×

वीरगन्ज, २८ भदौ । देशको सबैभन्दा जेठो क्याम्पस ठाकुरराम बहुमुखी क्याम्पसले भर्ना आह्वान गरेको विविए अध्ययनका लागि एकसय ९० जनाले फाराम भरेका छन् ।

प्रदेश नम्बर २ मै पहिलो पटक बिबिए अध्यापनका लागि त्रिभुवन विश्वविद्यालयले बुधबार मात्रै सम्बन्धन स्वीकृत गरेपछि क्याम्पसले बिहिबार बिहान ७ः०० बजेदेखि दिउँसो २ः०० बजे सम्म एकदिनको लागि बिबिए प्रथम सेमेष्टरका लागि भर्ना फाराम भर्न सूचना सार्वजनिक गरेको थियो ।

एकदिनमै एकसय ९० जना विद्यार्थीले विविए अध्ययनका लागि फारम भरेको क्याम्पसका सहायक प्रमुख रोशन लामिछानेले जानकारी दिए । आर्थिक नगरी वीरगन्जमा बिबिए अत्यन्त आवश्यक रहेको भएपनि अहिले सम्म त्रिविले सम्बन्धन नदिँदा यसक्षेत्रका विद्यार्थीहरु लाखौं रुपैंया खर्च गरेर बाहिर पढ्न जानुपर्ने बाध्यता रहेको थियो ।

विद्यार्थीहरुको चाप रहेपनि हाललाई त्रिविले ३२ वटा सिट मात्रै दिएकोले यसलाई अझ बढाउनुपर्ने र त्यसको लागि हरेक क्षेत्रबाट पहल गर्नुपर्ने आवश्यकता रहेको सहायक क्याम्पस प्रमुख लामिछानेले बताए । उनले सबै भौतिक पूर्वाधार तथा आवश्यक जनशक्ति पनि रहेकोले कम्तीमा ६४ वटा सिट दिनका लागि त्रिवि व्यावस्थापन शंकायका डिनलाई आग्रह गरिएको बताए ।

उनले अहिलेका लागि ३२ वटा मात्रै सिट अपुग रहेको बताए । बिहिबार फाराम भरेका विद्यार्थीहरुको प्रवेश परिक्षा ३० गते शनिबार हुने ठाकुराम बहुमुखी क्याम्पसका कर्मचारी मनोहर साहले जानकारी दिए ।

Back to top