×

वीरगन्ज, ३ असोज, वीरगञ्जमा सञ्चालित सोलिड वेस्ट प्रोजेक्ट (डम्पिङसाइट) परामर्शदता कम्पनीका जिम्मेवार अधिकारीको बदनियतका कारण ८ महीना लम्बिएको छ ।

वीरगञ्जमा एडिबीको लगानीमा निर्माण भइरहेको उक्त योजनामा परामर्शदाताको जिम्मा पाएको एसएमइसी÷बीडीएका प्रमुख नागेन्द्र झाले प्रक्रिया अल्झाएका कारण वीरगञ्जको फोहोर व्यवस्थापनको काममा ढिलाई भएको हो । परामर्शदाताको बदनियतका कारण वीरगञ्जका बासिन्दाले थप ८ महीना फोहोरको समस्यामा बस्नुपर्ने भएको छ ।

योजना समयमै पूरा भएमा वीरगञ्जको फोहोर व्यवस्थापन प्रभावकारी हुने अपेक्षा गरिएको थियो । योजनामा अहिलेसम्मको कुल भौतिक प्रगति ४१ प्रतिशतमात्र छ । योजना निर्माणका लागि चिनियाँ कम्पनी जेडआइइसीले ४७ करोड ६१ लाख रुपैयाँमा वीरगञ्ज महानगरसित सम्झौता गरेको थियो । २०१६ जनवरीमा सम्झौता भएकोमा अप्रिलमा कार्यादेश पाएको थियो । २ वर्षमा काम सक्नुपर्नेमा आउँदो डिसेम्बर १५ सम्मका लागि समय थपिएको छ । परामर्शदताको ढिलासुस्तीका कारण लम्बिएको ८ महीना समय थपिएको निर्माण कम्पनीले बताएको छ ।

१६ विगाह ९ कठ्ठामा निर्माण भइरहेको योजनामा कम्पनीले ७ ओटा भवनको ९८ प्रतिशत, माटो पुर्ने काम १०० प्रतिशत, विद्यत् र खानेपानीको १०० प्रतिशत काम सकिएको बताएको छ । माटो पुरिसकेपछि त्यसमाथि हाल्नुपर्ने एचडीपी जियो मेनब्रेनको स्वीकृतिमा झाले झमेला गरेको बुझिएको छ । मेनब्रेनमाथि पाइप, गिटी, बालुवा र फिल्टरको तह हालेर योजना पूरा गरिन्छ । निर्माण कम्पनीले जियो मेनब्रेन छनौटका लागि परामर्शदताका कर्मचारीलाई २ पटक भारतको गुजरातस्थित अहमदावादमा पु¥याएर उनीहरुकै रोहवरमा त्यहाँको सरकारी प्रयोगशालामा मेनब्रेन परीक्षण गराएको थियो । परीक्षणमा पास भए पनि झाले अनेक बाहाना झिकेर स्वीकृति नदिएका कारण योजनामा विलम्ब भएको बुझिएको छ । यसका वीरगञ्ज महानगरको नेतृत्व र त्यहाँका उच्च पदस्थ कर्मचारीको पनि स्वार्थ गाँसिएको स्रोतले बतायो । झाले अनावश्यकरुपमा प्रक्रिया लम्ब्याएको उजुरी सहरी विकास मन्त्रालयमा परेपछि विभागका महानिर्देशकको नेतृत्वमा स्थलगत जाँचबुझका लागि टोली आएको थियो । सो क्रममा झाको बदनियतका कारण योजनामा ढिलाई भएको देखिएपछि महानिर्देशकले गत भर्दौ १४ गते १० दिनभित्र स्वीकृति दिन निर्देशन दिए पनि झाले अहिलेसम्म टेरपुच्छर लगाएका छैनन् ।

झा निकै विवादास्पद परामर्शदताका रुपमा चिनिएका छन् । उनले यो योजनाको नक्सा ३ पटक परिवर्तन गरिसकेका छन् । जुलाई २०१७, ३१ मार्च २०१८ र २९ अगस्त २०१८ मा डिजाइन परिवर्तन भएको छ । यसबाट उनको दक्षताको ओज भेउ पाउन कठिन छैन । यी तिनै परामर्शदाता हुन्, जसले एडिबीकै लगानीमा वीरगञ्जमा कालिका कन्स्ट्रक्सनले निर्माण गरेको ढल र नालासहितको योजनाको डिजाइन पनि फेरेका थिए । यसले मुख्य बजार आदर्शनगर सामान्य वर्षातमै सिर्सियाको पानी पसेर डुवान हुँदै आएको छ । आफूलाई अब्बल दर्जाको इमानदार बताउने झा विगतमा विद्युत् प्राधिकरणजस्तो कमाउ अड्डाबाट अवकाश भएर यहाँ आएका हुन् ।

झाले विगतमा वीरगञ्जमै एडिबीको योजनाको कामै पूरा नगरी कालिका कन्स्ट्रक्सनलाई कार्य सम्पन्नको प्रमाण दिएका थिए । कालिकाले त्यही कार्यअनुभवका आधारमा दोस्रो चरणको आरयुडिपी योजना साढे २ अर्बमा हात पारेको छ । ंस्मरणीय के छ भने कालिकाको यो दोस्रो योजनाको परामर्शदाताको नेतृत्वसमेत झालाई नै सुम्पिइएको छ ।

ठेकेदारले पाएन भुक्तानी ः बील पेश गरेको चार महीना वितिसक्दा पनि महानगरले चिनियाँ कम्पनी जेडआइइसीलाई साढ ५ करोड रुपैयाँको भुक्तानी दिएको छ्रैन । परामर्शदाता, प्रोजेक्ट मेनेजर र लेखाका कर्मचारीले झुलाएर भुक्तानी रोकिराखेको बताइएको छ । यसअघि ठेकेदारले १५ करोडको भुक्तानी पाएको थियो ।

Back to top