार्वजनिक गरेको छ ।

प्रदेश नं २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले आज जनकपुरमा पत्रकार सम्मेलनमार्फत योजना सार्वजनिक गर्नुभएको हो । सार्वजनिक गरिएका योजनामा प्रदेशका आठ जिल्लालाई जोड्ने गरी प्रादेशिक सडक निर्माण गर्ने योजनालाई मुख्य प्राथमिकतामा राखिएको छ ।

प्रत्येक जिल्लामा २५ देखि ३५ किलोमिटरका दरले प्रदेशभरी करीब २५० किलोमिटर दुई लेनको सडक निर्माण गर्ने योजना अघि सारिएको छ । प्रादेशिक सडकले यस क्षेत्रका जनताको जीवनस्तर उकास्नाका साथै आर्थिक र व्यापारिक उन्नति गर्ने लक्ष्य सरकारले लिएको छ ।

त्यसैगरी दोस्रोे प्राथमिकतामा प्रदेशमा कृषि उत्पादन बढाउन र रोजगार सिर्जना गर्ने उद्देश्यले ‘हरेक खेतमा पानी, हर हातको काम’ योजनालाई राखिएको छ । सो योजनाअन्तर्गत आठ जिल्लामा डिप ट्यूवेल जडान, बाँध, बैरेज र नहरको निर्माण गरी पानीको स्रोतलाई तत्काल व्यवस्थापन गर्ने कार्यक्रम सरकारको छ ।

सरकारको तेस्रो योजनामा जनता आवास कार्यक्रम रहेको छ । प्रदेश सरकारले यस कार्यक्रमअन्तर्गत पहिलो चरणमा डोम, हलखोर, मुसहर र मेस्तर जातका लागि घर निर्माण गर्ने भएको छ । चौथो योजना ५० मेगावाट सौर्य ऊर्जा उत्पादन रहेको छ ।

प्रदेशका गौरवको योजनाका चार योजनालाई अगाडि बढाइने मन्त्री सोनलले बताउनुभयो । प्रादेशिक सडक निर्माणका लागि प्रदेश सरकारले प्रारम्भिक योजना तयार गर्न आठै जिल्लामा मातहतका कार्यालयलाई पत्राचार गर्न निर्देशन दिइसकेको उहाँले जानकारी दिनुभयो । रासस

Back to top